१० दिनयता नेपाल र बंगलादेशमा भएका घटनाले भारतलाई सचेत बनाएको छ । ८ सेप्टेम्बरमा नेपालमा जेनजी आन्दोलन र राज्य दमनका घटनाबारे भारतको विदेश मन्त्रालयले ‘हामी नियालिरहेका छौँ’ भनेर औपचारिक प्रतिक्रिया दियो । तर, १० सेप्टेम्बरमा बंगलादेशमा भएको घटनाबारे भने मौन रह्यो । यद्यपि भारतीय मिडिया र रणनीतिक वृत्तमा त्यसबारे चासो बढ्दै गएको छ ।
बंगलादेशमा अमेरिकी सैनिक प्रवेश
१७ सेप्टेम्बरको सीएसआर जर्नलका अनुसार १० सेप्टेम्बरमा १२० अमेरिकी सैनिक अधिकारी ढाका पुगे । उनीहरू चित्तगोङको र्याडिसन ब्लू होटलमा बसे, र सैन्य जहाज होइन, यूएस–बङ्गला एयरलाइन्समार्फत आएका थिए । चार दिनमै इजिप्टको वायुसेना विमान पनि चित्तगोङ अवतरण भयो । अमेरिकी सैनिक पाटेङ्गा हवाई अड्डामा देखिनु भारतका लागि शंकास्पद विषय बनेको छ ।
तीन महिनामा दुई सैन्य अभ्यास
गत जुलाईमा ‘टाइगर लाइट्निङ’ नामक अभ्यास सम्पन्न भएको थियो भने अगस्टमा ‘टाइगर सार्क’ सार्वजनिक गरिएको थियो । अहिले भइरहेको अभ्यासको नाम भने खुलाइएको छैन । छोटो समयमा दुई अभ्यास हुनु र अमेरिकी सैनिकको मृत्युसमेत हुनु भारतीय सुरक्षा निकायको चिन्ता बनेको छ ।
हसिनाको खुलासा
अपदस्त पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नै कार्यकालमा अमेरिकी सैन्य शिविर राख्ने प्रस्ताव आएको बताएका थिए । उनले यो इस्ट टिमोरजस्तो इसाई राष्ट्र बनाउन खोजिएको संकेतसमेत गरेकी थिइन् ।
पाकिस्तान–बंगलादेश नजिकिँदै
यसबीच पाकिस्तानका उच्च अधिकारीहरू ढाका पुगेका छन् र बंगलादेशी सैनिक नेतृत्व पनि पाकिस्तान पुगेको छ । १९७१ को विगत सम्झिँदा यो सम्बन्ध सामान्य मात्र नभई गहिरिँदै गएको संकेत भारतले लिएको छ ।
भारतको चिन्ता
अमेरिका–बंगलादेश सैन्य हिमचिम र पाकिस्तानको सक्रियता भारतको उत्तरपूर्वीसम्म असर गर्ने डर भारतीय सुरक्षा वृत्तमा देखिएको छ । भारतका प्रधानसेनापति उपेन्द्र द्विवेदीले फेब्रुअरीमै चेतावनी दिँदै बंगलादेशको भूमि भारतविरुद्ध प्रयोग नहोस् भनेका थिए ।
सत्यपाटी