२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday
प्रधानमन्त्रीको भारत भ्रमण

फेरि थालियो नेपालगन्ज-दिल्ली उडानको पहल, कहिले होला सम्भव ?

बाँकेका पर्यटन व्यवसायीका लागि नेपालगन्ज-दिल्ली उडान कोसेढुंगे सावित हुनेछ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १० गते शनिबार

नेपालगन्जबाट छिमेकी देश भारतको राजधानी नयाँदिल्लीसम्म हवाई उडानका लागि गाइँगुइँ सुनिन थालेको एक दशकभन्दा बढी भइसक्यो । तर, नेपालगन्ज–दिल्ली उडान नेपाल सरकारको प्राथमिकतामै छैन । ‘नेपालगन्जबाट भारतका विभिन्न सहरमा हवाई उडान कहिले होला ?’ यो प्रश्न बारम्बार उठिरहने गर्छ ।

मानसरोवर तीर्थ यात्राका नेपालगन्ज ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपछि भारतीय यात्रुलाई मध्यनजर गर्दै नेपालगन्जका उद्योगी तथा पर्यटन व्यवसायीहरुले नेपालगन्ज–दिल्ली उडानका लागि बारम्बार माग गर्दै आइरहेका छन् । तर लामो समयदेखि नेपालगन्ज–दिल्ली उडानको माग सम्बोधन भएको छैन ।

तर, नेपालगन्जका उद्योगी एवं पर्यटन व्यवसायीले करिब एक दशकअघि उठाएर सेलाएको नेपालगन्ज–दिल्ली उडानको माग फेरि उठाउन थालेका छन् । यहाँँका राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी र नागरिक समाजका प्रतिनिधि सम्मिलित दबाब समूह निर्माण गरी नेपालगन्ज–दिल्ली उडानको मागमा सरकारलाई दबाब दिने बताएका छन् ।

यसअघि पनि नेपालगन्ज–दिल्ली उडानका लागि दबाब दिनका लागि भनेर समितिहरू नबनेका होइनन् । सङ्घका अध्यक्ष तथा नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक टङ्क धामीले पश्चिम नेपालको पर्यटकीय विकासका लागि नेपालगन्ज दिल्ली उडान कोसेढुंगा साबित हुने भएकोले माग पूरा नभएसम्म दबाब दिनका लागि समूह निर्माण गरिएको बताए ।

बाँकेको निजी क्षेत्रले केही वर्षदेखि बारम्बार उठाउँदै आएको नेपालगन्ज–दिल्ली हवाई उडानको विषयमा फेरि पहल सुरु गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएपछि नेपालगन्ज–दिल्ली हवाई उडानका सम्बन्धमा फेरि पहल सुरु गरिएको जनाएको छ ।

दबाब समूहका संयोजक धामीले विगतमा पटकपटक कुरा उठे पनि ठोस् निष्कर्षमा पुग्न नसकेको यो मुद्दालाई प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको भारत भ्रमणमा प्रमुखताका साथ उठाउन अनुरोध गर्ने बताए । उनले दबाब समूहको प्रतिनिधिमण्डल काठमाडौँ गएर प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै अनुरोध गर्ने योजना बनाइएको बताए ।

नेपालगन्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले अध्यक्ष धामीको संयोजकत्वमा ‘नेपालगन्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले सोही समूहको अगुवाइमा अहिले दबाब बढाउने कार्यलाई अगाडि बढाइएको बताए ।

दबाब समूहका अनुसार प्रधानमन्त्रीलाई भेटेर हस्तान्तरण गर्ने प्रतिवेदन तयार गर्न नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरेको छ । यो समितिले १० दिनभित्र नेपालगन्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे प्रतिवेदन तयार पार्नेछ । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नेछ ।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले नेपालगन्ज–दिल्ली उडानको योजनालाई सार्थक बनाउन प्रधानमन्त्रीको भारत भ्रमण अति नै महत्वपूर्ण र राम्रो अवसर भएको बताए । नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले नेपालगन्जलाई ‘मानसरोवर गेटवे’का रूपमा स्थापित गर्नका लागि नेपालगन्ज–दिल्ली सिधा उडान आवश्यक रहेको बताए ।

सो उडान सुरु भएमा विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ भने भारतबाट प्रत्येक वर्ष डेढदेखि दुई लाख पर्यटक नेपाल आउँछन् । तीमध्ये मानसरोवर जाने पर्यटकको सङ्ख्या उल्लेख्य हुने भएकाले भारतीय पर्यटकलाई सोझै दिल्लीबाट नेपालगन्ज ल्याउन सकिन्छ ।

नेपाल टुर एण्ड ट्राभल एसोसियसन नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल भन्छन्, ‘क्षेत्रीय विमानस्थल बनाउन नेपालगन्ज उपमहानगरपालिकाको पहलकदमी जरुरी रहन्छ । नेपालगन्ज–दिल्ली उडानको मुद्दा नेपालगन्ज उपमहानगरले बोक्नुपर्छ । स्तरोन्नति हुँदै गरेको नेपालगन्ज विमानस्थललाई कम्तीमा क्षेत्रीय विमानस्थल बनाइनुपर्छ ।’

बाँकेका पर्यटन व्यवसायीका लागि नेपालगन्ज–दिल्ली उडान कोसेढुंगे साबित हुने बताउँदै सिग्देल भन्छन्, ‘निरन्तर दबाब दिइराख्नुपर्छ, अन्तरप्रदेश उडान गरिनुपर्छ, अन्यथा यथास्थितिमा विमानस्थलको खर्चसम्म थेग्ने उपाय रहन्न ।’ पछिल्लो समय भारतीय पर्यटक नेपालगन्ज आउने र त्यहाँबाट सिमिकोट पुगेर ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैैश्य र पूर्वमहासचिव अजयकुमार टण्डनले सरकारको इच्छाशक्तिको अभावमा नेपालगन्ज–दिल्ली उडान हुन नसकेको जिकिर गरेका छन् । संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालगन्ज–दिल्ली उडानका लागि दवाब दिन नछोडेको बताए ।

नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक एवं नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले पनि नेपालगन्ज–दिल्ली उडान नहुँदासम्म दवाब जारी राख्ने बताए । उनले भने, ‘नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र होइन, पर्यटकीय हिसाबले कर्णाली र सुदूरपश्चिम प्रदेशको गेटवे भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक छ ।’

चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले पनि नेपालगन्ज–दिल्ली उडान महत्वपूर्ण हुने उनको दाबी थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगन्ज–दिल्ली उडानको मुद्दामा बाँकेबासी एक भएर सरकारलाई दवाब जारी राख्ने सुझाव दिए ।

यसअघि पनि नेपालगन्ज–दिल्ली उडानका लागि दबाब दिन विभिन्न समितिहरू बनेका थिए । तत्कालीन नगर प्रमुख डा.धवलशमशेर राणाको पालामा पर्यटन व्यवसायीहरूको पहलमा २०७५ सालमा भएको प्रयत्नपछि निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले उडानका लागि तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएको थियो ।

बुद्ध एयरले २०७५ साल फागुन १७ गतेदेखि नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने भन्दै औपचारिक घोषणा नै गरेको थियो । तर, अन्तिम समयमा भारतले रुट इजाजत नदिएपछि उक्त घोषणाले मूर्तरुप पाउन सकेन । २०७९ सालमा नगर प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा पनि समिति बनेर नेपालगन्ज दिल्ली उडानका लागि पहल थालिएको थियो ।

तर, उक्त पहल केही समयपछि सेलाएर गयो । बुद्ध एयरले दिल्लीमा उडान भर्ने अनुमति लिन जाँदा भारतले सानो जहाजका लागि स्लट दिन मानेको थिएन भने सुरक्षा चुनौतीलाई पनि कारण देखाएको बताइएको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नेपालगन्ज–दिल्ली उडानको प्रयास जारी राखेको बताएका थिए ।

नेपालगन्ज विमानस्थलको गुरूयोजनामा २० वर्षभित्र ठूला जेट विमान उडान गर्न सक्ने महत्वाकांक्षी योजना छ । २०७६ सालमा नेपालगन्ज विमानस्थल गुरुयोजना सार्वजनिक गरियो । जसमा दिल्ली उडानलाई सम्बोधन गरिएन । गुरुयोजना अनुसार विमानस्थल विस्तार र निर्माण गर्न जग्गा अधिग्रहणबाहेक १२ अर्ब ५० करोड रूपैयाँ लागत लाग्ने अनुमान छ ।

सोही योजनाअनुसार अहिले नयाँ टर्मिनल भवनसहितका संरचनाहरू निर्माण भइरहेका छन् । ठिक दुई वर्षअघि २०८० साल जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएका बेला पनि नेपालका केही विमानस्थलबाट रुट इजाजतबारे भारतीय प्रधानमन्त्रीसँग कुरा भएको बताइएको थियो ।

प्रचण्डले दिल्लीबाट फर्केपछि नेपालगन्जबाट दिल्ली उडानका लागि रुट इजाजतको निकास निकालिएको बताएका थिए । प्रतिनिधिसभामा बाँके क्षेत्र नं.२ का सांसद डा.धवलसमशेर राणाले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लो अल्टिच्युडको माग टुंगिएको तर हाइ अल्टिच्युडको उडान भएकाले त्यसबारे छलफल जारी रहेको बताएका थिए ।

रुट दिनका लागि भारत सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । गर्दै सोबेला प्रधानमन्त्री प्रचण्डले नेपालगन्ज र महेन्द्रनगरबाट हुने अन्तर्राष्ट्रिय उडानको रुट इजाजतबारे नेपालको माग दरिलो ढंगले राखिएको बताएका थिए । त्यसयता उच्च सरकारीस्तरबाट दुई देशका सरकारबीच कुनै कुराकानी भएको सार्वजनिक भएको छैन ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको पालामा विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याइए पनि भारत उडानका लागि प्रगति हुन नसक्नु दुःखद भएको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले आफ्नो कार्यकालमा प्रयास गर्दा पनि सफल हुन नसकेको बताए ।

भारतले आफ्नो सुरक्षा चुनौती नरहेको भन्नेमा विश्वस्त नभएसम्म उडान रुट नदिने भएकोले सरकार–सरकारबीच कुटनीतिक पहल जरुरी रहेको तर त्यसमा नेतृत्वलाई चासो नरहेको उनले बताए । नाट्टा बाँकेका अध्यक्ष सिग्देलले अहिलेको उडानले नेपालगन्ज विमानस्थलको क्षमताको पूरा प्रयोग नभैरहेको र अब विस्तार हुने क्षमता अनुपयोगी हुने अवस्था रहेको बताए ।

तर सरकारले भारत उडानका लागि गम्भीरतापूर्वक काम नगरेसम्म नहुने उनको भनाइ छ । दिल्ली उडान नहुन्जेलसम्म नेपालगन्जबाट अन्य सहरका विमानस्थलमा उडान पहल गरी क्षेत्रीय विमानस्थलको रूपमा प्रयोग गर्नु उपयुक्त विकल्प हुने बताउँदै बाँकेका राजनीतिक दल र जनप्रतिनिधिहरूहरूले नेपालगन्ज–दिल्ली उडानलाई आफ्नो प्रमुख मुद्दा बनाउनुपर्ने बताए ।

नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले सरकारले हचुवाका भरमा पूर्वाधार बनाउने तर पूर्वतयारी नगर्ने अवस्थाले पूर्वाधारहरू अनुपयोगी बन्ने गरेका बताए । उनले पोखरा र गौतम बुद्ध विमानस्थलको अवस्था इंगित गर्दै क्षमता विस्तार भएको नेपालगन्ज विमानस्थल पनि अनुपयोगी हुने जोखिम बढेको बताए ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सभा सदस्यद्वय कृष्णा केसी ‘नमुना’ र मीना श्रेष्ठले विमानस्थलबाट दिल्ली उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए । २०१७ सालमा खजुरामा सञ्चालनमा आएको नेपालगन्ज विमानस्थल २०३० सालमा राँझामा जग्गा अधिग्रहण गरेर ३१ असार २०३७ देखि सेवा सुरू गरेको थियो ।

विमानस्थलले हाल दैैनिक १५ सय जनालाई काठमाडौं, हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुम लगायतका जिल्लामा उडान सेवा दिँदै आएको छ । नेपालगन्ज–दिल्ली उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रत्यक्ष जोड्नेछ । हवाई मार्गबाट नेपालगन्ज–दिल्लीबीचको दुरी एक घण्टामा खुम्चिनेछ ।

काठमाडौंपछि व्यस्त रहने नेपालगन्ज विमानस्थलबाट भारतको दिल्ली उडानका लागि सबैभन्दा छोटो रुट हो । हवाई उडान सञ्चालन भए लाखौं भारतीय पर्यटक नेपाल भित्रिनेछन् । हाल भारतको लखनउबाट मात्रै वार्षिक ३० हजारको हाराहारीमा तीर्थयात्री हुम्लाको सिमकोट हुँदै मनसरोवर जाने गरेको तथ्यांक छ ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार