कुहिरोले ढाकिएका हिमाल पाखामा भारतले प्रस्ताव गरेको विशाल बाँध परियोजनाले चीनसँगको पानीको प्रतिस्पर्धामा नयाँ आयाम थपेको छ । तिब्बतको माथिल्लो भेगमा चीनले निर्माण गरिरहेको कीर्तिमानी जलविद्युत् परियोजनाको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भारतले यो कदम चालेको हो ।
भारतको उत्तरपूर्वी सिमानामा रहेको रिउ क्षेत्र तिब्बत र म्यान्मासँग जोडिएको छ । प्रस्तावित योजनाअनुसार अरुणाचल प्रदेशमा २८० मिटर अग्लो बाँध निर्माण गरी ४० लाख ओलम्पिक आकारका पौडी पोखरी बराबरको विशाल जलाशय बनाइनेछ । यो बाँधले ११ हजार २०० देखि ११ हजार ६०० मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता राख्नेछ, जुन भारतको हालसम्मकै सबैभन्दा शक्तिशाली बाँध हुनेछ ।
तर भारतीय अधिकारीहरूका अनुसार यसको मुख्य उद्देश्य विद्युत् उत्पादनभन्दा पनि पानी नियन्त्रण र क्षेत्रीय सुरक्षा हो । यो परियोजनाले भारी वर्षामा अतिरिक्त पानी संग्रह गर्ने र चीनले अचानक पानी छोडेमा बाढीको जोखिम कम गर्ने लक्ष्य राखेको छ । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले चीनको परियोजनाविरुद्ध सुरक्षात्मक कदम आवश्यक रहेको बताएका छन् ।
भारतका पूर्व राजदूत अशोक के. कान्थाले चीनको परियोजनालाई ‘लापरवाह’ भन्दै भारतको बाँधलाई ‘रक्षात्मक उपाय’ को रूपमा प्रस्तुत गरेका छन् । चीनले सियाङ (तिब्बतमा यार्लुङ साङ्पो) नदीमा एक खर्ब ६७ अर्ब डलरको याक्सिया जलविद्युत् परियोजना अघि बढाइरहेको छ । यो परियोजनामा पाँचवटा जलविद्युत् स्टेशन रहनेछन्, जसले विश्वकै सबैभन्दा ठूलो थ्री गोर्जेस बाँधको तुलनामा तीन गुणा बढी विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ ।
बेइजिङले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरे पनि भारतमा यसले ठूलो चिन्ता पैदा गरेको छ । भारतलाई डर छ कि चीनले बाँधलाई हतियारको रूपमा प्रयोग गरी तल्लो क्षेत्रमा खडेरी वा ‘पानी बम’ जस्तै बाढी निम्त्याउन सक्छ । यद्यपि, चीनले यस्ता आशंकालाई ‘आधारहीन प्रचार’ भन्दै खारेज गरेको छ ।
यो परियोजना केवल जलविद्युत् उत्पादनमा सीमित नभई भारत र चीनबीचको भूराजनीतिक तनावको प्रतिबिम्ब हो । भारतको बाँधले पानीको प्रवाह नियन्त्रण गर्न र बाढीको सम्भावित जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । योसँगै, अरुणाचल प्रदेशको यो परियोजनाले भारतको ऊर्जा सुरक्षालाई पनि बलियो बनाउनेछ ।

