हामीमध्ये कतिपय हरर मुभी हेर्न डराउँछौँ । डराइ डराइ हेर्नेहरू पनि रातको समयमा वा एक्लो हुँदा सोही फिल्मका दृश्य सम्झेर लुगलुग काम्छन् वा रातको समयमा घरबाहिर निस्किनै डराउँछन् । चीनको गुआनक्सी प्रान्तस्थित हाङ्झाउको एक विद्यालयमा दुई वर्षअघि घटेको एउटा असामान्य घटनाले अहिले मात्र कानुनी निष्कर्ष पाएको छ ।
सन् २०२३ को अक्टोबरमा शिक्षक बिदामा रहेको कारण विद्यालयले विद्यार्थीहरूलाई फिल्म देखाएको थियो । यसका लागि विद्यालय र अभिभावक दुवैले प्रारम्भिक स्वीकृति दिएका थिए । तर ती विद्यार्थीमध्ये एक किशोरीको परिवारका अनुसार विद्यालयले देखाएको फिल्म हरर फिल्म थियो । यो फिल्म हेरेपछि बालिकाको मानसिक अवस्थामा गम्भीर असर परेको अभिभावकको भनाइ छ । फिल्म हेरेको रातमै ती बालिकामा असामान्य लक्षण देखिन थाल्यो ।
जतिबेला पनि डराउने भइन्, के के बर्बराउन थालिन् । छोरीको अवस्था देखेर अभिभावकहरूले तत्काल अस्पताल लगे । उपचारका क्रममा चिकित्सकहरूले ती बालिका एक खालको मानसिक विकार (एक्यूट एन्ड ट्रान्सियन्ट साइकोटिक डिसअर्डर)ले ग्रस्त भएको बताए । त्यसपछि पीडितका अभिभावकले विद्यालयविरुद्ध मुद्दा दायर गर्दै ३० हजार युआन क्षतिपूर्ति मागे । हरर फिल्म हेर्नु नै छोरीको मानसिक रोगको मुख्य कारण भएको र विद्यालयले शैक्षिक निगरानी एवम् सावधानीको दायित्व पूरा गर्न असफल भएको उनीहरूको तर्क थियो ।
अस्पतालका रेकर्ड अनुसार बालिका र उनका परिवारका अन्य सदस्यहरूमा कुनै मानसिक रोगको इतिहास थिएन । विद्यार्थीको समस्या उसको शारीरिक वा मानसिक संवेदनशीलताका कारण हुन सक्ने भन्दै विद्यालयले बालिकाको अवस्था पूर्ण जिम्मेवारी निल अस्वीकार गर्यो । बालिकाको त्यस्तो अवस्थामा विद्यालय केवल १० प्रतिशत जिम्मेवार रहेको विद्यालयका कानुनी प्रतिनिधिले अदालतमा भनेका थिए ।
यो मामिला भाइरल भएपछि चिनियाँ सामाजिक सञ्जालमा यसबारे व्यापक बहस भयो । कतिपयले विद्यालयले बालमैत्री फिल्म देखाउनुपर्ने बताए भने केहीले यो विकार अस्थायी भएकाले विद्यालयलाई दोष दिन मिल्दैन भनेर तर्क गरे । अन्ततः अदालतले विद्यालयलाई ३० प्रतिशत जिम्मेवार ठहर गर्दै उक्त संस्थालाई बीमाको माध्यमबाट नौं हजार १८२ युआन क्षतिपूर्ति तिर्न आदेश दियो ।
एक्यूट एन्ड ट्रान्सियन्ट साइकोटिक डिसअर्डरजस्ता मानसिक समस्या परिवारमा पहिले कहिल्यै मानसिक रोग भएको इतिहास नभएकालाई पनि हुन्छ भनेर विशेषज्ञहरू भन्छन् । अत्यधिक डर, तनाव वा आघातले यस्तो विकार देखिने बताइन्छ । यस्तो रोगको उपचारमा प्रायः एन्टिसाइकोटिक औषधि, रिल्याक्सेसन थेरापी र मनोचिकित्सा प्रयोग गरिन्छ । अधिकांश बिरामीको रोग निको हुने भएपनि समस्या फेरि नदोहरियोस् भनेर दीर्घकालीन मनोवैज्ञानिक निगरानी अत्यावश्यक मानिन्छ ।