२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday
प्रतिकूल मौसम

सकसपूर्ण दशैंयात्रा, हवाई यात्रुलाई पनि सास्ती

हरेक वर्ष दशैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दशैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको थियो ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २४ गते शुक्रबार

सामान्य अवस्थामै पनि हरेक वर्ष दशैंको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दशैं सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दशैंको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ ।

बसकोे टिकट पाउन पनि मुस्किल पर्छ । सधैँजसो दशैंको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो । दशैंको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो ।

असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो । वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दशैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दशैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए ।

उनले भने, ‘दशैंमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो । यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो । गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो । सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो ।’ दशैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी र सुरक्षित यातायातका रूपमा हवाई सेवालाई लिइन्छ ।

बर्सेनि दशैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैं आउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । उसै पनि दशैंमा चाप हुने गरेको हवाई उडान वर्षातपछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो । यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन् । समस्यामा परेका यात्रु दुई–चार दिनसम्म टिकटका लागि भौतारिनुपर्यो ।

हवाईसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो । यात्रुलाई मागबमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे । यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए । राति २ देखि ३ बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो ।

दस दिनमा एक लाख ३४ हजारले गरे हवाई यात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कानुसार १० दिनमा करिब डेढ लाखले हवाईयात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल एक लाख ३४ हजार ५१५ यात्रुले हवाईयात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौँ भित्रिएका छन् । उक्त अवधिमा एक हजार २८५ उडान र एक हजार २६३ अवतरण गरी कुल दुई हजार ५४८ उडान भएका छन् ।

एकै दिन १९ हजार २५५ हवाईयात्रु

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिकतर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये नौ हजार ९३६ हवाई यात्रु काठमाडौँ भित्रिए भने नौ हजार १३८ बाहिरिएका छन् । १८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन् । उक्त दिन आन्तरिकतर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए ।

आकडाअनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाईयात्रा गरेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाईयात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए ।

यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ । दशैंको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । ‘दशैंको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको तीनचार दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो,’ उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।’

बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दशैंको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए ।

उनले भने, ‘दशैंमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दशैं अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दशैंमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाईयात्रा सकसपूर्ण रह्यो ।’ क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए । यतीले अहिले दैनिक दुइतर्फी ६० देखि ७० उडान गरिरहेको छ ।

यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउँछन् । उनले केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको र टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको बताए । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर अनुसार काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा रु १७ हजार ५७९ र सबैभन्दा नजिक काठमाडौँ–सिमरामा रु तीन हजार ९७८ रहेको छ ।

अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा हवाईयात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौँ आउने बोलेरो जिपले साबिकमा रु दुई हजार भाडा लिने गरेकामा दशैंमा रु तीन हजारदेखि चार हजारसम्म भाडा लिएको पाइयो ।

त्यसैगरी, कटारी–काठमाडौँ साविकमा रु एक हजार २०० भाडा थियो । अहिले यात्रुले रु तीन हजारसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् । हरेक वर्ष दशैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दशैंमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाईयात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाईयात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाईयात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार