साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन् । उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् । चयन भएसँगै नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ ।
मंगलवार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो । साढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुन् । मंगलवार दिउँसो सवा १२ बजेर ५ मिनेटको शुभ साईतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी कुमारी आसनमा विराजमान गराइएको हो ।
मंगलवार नै वर्तमान कुमारी तृष्णा शाक्यलाई आसनबाट उतारी बाजागाजासहित कुमारी घरबाट विदा गरिएको छ । तृष्णा शाक्यले करिब आठ वर्ष जीवित देवीको भूमिका निर्वाह गरेपछि अहिले उनको स्थानमा आर्यतारालाई ल्याइएको हो । उनका पिता श्री अनन्त शाक्य, आमा श्रीमती प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन् ।
आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी छिन् । आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् । तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको हो । कुमारीकाल समाप्त भएपछि उनलाई बाजा गाजासहित विशेष पूजापाठ गरेर घरसम्म पुर्याइयो र परम्परागत रीति अनुसार बिदाइ गरियो ।
कुमारीलाई हिन्दू देवी तलेजुको जीवित अवतार मानिन्छ । उनको चयन प्रक्रिया प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्याङ्कनमा आधारित हुन्छ । यसमा पञ्चाङ्ग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन् । राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमा–बुवा दुवै जना काठमाडौंका स्थानीय शाक्य समुदायका हुनुपर्छ । नवनियुक्त कुमारीमा शारीरिक र धार्मिक गुणलाई विशेष महत्व दिइन्छ ।
परम्परा अनुसार, कुमारीमा ३२ गुण हुनु अनिवार्य छ, जसमा सुन्दरता, शारीरिक शुद्धता, शान्त स्वभाव, दैवी स्वरूपका विशेषताहरू, शरीरमा कुनै घाउ वा दाग नहुनु, सबै दाँत पूरा हुनु र असामान्य निडरता देखाउनुपर्ने अपेक्षा रहन्छ । आर्यताराको नियुक्तिले नेपालमै अद्वितीय शताब्दी पुरानो परम्परालाई निरन्तरता दिएको छ ।
राजकीय जीवित देवी कुमारीलाई हिन्दू तथा बौद्ध दुवैले पूजा गर्छन् र उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन् । कुमारी प्रथा काठमाडौँ उपत्यकाको एक जीवन्त र महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो । जहाँ बालिकालाई तलेजु भवानीको प्रतीकका रूपमा पूजा गरिन्छ ।

