२०८३ साउन २७ , बुधबार 13, August 2026, Thursday
विश्व स्तनपान सप्ताह

आमाको दूध, नवजात शिशुको जीवनको पहिलो र अमूल्य उपहार

यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ । साथै, यसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ किनभने शिशुसँगको नजिकको सम्पर्कले आमा–बच्चा दुवैमा सन्तोष र सुरक्षाको भावना विकास गर्छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन २३ गते शुक्रबार

हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताह केवल एउटा स्वास्थ्य सम्बन्धी कार्यक्रम मात्र होइन, यो नवजात शिशुको जीवन, आमाको स्वास्थ्य र समाजको भविष्यसँग जोडिएको विश्वव्यापी अभियान हो । सन् १९९२ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले यसको सुरुवात गरेका थिए, र आज यो १२० भन्दा बढी देशमा मनाइन्छ ।

यसको उद्देश्य सबै आमाहरू र परिवारलाई स्तनपानको महत्त्वबारे सजग बनाउनु, स्तनपान सम्बन्धि गलत धारणाहरू हटाउनु र शिशुलाई जन्मिएको पहिलो क्षणदेखि नै स्वस्थ जीवनको आधार दिनु हो । जन्मपश्चात् पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो ६ महिना पूर्ण रूपमा आमाको दूध मात्र खुवाउनु यसको मुख्य सन्देश हो ।

स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो । आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ । यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकता अनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन । यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ ।

नियामत अलि शाई

झाडापखाला, निमोनिया, कानको संक्रमणजस्ता रोगहरूको सम्भावना उल्लेखनीय रूपमा घट्छ, जसले शिशुको जीवनदरमा सुधार ल्याउँछ । आमाका लागि पनि स्तनपान अत्यन्त फाइदाजनक हुन्छ । यो केवल शिशुलाई पोषण दिने साधन मात्र होइन, आमा–शिशुबीचको भावनात्मक सम्बन्धलाई अझ गहिरो बनाउने प्रक्रिया हो । स्तनपानले प्रसूति पश्चात् रगत बग्ने प्रक्रियालाइ विस्तारै कम गर्दै जान्छ, गर्भाशयलाई छिटो सामान्य अवस्थामा फर्काउँछ र प्राकृतिक गर्भनिरोधमा सहयोग पुर्याउँछ । लामो समय स्तनपान गर्ने महिलामा स्तन क्यान्सर र गर्भाशय क्यान्सरको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन् ।

साथै, यसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ किनभने शिशुसँगको नजिकको सम्पर्कले आमा–बच्चा दुवैमा सन्तोष र सुरक्षाको भावना विकास गर्छ । आजको समयको आवश्यकता झन् बढेको छ । आधुनिक जीवनशैली, व्यस्त दिनचर्या, शहरीकरण, र कृत्रिम दूधको आक्रामक बजारले स्तनपानको अभ्यासमा कमी ल्याइरहेको छ । कतिपय परिवारमा अझै पनि स्तनपान पर्याप्त छैन वा बच्चालाई तत्काल कृत्रिम दूध दिनुपर्छ भन्ने गलत धारणा जिवित छ । यस्ता सोच हटाउन र सही अभ्यासलाई पुनः प्रोत्साहन गर्न विश्व स्तनपान सप्ताहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।

विश्व स्वास्थ्य संगठनले स्पष्ट सिफारिस गरेको छ कि बच्चा जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ, पहिलो ६ महिना केवल आमाको दूध मात्र दिनुपर्छ, र ६ महिनापछि पूरक आहार सुरु गरे पनि कम्तीमा दुई वर्षसम्म स्तनपान जारी राख्नुपर्छ । यो अभियानले केवल आमाहरूलाई मात्र होइन, बुबा, परिवारका सदस्य, स्वास्थ्यकर्मी र सम्पूर्ण समाजलाई जिम्मेवार बनाउने सन्देश दिन्छ । किनभने स्तनपान केवल आमाको व्यक्तिगत निर्णय मात्र होइन, यो परिवारको समर्थन र समाजको समझदारीमा आधारित हुन्छ । आमा–बच्चाको स्वास्थ्य संरक्षणको यो अभ्यासलाई प्रोत्साहन दिन हामी सबैले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिनुपर्छ ।

अन्ततः, विश्व स्तनपान सप्ताह हामीलाई सम्झाउँछ कि आमाको दूध संसारको सबैभन्दा प्राकृतिक, सुरक्षित, सस्तो र प्रभावकारी पोषण स्रोत हो । यो बच्चाको जीवनको पहिलो र अमूल्य उपहार हो, जसले तन्दुरुस्ती मात्र होइन, दीर्घकालीन स्वास्थ्य र विकासको आधार निर्माण गर्छ । ‘आमाको दूध – शिशुको पहिलो र उत्तम अधिकार’ भन्ने सन्देश हामी सबैको मनमा बसालेर मात्र हामी स्वस्थ र सबल पुस्ता निर्माण गर्न सक्छौं । (लेखक शाइ जनस्वास्थ्य निरीक्षक हुन् । उनी राप्तीसोनारी गाउँपालिका–६ आधारभूत स्वास्थ्य केन्द्रका कमैयाडाँडा बाँकेमा कार्यरत छन् ।)

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार