शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर ३१० पुगेको छ । जसमा कृष्णसारका भाले ११७, पोथी १४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।
निकुञ्जको हीरापुर फाँटामा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टरमा मात्र तारबार गरिएको भए पनि क्रमशः सन् २०१३ मा चार दशमलव पाँच हेक्टर, सन् २०१५ मा पाँच हेक्टर, सन् २०१७ मा १७ हेक्टर र सन् २०१९ मा सात दशमलव आठ हेक्टर थप गर्दै हालको क्षेत्रफलसम्म विस्तार गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कृष्णसारको सङ्ख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा प्राकृतिक रूपमा खुला छाड्ने वा अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको उनले बताए । ‘मन्त्रालय र विभागमा कृष्णसार व्यवस्थापनबारे कुरा राखेका छौँ,’ उनले भने । उनका अनुसार वर्निखेडा लगायत क्षेत्रमा प्राकृतिक वातावरणमा छाड्नेबारे सम्भाव्यता अध्ययनको कार्य भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पुनःस्थापना गर्ने प्रस्ताव पनि आएको उनले बताए । निकुञ्जको तथ्याङ्क अनुसार सन् २०१३ मा ३१ रहेको कृष्णसारको सङ्ख्या सन् २०१४ मा ३६, सन् २०१५ मा ३५, सन् २०१६ मा ४४, सन् २०१७ मा ५९, सन् २०१८ मा ६६, सन् २०१९ मा ८८, सन् २०२० मा ११५, सन् २०२१ मा १४१, सन् २०२२ मा २०४, सन् २०२३ मा २६१ र सन् २०२४ मा २८७ पुगेको देखिन्छ । यसरी गत एक दशकमा कृष्णसारको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगन्ज र ललितपुरको सदर चिडियाखाना तथा २०७२ साल वैशाखमा बर्दियाको खैरापुरबाट कृष्णसार ल्याएर संरक्षण थालिएको थियो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ गरी जम्मा ४२ कृष्णसार स्थानान्तरण गरेर ल्याइएका थिए । कृष्णसारको स्वास्थ्य र पोषणका लागि दिनमा एकपटक दाना, ढुटो, चोकर, मकै, चना आदि खुवाइन्छ ।
पशु चिकित्सक आभाष श्रेष्ठका अनुसार कृष्णसारमा जुका, किर्नाजस्ता परजीवीको सङ्क्रमण देखिने भएकाले समय–समयमा दानामा औषधि मिसाएर खुवाउने कार्य हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । एन्टिलोप प्रजातिको यो जनावर नेपालगन्ज, काठमाडौँको मृगस्थली, बर्दियाको खैरापुर र शुक्लाफाँटाको हीरापुर फाँटामा संरक्षित रहेको छ ।
घाँसका फाँटमा बस्न रुचाउने कृष्णसारमा भाले कालो र पोथी खैरो रङ्गका हुन्छन् । कृष्णसारले छ–छ महिनामा बच्चा जन्माउँछन् । वयस्क नभएसम्म दुवै भाले पोथीको रङ्ग खैरो नै हुन्छ । कृष्णसार संरक्षित क्षेत्रमा आन्तरिक पर्यटकको आवागमनमा भने वृद्धि हुँदै गएको छ । कृष्णसार अवलोकनका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।
सत्यपाटी