२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday
नेपालगन्ज ‘जुवा अखडा’

बाँकेमा समातिए ‘हाइप्रोफाइल जुवाडे,’ पोष्टको ‘सेटिङ्ग’मा जिल्लाको छापा

मातहतका पोष्टको ‘सेटिङ्ग’मै चलिरहेको जुवा अखडामा जिल्लाको टोलीले एकाएक छापा मारेपछि मातहतका पोष्टमा कार्यरत इन्चार्जहरु ‘इन्तु न चिन्तु’को अवस्थामा छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज २३ गते बिहीबार

प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो । सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ?

गलत काम गर्नेहरुका लागि यस्तो कार्य जायज लाग्न सक्ला । सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भने यो कुरा पाच्य हुँदैन तर, बाँकेमा प्रहरी आफैं संरक्षक बन्दै ‘जुवा अखडा’को संरक्षण गर्ने गरेको रहस्य खुलेको छ । नेपालगन्जमा बुधबार राती एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ परेपछि ‘जुवा अखडा’मा प्रहरीको संरक्षण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा इन्स्पेक्टर यमबहादुर बुढा मगरको कमाण्डमा गएको टोलीले गएराति ११ बजे नेपालगन्ज–४, बाइपास रोडमा रहेको मौरी रेष्टुरेन्टको ‘जुवा अखडा’बाट नेपाल प्रहरीकै एक वरिष्ठ सईसहित १४ जना हाइप्रोफाइल जुवाडेहरु पक्राउ परेपछि अहिले बाँके प्रहरीमा हल्लीखल्ली मच्चिएको छ ।

यसमा वडा प्रहरी मातहत रहेको अस्थायी प्रहरी पोष्ट बसपार्कका इन्चार्जको समेत सेटिङ्ग रहेको प्रहरी स्रोतको दावी छ । त्यहाँँ ‘पहुँचवाला’ इन्चार्जका रुपमा प्रहरीको लेखा समुहका प्रहरी नायव निरीक्षक (सई) विष्णु शाही छन् । उनी पोष्टको इन्चार्ज भएर आएसँगै यस क्षेत्रमा विकृति मौलाउन थालेको स्थानीयहरुले पटक–पटक गुनासो गर्दै आएका छन् ।

नेपालगन्ज–४, बाइपास रोडमा सञ्चालनमा रहेको मौरी रेष्टुरेन्ट अस्थायी प्रहरी पोष्ट बसपार्कबाट ५०० मिटरको दुरीमा छ । मौरी रेष्टुरेन्टमा कार्यरत एक जना कर्मचारीले प्रहरीकै चाँजोपाँजोमा जुवा खेल्ने वातावरण मिलाइएको र जुवा चलिरहेकै बेला बाहिरको अवस्थाबारे जानकारी दिन बसपार्कको मोटरसाइकल गस्तीसमेत भइरहेको कर्मचारीहरु बताउँछन् ।

यद्यपी मौरी रेष्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको सूचना लिक भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त जुवाखालबाट प्रहरीले १३ लाख ६३ हजार ८०० रुपैयाँ र तासका गड्डी समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताएका छन् ।

जुवाखालबाट पक्राउ पर्नेमा प्रहरीकै बरिष्ठ सई रमेश शाही, विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, मोहम्मद सफिक बेहना, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी छन् । उनीहरुलाई आजै बाँके जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ ।

एक जना प्रहरीकै शब्दमा ‘चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएका ‘जुवा अखडा’ प्रहरीको कमाउधन्दाका रुपमा परिणत भएका छन् । अहिले चालपर्वका बेला शान्ति सुरक्षा कायम गर्न घुमुवा र सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरु सूचना संकलनको सट्टा ‘जुवा अखडा’हरुको संरक्षण गरी कमिसन संकलनमा व्यस्त हुनु राम्रो होइन ।’

नेपालगन्जका विभिन्न क्षेत्रमा प्रहरीकै संरक्षणमा चलेका ‘जुवा अखडा’मा जुवाडे र प्रहरीबीच कमिसनमा ‘बार्गेनिङ्ग’ नमिलेपछि छापा मार्ने गरेको पाइन्छ । यद्यपी बुधवार मातहतका पोष्टको ‘सेटिङ्ग’मै चलिरहेको जुवा अखडामा जिल्लाको टोलीले एकाएक छापा मारेपछि मातहतका पोष्टमा कार्यरत इन्चार्जहरु ‘इन्तु न चिन्तु’को अवस्थामा छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट ५०० मिटरको दुरीमा रहेको ‘जुवा अखडा’बाट जुवाडे र नगद बरामद भएपछि बसपार्क पोष्टका इन्चार्ज विष्णु शाहीको कार्य क्षमतामाथि प्रश्न उठेको छ । लेखा समूहका प्रहरी कर्मचारी उनले ‘पहुँच’कै आधारमा विगतदेखि नै रोजेका पोष्टहरु हात पार्दै आएको प्रहरी कर्मचारीहरुले नै बताउँदै आएका छन् ।

नेपालगन्जको बसपार्क, पुष्पलाल चौक, कारकाँदो क्षेत्रमा सञ्चालित केही होटल, रेष्टुरेन्ट तथा डान्सबारमा खुलमखुला विकृति मौलाए पनि प्रहरीलाई कुनै चासो नरहेको स्थानीयहरु बताउँछन् । बसपार्क क्षेत्रमा प्रहरीकै संरक्षणमा ‘जुवा अखडा’ चल्ने गरेको उनीहरुको भनाई छ । बाँकेमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालन हुँदा कतिपयको उठीबास नै हुने अवस्था भएको छ ।

‘जुवा अखडा’हरुको संरक्षण गर्दै प्रहरीले कमिसन असुल्दै आएको पनि स्थानीयहरुको भनाई छ । नियमित पैसा बुझाउनेलाई प्रहरीले नै संरक्षण दिने गरेको पनि प्रहरी स्रोतको भनाई छ । यसले प्रहरीप्रतिको विश्वास र हेर्ने दृष्टिकोण बदलिएको छ । ‘जुवा अखडा’का रूपमा संरक्षित बन्दै आएका यी क्षेत्रमा प्रहरीले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप प्रहरीमाथि बारम्बार लाग्ने गरेको छ ।

पछिल्लो समय जुवाडेहरूले नेपालगन्जलाई ‘इजी–जोन’को रूपमा समेत प्रयोग गर्न थालेका छन् । ‘कहिलेकाँही बार्गेनिङ्ग नमिल्दा वा जुवाडे र प्रहरीबीच समन्वय नहुँदा समस्या आउने हो । नत्र नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्र जुवाडेहरुका लागि ‘इजी–जोन’ नै हुन्,’ नेपालगन्जका एक जना जानकारले भने । ‘नत्र पक्राउ परेकाहरुलाई रातारात किन छोडिन्छ ? यदी सेटिङ्ग नहुने हो भने कानुन अनुसार किन कारबाही हुँदैन ? यो खाली देखाउनका लागि मात्रै हो ।’

प्रहरी स्रोतका अनुसार जुवाडेहरुलाई प्रहरीले केही सजिलो गरेसँगै नेपालगन्जलाई जुवाडेहरूले सुरक्षित क्षेत्रको रूपमा प्रयोग गर्ने गरेका छन् । विगतमा जुवाडे पक्राउ गरेको प्रहरीले के कारबाही गरियो भन्ने कुरासमेत लुकाउने गरिन्थ्यो । त्यसो त बाँकेमा अहिलेसम्म पक्राउ परेका जुवाडेहरु पक्राउपछि कारबाही नै नभएर सहजै छुट्ने गरेका छन् । यद्यपी बुधबार पक्राउ परेका जुवाडे सहजै छुट्छन् या कारबाही भोग्छन् त्यो हेर्न बाँकी नै छ ।

यस्तो पक्राउ पर्नेको पूर्ण विवरण

१ – जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड बस्ने बर्ष २८ को बिज्ञान श्रेष्ठ – ९८०४५५४९७८

२ – ऐ.ऐ.वडा नं.१० मुक्तीपुर बस्ने बर्ष ३६ को गणेश बस्नेत – ९८२२००५८२५

३ – ऐ.ऐ.वडा नं.१६ जयसपुर बस्ने वर्ष ४६ को सेताज अन्सारी – ९८६३२५८४५५

४ – ऐ.ऐ.वडा नं.९ त्रिभुवनचोक बस्ने बर्ष २४ को ऋषि गुप्ता – ९८१४५८०३८९

५ – ऐ.ऐ.वडा नं.४ बसपार्क बस्ने बर्ष ५२ को तरूण गौतम – ९८४८०२००१६

६- ऐ.ऐ.वडा नं.१२ कोरियनपुर बस्ने बर्ष ३७ को बिनोद खड्‌का – ९८५८०३७१६०

७- ऐ.ऐ.वडा नं.४ बसपार्क बस्ने बर्ष ४८ को मोहम्मद सफिक बेहना – ९८५८०३००३८

८- ऐ.ऐ.वडा नं.१८ कारकाँदो बस्ने बर्ष ४७ को संगम शाह – ९८५१०३०३१५

९ – ऐ.ऐ.वडा नं.४ बसपार्क बस्ने बर्ष ५० को मधुसुधन दहाल – ९८५८०२०४२२

१० – ऐ.ऐ. बसपार्क बस्ने बर्ष ४५ को मेघराज गौतम – ९८५८०५०२९८

११ – ऐ.ऐ.वडा नं. १ धम्बोजी बस्ने बर्ष ४५ को रमेश शाही – ९८५८०२५०९९

१२ – जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा बस्ने बर्ष ३८ को भागिरथ यादब -९८४४८६७२९४

१३ – ऐ.ऐ.वडा नं. ९ झण्डहवा बस्ने बर्ष ४२ को नन्दलाल यादब – १८२७२६१६८६

१४ – ऐ.ऐ.वडा नं. २ लक्ष्मणपुर बस्ने बर्ष ४० को सुमन के.सी. – ९८६५५८४०००

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार