२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday
प्रहरी संरक्षणमा यौनधन्दा

नेपालगन्जका ‘यौन अखडा’मा प्रहरीको छापा, ४५ जना यौनकर्मी समातिए

बसपार्क क्षेत्रमा प्रहरीको सेटिङ्गमा यौनधन्दा मौलाइरहेको गुनासो बढिरहेकै बेला जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेर यौनकर्मीहरु पक्राउ गरेपछि मातहतका पोष्टमा खटिएका प्रहरीहरु ‘इन्तु न चिन्तु’ बनेका छन् ।
सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ असोज २५ गते शनिबार

नेपालगन्जमा होटल, खाजाघर र रेस्टुरेन्टको आवरणमा यौनधन्दा चलिरहेका छन् । अझ कलिला (भर्खर १४–१५ बर्षका) युवतीहरु यौनधन्दामा सक्रिय देखिन्छन् । ती खाजाघर र रेस्टुरेन्टले स्मार्ट र यौन तृष्ण मेटाउन सक्ने खालका युवायुवतीलाई छानेर देह व्यापार गराइरहेका छन् । यौन तृष्णा मेटाउने यौन अखडाहरु बाँके जिल्लाभित्र छ्याप्छ्याप्ती छन् ।

बाँकेमा यौन व्यापार भित्रभित्रै तीव्ररुपमा मौलाएको छ । देह व्यापारमा उच्च ओहदाका व्यक्तिहरु समेत सक्रिय छन् । यस्तो धन्दामा पुरुषमात्रै नभई उच्च घरानाका महिलाहरु पनि सामेल भइरहेका छन् । युवायुवतीहरु संगतका कारण होटल, खाजाघर तथा रेस्टुरेन्ट सञ्चालक, दलाल वा यौनकर्मी आदिको माध्यमबाट यो पेसामा तानिने गरेका छन् ।

सञ्चालकले नै यस्तो पेशामा लगाउने गरेका छन् । मिहेनत नै नगरी छिट्टै पैसा कमाइने र आफ्नो आवश्यकता पनि टार्न सकिने भएकाले कलिला युवती यौनकर्ममा सक्रिय छन् । शुक्रबार नेपालगन्जका केही होटल, खाजाघर तथा रेस्टुरेन्टबाट तीन दर्जन बढी युवायुवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

बसपार्क क्षेत्रका केही होटल, खाजाघर तथा रेस्टुरेन्टहरुमा विगतदेखि नै प्रहरीको संरक्षणमा यौन व्यापार तीव्ररुपमा मौलाएको थियो । होटल, रेष्टुरेन्ट र होटेलको नाममा यौनधन्दा सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शुक्रबार दिउँसोदेखि साँझसम्म होटल र रेष्टुरेन्ट सञ्चालकसहित ४५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा ३१ जना महिला र १४ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेको नेपालगन्ज–१० स्थित वडा कार्यालय अगाडि रहेको रिभर साइड कटेज, कारकाँदोस्थित मिलन कटेज, नेपालगन्जकै भेरी कर्णाली होटेल र दंगाली होटेलमा छापा मार्दै ४५ जनालाई आपत्तिजनक अवस्थामा फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालगन्जका होटलमा वेश्यावृत्ति भइरहेको भन्ने सर्वसाधारणको सूचनालाई पछ्याउँदै पुगेको प्रहरीले ती स्थानहरुबाट अवैध यौन क्रियाकलापमा संलग्न युवायुवतीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शुक्रबार पक्राउ परेका कतिपय यसअघि पनि पक्राउ परेको बताइएको छ ।

त्यस्ता अवैध कार्य हुने स्थानहरुमा प्रहरीको संरक्षण रहेको स्थानीयहरु बताउँछन् । युवती सम्पर्कमा आउने बित्तिकै ‘नयाँ चरी’ आएकी छे, अस्तीको भन्दा नि राम्री, च्वाँक छे भन्दै खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले बार्गेनिङ गर्ने गरेका छन् । पछिल्लो चरणमा खाजाघर तथा रेष्टुरेन्टहरु यौनधन्दाका केन्द्र बन्ने गरेका छन् ।

बाँकेको नेपालगन्जको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र खाजाघरहरुमा प्रहरीको मिलेमतोमै यौन व्यवसाय मौलाएको बसपार्क क्षेत्रका स्थानीयहरु बताउँछन् । खाजाको सट्टा यौन व्यवसाय हुने यस्तो क्षेत्रमा अस्थायी प्रहरी पोष्ट बसपार्कको संरक्षणमा यौन व्यवसाय घट्नुको सट्टा झन् मौलाउँदै गइरहेको नेपालगन्ज–४ का दीपक हमाल बताउँछन् ।

अझ पछिल्लो समयमा यौनधन्दाको नयाँ ट्रेण्ड चलिरहेको छ । खाजा पसलका नाममा दर्ता नगरेका पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरिएको छ । दर्ता नगरेर खाजा पसलका नाममा सञ्चालन गरिएका होटल, खाजाघर तथा रेष्टुरेन्टमा यौन क्रियाकलाप मौलाउँदै गएको छ ।

‘ए दाई जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने यौनकर्मीहरुका कारण सर्वसाधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू आइरहन्छन्,’ नाम नबताउने शर्तमा नेपालगन्जका एक जना किराना व्यवसायीले भने । बाँकेमा मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर रहेको स्थानीय बताउँछन् ।

देह ब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा १५ सयदेखि २० हजारसम्म लिने गरेका छन् । अस्थायी प्रहरी पोष्टबाट खटाएका प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको स्रोत बताउँछ । अस्थायी प्रहरी पोष्ट बसपार्कमा लेखा समूहका ‘पहुँचवाला’ सई विष्णु शाही इन्चार्ज छन् ।

‘भिआइपी पाहुना आउँदा कलेज पढ्ने केटी बोलाइदिन्छु । उनीहरुको रेट पनि महंगो छ । एक रातको कम्तीमा १० हजार लिन्छन्,’ एक होटल सञ्चालकले भने, ‘अन्यत्रै जिल्लाबाट कलेज पढ्न कोहलपुरमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआइपी पाएपछि डिल गरेर जान्छन् । उनीहरु प्रतिदिन १० देखि ५० हजार रुपैयाँसम्म लिन्छन् ।’

श्रीमान् विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउँदै १ देखि २ हजारसम्म लिन्छन् । केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गराउने गरिएको छ ।

बसपार्क क्षेत्रमा बसपार्क प्रहरी पोष्टका इन्चार्जकै संरक्षणमा यस्ता गैरकानुनी गतिविधि हुँदै आएको आरोप स्थानीयहरुको छ । ती क्षेत्रका केही होटल तथा रेष्टुरेन्टहरुमा प्रहरी संरक्षणमै यौन अखडा चल्दै आएका छन् । प्रहरीले ती होटल तथा रेष्टुरेन्टबाट महिनामा ५ हजारदेखि २० हजार रूपैयाँसम्म बुझ्ने गरेको नेपालगन्जकै एक रेष्टुरेन्टका सञ्चालक बताउँछन् ।

ती सञ्चालकले यौन अखडा सञ्चालन गरेवापत प्रहरीलाई मासिक केही रकम बुझाउने गरेको बताए । उनका अनुसार यस्ता अखडाहरूबाट रकम बुझ्न सादा पोसाकमा प्रहरी पुग्ने गर्छन् । अझ बाँकेमा कोठा भाडामा लिएरै यौन व्यवसाय हुने गरेको जनाइएको छ । स्थानीयहरुका अनुसार यसअघि प्रहरी प्रहरीमा गुनासो गर्दा छापा मार्ने र कारर्बाही हुने अवस्था थिएन ।

नेपालगन्जमा करिब २५० को संख्यामा यौनकर्मी रहेको र तीमध्ये १४ देखि २५ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरु रहेको अनुमान छ । बसपार्क क्षेत्रमा प्रहरीको सेटिङ्गमा यौनधन्दा मौलाइरहेको गुनासो बढिरहेकै बेला जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेर यौनकर्मीहरु पक्राउ गरेपछि मातहतका पोष्टमा खटिएका प्रहरीहरु ‘इन्तु न चिन्तु’ बनेका छन् ।

बसपार्क क्षेत्रमा प्रहरी मुकदर्शक भएकै कारण यस क्षेत्रमा खुलेआम धन्दा चलिरहेको अवस्था थियो । अझ अस्थायी प्रहरी पोष्टको इन्चार्जका रुपमा सई विष्णु शाही आएदेखि झन् विकृति बढेको स्थानीयहरु बताउँछन् । त्यसो त बर्दिया जिल्लामा दरबन्दी भए पनि उनी बाँकेका चौकीहरूमध्ये सबैभन्दा राम्रो ठाउँमा बस्न सफल भइरहेका छन् ।

एआइजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमूख हुँदा सई विष्णु शाहीलाई बर्दिया जिल्ला दरबन्दीमा पठाए पनि कार्की बढुवा भएर काठमाडौं फर्किएसँगै उनी फेरि बाँके फर्किएसँगै अतिरिक्त कमाई हुने पोष्टहरुमा हावी हुने गरेको प्रहरी स्रोत बताउँछ । सई विष्णु शाहीविरुद्ध धेरै उजुरी र गुनासो प्रहरी मुख्यालयमा परेको बताइएको छ ।

उनलाई बाँकेका मालदार प्रहरी पोष्टमा पठाउन पूर्व सांसद किशोरसिंह राठौर र बाँके प्रहरीमा रातो क्यापको नामले चिनिने एक बिचौलिया प्रयोग गरेका थिए । अस्थायी प्रहरी पोष्ट बसपार्कमा पनि उनै राठौर र रातो क्यापले पठाएको बुझिएको छ । बाँकेमा नयाँ प्रहरी प्रमूखका रुपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी आएसँगै एक्सनमा उत्रिन थालेका छन् ।

जिल्ला प्रहरीको टोलीले एकपछि अर्को छापा मार्दै बसपार्क क्षेत्रबाट ठूला काण्डहरु बाहिर आउन थालेपछि सई विष्णु शाही रक्षात्मक अवस्थामा पुगेका छन् । यस क्षेत्रमा हुने अवैध कार्यलाई प्रोत्साहन गरिरहेका शाहीलाई एसपी जिसी आएसँगै दरबन्दी फिर्ता फर्काउँछन् या एसपीलाई रिझाएर फेरि बाँके जिल्लाकै मालदार र आकर्षक पोष्टहरुमा घुमिरहन्छन् त्यो हेर्ने बाँकी नै छ ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार