रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार साँझ सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्था अनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचारको काम अघि बढाइनेछ । यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइएको छ ।
रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी जम्मा १५ वटा हेलिकोप्टर परिचालन गरिएको छ । हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको उद्धार गरिएको छ ।
वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा घाइतेहरूको आपत्कालीन उपचार गरिरहेको छ । साथै, विपद् व्यवस्थापनमा प्रयोग हुने एक सेट फिल्ड अस्पताल तथा आवश्यक मेडिकल सामग्री, औषधी र उपकरणसमेत त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।

