२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday
सवारी दुर्घटनाको जोखिम

बाँकेमा नयाँ ट्राफिक प्रमुख आएसँगै ‘भौखाल’, ट्राफिक व्यवस्थापन सधैं ‘ज्यूँ का त्यूँ’

बाँकेमा चल्ने करिब ७० प्रतिशतभन्दा बढी अटो रिक्साहरू प्राविधिक रूपमा सञ्चालन योग्य छैनन्, तर तिनै अटो रिक्सा सडकमा हरेक दिन निर्वाध रूपमा दौडिरहेका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक १३ गते बिहीबार
नेपालगन्जको पुष्पलाल चोकमा सोमबार साँझपख ट्राफिक प्रहरीले नै बीच सडकमा रोकिराखेको भे १ त १८५७ नम्बरको टिप्पर ।

रोक्नुपर्ने ठाउँमा ब्रेक लाग्दैन । बजाउनुपर्ने बेला हर्न बज्दैन । बाटो काट्दा साइड लाइट बन्दैनन् । चालकसँग सवारी साधन अनुमति पत्र छैन । सवारी दर्ता कहिँकतै भएका छैनन् । बाटो काट्दा अटो चालकले साइड नहेरेरै सिधै बाटो काट्छन् । जब साँझ छिप्पिँदै जान्छ, लाइट नबालेरै सडकमा दौडिरहेका हुन्छन् । यसरी नै बाँकेका सबैजसो सडकमा निर्वाध गुडिरहेका छन्, ‘तीन पाङ्ग्रे अटो रिक्सा’ ।

कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् । बाँकेका गुड्ने धेरैजसो तीन पाङ्ग्रे अटो रिक्साको अवस्था हेर्दा डरलाग्दो छ । कुनैमा ब्रेकले ठीकसँग काम गर्दैन, कतिपयमा अटो रिक्सामा साइड लाइटै छैन । कतिपयको हर्न बिग्रिएर बजाउनुपर्ने बेला बज्दैन । कामै नलाग्ने अवस्थामा पुगेका धेरैजसो अटो रिक्साले यात्रु मात्रै होइन, सडकमा हिँड्ने पैदल यात्रु र अन्य सवारी साधनका चालकलाई पनि जोखिममा पारिरहेका छन् ।

कार्यालय जान हतारमा रहेका कर्मचारीदेखि बजार पसलतिर लागेका व्यापारीसम्म, सबैका लागि यो सस्तो र सजिलो यातायात माध्यम बनेको छ ‘तीन पाङ्ग्रे अटो रिक्सा’ । तर, यही सुलभ सवारीसाधन ‘तीन पाङ्ग्रे अटो रिक्सा’ अहिले बाँके जिल्लाकै ठूलो समस्या बन्न थालेको छ । बाँकेमा चल्ने करिब ७० प्रतिशतभन्दा बढी अटो रिक्साहरू प्राविधिक रूपमा सञ्चालन योग्य छैनन्, तर तिनै अटो रिक्सा सडकमा हरेक दिन निर्वाध रूपमा दौडिरहेका छन् ।

नेपालगन्जको मुख्य चोकहरु त्रिभुवन चोकदेखि विपी चोक, धम्बोझी–सेतुविक चोक, धम्बोझी–पुष्पलाल चोक, घरबारी टोल, सदरलाइन, न्यूरोड लगायतका क्षेत्रमा दिनहुँ सयौँ अटो दौडिन्छन् । तीमध्ये धेरैको अवस्था हेर्दा डर लाग्छ । स्थानीयबासी राजु परियार भन्छन्, ‘अटो चालकले साइड हेर्दैन, सिधै बाटो काट्छ । बेलुकीतिर लाइट नबालेरै चलेका हुन्छन् । कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् ।’

यो अवस्था नेपालगन्जमा मात्रै होइन जिल्लाका धेरै स्थानमा सामान्य बनेको छ । अझ आश्चर्यको कुरा, ‘अनियमितताको नियमन गर्ने कुनै निकाय जिम्मेवारीपूर्वक सक्रिय देखिँदैन ।’ नेपालगन्ज उपमहानगरपालिका मौन छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि नदेखेझैं गर्छ । सवारी साधनका यान्त्रिक पक्ष जाँच गर्नुपर्ने प्रावधान भए पनि त्यसको कार्यान्वयन कमजोर छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा नयाँ प्रमुख आएसँगै अनेकन ‘भौखाल’ सुरु हुन्छन् ।

तर, जिल्लाको ट्राफिक व्यवस्थापन भने सधैं ‘ज्यूँ का त्यूँ’ रहन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखका रुपमा प्रहरी निरीक्षक कनकबहादुर शाही आएसँगै बाँकेमा मोडिफाई सवारीसाधनमाथि कारबाहीमा उत्रिएका छन् । कानुनतः सवारीसाधन मोडिफाई गर्न पाइँदैन । त्यसैले पनि मोडिफाई गरिएका सवारी साधन कारबाही गर्नु सकारात्मक पक्ष हो । यद्यपी यो भन्दा ठूलो टाउको दुखाइको विषय जिल्लाको ट्राफिक व्यवस्थापन नै हो ।

तर, प्रहरी निरीक्षक शाही भने ‘झिनामसिना’ विषयमा अल्झिएर ठूला विषयमा अनविज्ञ जस्तै देखिन्छन् । स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकलभन्दा ठूलो चुनौतिको विषयमा ट्राफिक व्यवस्थापन नै हो । अझ त्यसमा पनि ‘तीन पाङ्ग्रे अटो रिक्सा’लाई व्यवस्थापन गर्ने विषय महत्वपूर्ण देखिन्छ । तर, प्रहरी प्रमूख शाही भने जिल्लाको ट्राफिक व्यवस्थापनमा भन्दा ‘झिनामसिना’ विषयतिरै अल्झिएका छन् ।

अझ उनले केही ईभी गाडीहरूलाई समातेर ‘भौखाल’ देखाउन सुरु गरेका छन् । कानुनीरुपमै बसहर र छलफलको विषयका रुपमा रहेको ईभी गाडी (विद्युतीय गाडी) सञ्चालन मापदण्ड नहुँदा जसोतसो व्यवसायीहरुले इभी गाडी सञ्चालन गरिरहेका छन् । तर, प्रहरी प्रमूख शाहीले धमाधम इभी गाडीलाई कारबाही गर्दै व्यवसायीको मनोवल कमजोर पार्दै व्यवसाय नै धरासायी बनाउने खेलमा लागेको व्यवसायीहरुको गुनासो छ ।

अटो रिक्सा सञ्चालनका लागि स्थानीय सरकारलाई स्पष्ट अधिकार भएकाले स्थानीय सरकार पनि यस विषयमा स्थानीय सरकार नै गम्भीर भएर लाग्नुपर्ने बताए । उनले ट्राफिक व्यवस्थापनका लागि योजना बनाइरहेको बताए पनि नेपालगन्जमा दैनिक सयौँ अटो रिक्साले यात्रु ओसार्छन्, तर तिनको नियमित प्राविधिक परीक्षण गर्ने व्यवस्था छैन । न त चालकहरूको तालिम व्यवस्थित रूपमा लिइन्छ, न त अटोको मर्मत सम्भारमा कसैको चासो देखिन्छ ।

नेपालगन्ज–कोहलपुर सडक खण्डस्थित मनिकापुरमा दुर्घटनामा परेको हिमालय विद्या निकेतनको भे १ क १६३१ नम्बरको स्कुल बस ।

साना दुर्घटना दैनिकजसो भइरहेका छन् । कहिले ट्याक्सीमा ठोक्किने, कहिले साइकल वा मोटरसाइकल च्यापिने, कहिले पैदल यात्रु घाइते हुने क्रम निरन्तर चलिरहेको छ । अटो चालकहरू पनि आफ्नो पक्षमा कारण देखाउँछन् । यात्रु पर्खिरहेका चालक हरी जैसी भन्छन्, ‘अटो पुरानो भइसकेको छ । मर्मत गर्ने पैसा छैन । ग्राहक नचढे पेट कसरी पाल्ने ?’ आर्थिक समस्याले गर्दा धेरै चालकले अटोको मर्मतमा ध्यान दिन सकिएको छैन ।

ट्राफिक प्रहरी पोष्टका केही इन्चार्जहरुको ‘फाइफूर्ति’ पनि गज्जबकै छ । उनीहरु ट्राफिक व्यवस्थापनमा भन्दा असुली धन्दामा बढीजसो सक्रिय रहेको गुनासो जनस्तरमा बढेको देखिन्छ ।

फलस्वरूप, सडकमा जोखिमपूर्ण अटो बढ्दै गएको छ । सहरका नागरिकले दैनिक जोखिम मोलिरहेका छन् । सडकको पेटीमा हिँड्दा पनि हर्न नहुने अटो अचानक घिस्रिँदै आउँछ, राति बिना लाइट अटोले बाटो काट्छ, अनि दुर्घटनाको बीउ रोपिन्छ । बाँकेका प्रमूख तीन शहर नेपालगन्ज, कोहलपुर र खजुरा बजार क्षेत्रमा अहिले अटोको संख्यामा पनि नियन्त्रण छैन । जसले गर्दा ट्राफिक जाम, प्रदूषण र दुर्घटनाको जोखिम तीनै बढेको छ ।

ट्राफिक प्रहरीको भनाइ अनुसार, अबको चरणमा अटोको प्राविधिक परीक्षण अनिवार्य गरिनेछ । तर प्रश्न उस्तै छ, कति प्रभावकारी रूपमा त्यो कार्यान्वयन हुन्छ ? अटो चालकलाई सचेत बनाउने, तालिम दिने, र अटो मर्मतका लागि प्रोत्साहन दिने दीर्घकालीन योजना नआएसम्म समस्या जस्ताको तस्तै रहने देखिन्छ । बाँकेका शहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा अटो रिक्सा आज जीविकाको साधन बनेको छ, तर त्यही साधन अहिले जीवनका लागि जोखिम पनि ।

सस्तो र सहज सवारीको नाममा नागरिकले आफ्नो सुरक्षा गुमाइरहेका छन् । योजना, नियम र नियमनका बीच सडकमा ती अयोग्य अटोहरू अझै दौडिरहेका छन्, यात्रुका साथ, जोखिमका साथ । बाँकेका सडकहरु ट्राफिक व्यवस्थापनका लागि सधैंजसो खुला चुनौती बन्दै आएका छन् । सडकमा हरेक दिन अनगिन्ती अटो रिक्साहरू दौडिन्छन्, जसको झन्डै ७० प्रतिशत प्राविधिक रूपमा अयोग्य छन् । यहाँ करिब पाँच हजारभन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् ।

कुनैमा ब्रेक काम गर्दैन, कुनैमा साइड लाइट छैन, कतिपयको हर्न बिग्रिएको छ । यी सबै जोखिमपूर्ण सवारी साधनहरू सडकमा निर्वाधरूपमा गुडिरहेका छन् । यो स्थितिमा ट्राफिक प्रहरीका लागि ठूलो चुनौतीका रुपमा रहे पनि जिल्लाका सडक व्यवस्थापनको अवस्था कमजोर मात्र होइन, लगभग अराजक नै देखिन्छ । अनुगमनको कमी, स्थानीय निकायको निष्क्रियता र अस्तव्यस्त ट्राफिक व्यवस्थापनले समस्या दिनदिनै जटिल बन्दै गएको छ ।

प्रहरी निरीक्षक शाहीले आफू सरुवा भएर आउँदा सामना गर्नुपर्ने प्रमुख चुनौती भनेको यही अव्यवस्थित अटो प्रणाली हो । तर उनी यो विषयमा गम्भीर नदेखिएको जस्तो देखिन्छ । प्रमुख चुनौतीलाई बेवास्ता गर्दै उनी ‘झिनामसिना’ विषयमा अल्झिन थालेका छन् । ट्राफिक प्रहरीको भूमिका सामान्यतः नियमन र कारबाहीमा केन्द्रित छ । तर बाँकेको अवस्था त्योभन्दा गहिरो छ । यहाँको समस्या कारबाहीले मात्रै समाधान नहुने ट्राफिक प्रहरी स्वयंलाई थाहा छ ।

शाहीले नेतृत्व सम्हालेसँगै बाँकेमा सडक दुर्घटनाका सानाठूला घटना दैनिकजसो भइरहेका छन् । अनियमित अटो सञ्चालन, ट्राफिक नियमको अवज्ञा र अत्यधिक सवारी घनत्वका कारण दुर्घटनाको जोखिम बढिरहेको छ । अझ जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका कर्मचारीहरु नै ट्राफिक व्यवस्थापनमा सक्रिय नहुँदा समस्या झन् बल्झिरहेको छ । सवारी चेकजाँचका नाममा बीच सडकमै सवारीसाधन रोक्नु मातहतका कर्मचारीका लागि सामान्य विषय हो ।

यता ट्राफिक प्रहरी पोष्टका केही इन्चार्जहरुको ‘फाइफूर्ति’ पनि गज्जबकै छ । उनीलाई लाग्छ, ‘बाँकेमा सवारी दुर्घटना न्यूनीकरणदेखि ट्राफिक संरचना निर्माणमा मैले आकाशै खसालेको छु । मानौं अहिलेसम्म नेपालगन्जमा ट्राफिक प्रहरी नै थिएन अथवा ट्राफिक प्रहरीले केही पनि गरेको थिएन । सारा काम मैले मात्रै गरेको छु ।’ केही पोष्ट इन्चार्जहरु ट्राफिक व्यवस्थापनमा भन्दा असुली धन्दामा बढीजसो सक्रिय रहेको गुनासो जनस्तरमा बढेको देखिन्छ ।

बसपार्कका एक जना व्यवसायीले भने, ‘ट्राफिक प्रहरीको ध्यान ट्राफिक व्यवस्थापनमा भन्दा कमाउनेतिर धेरै छ ।’ भब्बर र ओभरलोडको कारण देखाउँदै गाडीबाट रकम असुली गर्न सक्रिय छन् । मनग्य आम्दानी हुने भएपछि इन्चार्जदेखि जवानसम्म आफू कार्यरत पोष्ट छोड्न चाहँदैनन् । धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेका बताउने सवारी चालकहरु जरिवाना काट्नुभन्दा दुई–चार सय दिएर ट्राफिकको झन्झटमा मुक्त हुन खोज्छन् ।

‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं, पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त भइन्छ ।’ ट्राफिक प्रहरीले दिने झन्झटका विषयमा गुनासाहरु भने खुलेर गर्छन् । प्रहरीले विभिन्न कारण देखाउँदै फाइन (जरिवाना)का नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार