२०८३ साउन ११ , सोमबार 27, July 2026, Monday

मृत्युको चौथो प्रमुख कारक बन्दै ‘मस्तिष्कघात’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १४ गते शुक्रबार

मस्तिष्कघात अर्थात् स्ट्रोक विश्वभर अहिले मृत्युको कारकमध्ये चौथो नम्बरमा पर्ने गरेको छ । मस्तिष्कमा घात हुनु नै मस्तिष्कघात हो । सामान्यतः मस्तिष्कमा रगत लैजानुपर्ने नसाले काम नगर्दा पनि स्ट्रोक हुने गर्दछ । रगत नपुग्दा त्यो भाग सुक्ने र काम गर्न छाड्ने उनको भनाइ छ । एक्कासि नसा फुटेर अनियन्त्रित हुनु हेमोरेजिक स्ट्रोक हो । स्ट्रोक नसा र रगतसँग सम्बन्धित स्वास्थ्य समस्या हो ।

वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख, न्युरो सर्जन प्रा.डा.राजीव झाका अनुसार, स्ट्रोक मुटुमा र मस्तिष्क दुवैमा हुन्छ । तर, विशेषगरी ‘स्ट्रोक’ मुटुभन्दा पनि मस्तिष्कको स्वास्थ्य समस्यामा हुने गर्दछ । विश्वमा मान्छेको मृत्यु र प्यारालाइसिसको चौथो कारक स्ट्रोक बन्न थालेको उनले बताए । आगामी केही वर्षमा मृत्यु र अपांगताको मुख्य कारण हुन सक्ने उनको भनाइ छ ।

वीर अस्पतालमा स्ट्रोकको समस्या लिएर दैनिक कम्तीमा १० जना उपचारका लागि पुग्ने गरेका छन् । नसा सुकेर पुगेका बिरामीको उपचार न्यरोलोजी विभागले गर्ने र ब्रेन ह्याम्रेज जस्ता समस्या लिएर पुग्ने बिरामीको उपचार न्यरो सर्जनले गर्ने गरेका छन् । उपचारका लागि पर्याप्त प्रविधि र प्राविधिक जनशक्ति नहुँदा स्ट्रोकका बिरामीले समयमै उपचार पाउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘न्युरो सर्जरी वार्डमा चाँहि हामीले अक्युट स्ट्रोक केयर युनिट भनेर बनाएका छौँ । युनिटमा स्ट्रोकका बिरामीका लागि हुनुपर्ने व्यवस्था हामीले धेरै गरेका छौँ तर अझै पनि राम्रो हुनुपर्छ । धेरै नै गर्न बाँकी छ । वीर अस्पतालमा त अझ स्ट्रोकको उपचारका लागि राम्रो सेटअप भएको छैन भनेदेखि अरु सरकार अस्पतालमा कतै छ जस्तो लाग्दैन ।’

उनले थपे, ‘अक्युट स्ट्रोक केयर युनिट मेन्डेटोरी हो, प्रादेशिक र जिल्ला अस्पतालमा पनि हुनुपर्ने हो । काठमाडौंबाहिरका अस्पतालमा सिटी स्क्यानको सुविधा त पर्याप्त छैन । यही अवस्थामा यो व्यवस्था हामी सहजै कल्पना गर्न सक्दैनौँ ।’ स्ट्रोक भएको तीनदेखि चार घण्टामा उपचार पाए पक्षघात भएको पनि निको हुन सक्ने उनले बताए । भौगालिक, आर्थिक अवस्था र ज्ञानको कमीले स्ट्रोक भएका व्यक्ति समयमै अस्पताल पुग्न नसकेको उनको भनाइ छ ।

पाँच प्रतिशत स्ट्रोकका बिरामी पनि समयमा अस्पताल पुग्न नसकेको तितो अनुभव उनले सुनाए । ९५ प्रतिशत व्यक्ति धेरै दिनपछि मात्र सम्बन्धित अस्पतालमा पुग्ने गरेको उनको भनाइ छ । नेपालमै औँलामा गनेर पाँच–सात वटा अस्पतालमा मात्र स्ट्रोकसम्बन्धी सुविधा पाइने उनले बताए । पैसा भएकाले पनि यसको उपचार सहज नभएकाले समयमै उपचार पाउन नसकेको तितो अनुभव उनले सुनाए ।

उनले भने, ‘घर छेउछाउमा र आफ्नै देशनजिक अस्पताल भएमात्र स्ट्रोक भएका व्यक्तिलाई उपचारमा सहज हुने थियो । तर, यसको उपचार हुने अस्पताल नै कम छ नेपालमा । जुन अअस्पतालमा पुग्यो त्यही अस्पतालमा उपचार सम्भव हुनुपर्छ ।’ स्ट्रोक केयरका लागि उपचार सहज नरहेको पनि उनले सुनाए । स्ट्रोक केयर सम्बन्धी धेरै प्रोटोकल बनाए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोक केयरका लागि प्रयोग हुने अस्पताल वितरण गर्दा सहज भएको उल्लेख गरे । स्ट्रोक सम्बन्धी स्वास्थ्य समस्याका बारेमा धेरै पटक छलफल भए पनि सरकारले खासै पहल नगरेको उनको गुनासो छ । स्ट्रोकपछि समयमै उपचार नभए ८५ प्रतिशत मानिस पहिल्यैको अवस्थामा फर्कन सम्भव नहुने उनले बताए । जीवनशैलीमा सुधार गरे ९० प्रतिशत सम्भावनाबाट बच्न सकिने डा. झाको भनाइ छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार