२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday
धार्मिक पर्यटन

नेपालगन्जको ब्राण्ड ‘बागेश्वरी मन्दिर’

पर्यटन क्षेत्रको विकासका लागि प्रचुर सम्भावना भएर पनि यसको सदुपयोग गर्न सकिएको छैन । अझ धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको विकासका लागि सबैको योगदान र सहयोग आवश्यक देखिन्छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन ४ गते आइतबार

नेपालगन्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र, महत्वपूर्ण तथा प्रमुख शक्तिपीठका रुपमा लिइन्छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गरेका छन् । बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजाका लागि मन्दिर पुग्ने गरेका छन् । बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको अझ बढी भिडभाड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाइ छ ।

मूल महन्त योगी भने, ‘यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात देवीको बास रहेको छ ।’ जनश्रुती अनुसार मन्दिरमा सतिदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ । बागेश्वरी मन्दिरको बारेमा शोध गरेका महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहप्राध्यापक डा.राजकुमार सुवेदीका अनुसार आजभन्दा दुई हजार वर्ष पहिले हाल मन्दिर भएको ठाउँ घनघोर जङ्गलले ढाकिएको थियो । नेपाल–भारत तीर्थयात्रा गर्ने तीर्थयात्री र तपस्वीहरु यही ठाउँको बाटोको प्रयोग गर्दथे ।

सोही क्रममा नेपालबाट भारत जान लागेका दुुई जना महात्मा (गुरु र चेला) यही ठाउँमा बास बस्न पुगेका थिए । देवीको स्थान भएको नजिकै सुतिरहेको समयमा गुरुलाई सपनामा जगदम्बा देवीको दर्शन भई मेरो स्थान यतै कतै छ भन्ने वाणी भयो । त्यसपछि गुरुले चेलालाई उठाएर देवीको खोजीमा लागे । दिनभरको परिश्रमपछि साँझ सूर्यास्तको समयमा गहिरो खाल्डो भेटियो । सोही ठाउँमा मन्दिर निर्माण गरियो । गुरुचेला दिनभर मन्दिर बनाउँथे राति भत्किन्थ्यो । छैटौं दिनमा सातौं दिनमा गुरुलाई फेरि सपनामा देवीको स्थानमा बलि चाहिने भनियो ।

धार्मिक कार्यमा निस्केका गुरुले जनावरको बलि दिन उपयुक्त नठानेर आफू समाधि लिने भने । चेलाले पनि आफैं समाधि लिने भनेपछि मतभेद भयो । अन्त्यमा गुरु ज्यूँदै समाधिमा बसे । त्यसपछि चेलाले मन्दिर बनाउन सफल भए । गुरूको समाधि अहिले पनि मन्दिरको पूर्वमा रहेको पीपल बोटको पूर्वी छेउमा छ । त्यसपछि चेलाले पूजाआजा गरे । उनका सन्तानले अहिले पनि निरन्तर पूजाआजा गर्दै आएका छन् । हाल पुजारीका २४ औं पुस्ताका हरिहरनाथ योगी र चन्द्रनाथ योगीले मूल महन्तको रुपमा पूजाआजा गर्दै आएका छन् ।

त्यसो त नेपाल देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको क्षेत्र मात्रै नभई विविध जाति, भाषा, भेषभूषा र परम्पराको अनुपम सङ्गमस्थल भएकाले धार्मिक पर्यटनको सम्भावना निकै छ । यहाँ बुद्धको जन्मस्थल र मन्दिरै मन्दिरका सहरहरू छन् । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने मठ, मन्दिर, विहार, स्तूप, कुण्ड, धार्मिक गुफा पर्यटकको आकर्षणका केन्द्र हुन् । त्यस्तै आकर्षणको केन्द्रमध्ये पश्चिम नेपालको नेपालगन्जस्थित हिन्दु धर्मावलम्बीको पवित्र, महत्वपूर्ण तथा प्रमुख शक्तिपीठ हो बागेश्वरी मन्दिर । यहाँ धार्मिक पर्यटक भित्र्याउने धेरै आयामहरु छन् ।

काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरकै हाराहारीमा भक्तजन र श्रद्धालुहरु बागेश्वरी मन्दिरमा आउन सक्ने प्रशस्त आधारहरु रहेको देखिन्छ । नेपालगन्जका पर्यटन व्यवसायी श्रीराम सिग्देल सामाजिक सञ्जालमा लेख्छन्, ‘नेपालगन्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी माताको महिमा यतिधेरै छ कि पशुपतिनाथकै हाराहारीमा भक्तजन र श्रद्धालुहरु आउन सक्छन् र सम्पूर्ण नेपालगन्जलाई चलायमान गराउन सक्ने शक्ति बागेश्वरी मातासँग छ । नेपालगन्जलाई बागेश्वरी मन्दिरले ब्रान्डिङ्ग गर्न सक्छ । जय माता दी ।’

धेरैजसो भारतीय पर्यटकले धार्मिक पर्यटकका रूपमा नेपाल भ्रमण गर्छन् । भारतबाट बर्सेनि एक लाखभन्दा बढी पर्यटक नेपालमा तीर्थयात्रा र बिदा मनाउन आउँछन् । भारतीय पर्यटक भित्र्याउने प्रमूख सीमा नाकामध्ये नेपालगन्ज नाकालाई पनि महत्वपूर्ण नाकाका रुपमा लिइन्छ । यहाँ भारतीय पर्यटकलाई मात्रै पनि लक्षित गर्ने हो भने पनि बागेश्वरी मन्दिरलाई पर्यटन व्यवसायी सिग्देलले भने अनुसार ब्राण्डिङ्ग गर्नैपर्छ । पर्यटन उद्योग विदेशी मुद्रा आर्जन र रोजगारीका दृष्टिले अग्रपङ्क्तिको उद्योगमा पर्छ । पर्यटन क्षेत्रको विकासका लागि प्रचुर सम्भावना भएर पनि यसको सदुपयोग गर्न सकिएको छैन ।

अझ धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको विकासका लागि सबैको योगदान र सहयोग आवश्यक देखिन्छ । सिग्देलको भनाईमा सहमति जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता मदनराज लेख्छन्, ‘विचार अति नै सान्दर्भीक आयो । तर, भक्तजनको बिश्वासमा घात तथा श्रद्धालुहरुको आस्थाको कदर गर्न नसक्नेहरुबाट मठ–मन्दिर ब्रान्डिङको आश ब्यर्थ हो । यस उचित कार्यको लागि सही समय र श्रेष्ठ ब्यक्तिको पर्खाईको आवश्यकता । सबैको जय होस् ।’ उनले सुनासो मिश्रित भावमा बागेश्वरी मन्दिरलाई ब्राण्डिङ्ग गर्न अहिलेको मन्दिरको नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै त्यसका लागि सही समय र नेतृत्व आवश्यकता रहेको औल्याएका छन् ।

बागेश्वरी मन्दिरको महिमा

नेपालगन्ज उपमहानगरपालिकाको मध्य भागमा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण शक्तिपीठ हो । हिन्दूहरूको पवित्रस्थलका रूपमा रहेको बागेश्वरी मन्दिरको उत्पत्ति र स्थानबारे कुनै प्रमाणित तिथि, मिति प्राप्त छैन । कुनै निश्चित प्रमाणित आधार नभए पनि बागेश्वरी मन्दिरको उत्पत्तिबारे भने विभिन्न जनश्रुति रहेका छन् । यस मन्दिरमा पूजाआजाका लागि स्वदेशका विभिन्न जिल्ला लगायत भारतको नानपारा, बहराइच, लखनउसम्मका श्रद्धालुहरू आउने गर्दछन् ।

यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ । यस मन्दिरमा विभिन्न देवीदेवताहरूको मूर्तिहरू छन् । यहाँ सतीदेवीको जिब्रो पतन भएकाले यो ठाउँलाई बाँकेखरी भनियो र पछि बाकेश्वरी भन्ने शब्द अपभ्रंश भई बागेश्वरी बनेको हो । यसै ठाउँको नामबाट जिल्लाको नाम बाँके रहन गएको हो भन्ने जनविश्वास रहेको छ । दुर्गा सप्तसतीको देव्याकवचको श्लोकमा ‘रोम कुपेषु कौवेरी त्वच बागेश्वरी तथाः’ भनी लेखिएबाट सतीको अंग पतन भएको ठाउँ भएकोले बागेश्वरी भनिएको हो भन्ने पनि गरिन्छ ।

यहाँ मन्दिर र मूर्तिको स्थापना प्राचीनकालमा भएको र मर्मत सम्भार दिगबिजय सिंहले गराएका थिए भन्ने कुरा इतिहासबाट थाहा पाउन सकिन्छ । यस स्थानमा सर्वप्रथम किन्नर गणहरूले पूजा, आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको बताइन्छ । यो नेपालको महत्वपूर्ण हिन्दू मन्दिरमध्येमा पर्दछ ।

दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ । सतीदेवीको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्दिरलाई प्रसिद्ध पीठ पनि मानिन्छ । करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ । जसलाई छत्रले ढाकिएको छ । यस मूर्तिमुनि गहिरो खाडल छ । खाडल माथि राखिएका फलामे जाली माथि राखिएको चाँदीको सिंहासन माथि राखिएको शिलालाई नै देवीको शाश्वत् रूप मानी पूजा गरिन्छ ।

देवीको प्रतिमामुनि रहेको खाल्डोले सतीको जिब्रो खसेको ठाउँमा सो अड्डा धान्न नसकी पृथ्वीमा खाल्डो भएको हो भन्ने किंवदन्ती छ । बागेश्वरी त्यहीँ जिब्रो खसेको ठाउँ हो भन्ने किंवन्दतीलाई चरितार्थ गर्दछ । देवीको नाममा भाकल गर्नेहरूलाई मन्दिरको चारैवटा ढोका बन्द गरी पूजारीले उक्त खाल्डोको दर्शन गराउँछन् । बिहान ४ः३० बजे पूर्वनै मन्दिरका पुजारीले मुखमा पट्टी बाँधेर मन्दिरका ढोकाहरू बन्द गरी तान्त्रिक र वैदिक विधिद्वारा पूजा गर्दछन् ।

प्रत्येक मंगलबार देवीको वबशेष पूजा गर्ने र रोटी चढाउने गरिन्छ । बागेश्वरी शक्तिपीठ भएकाले महाअष्टमी र महानवमीमा धुमधामसँग पूजा गर्ने गरिन्छ । महानवमीको दिन मन्दिरमा सयौंको संख्यामा बोका, कुखुरा र हाँस बलि दिइन्छ । महानवमी, महाअष्टमी र रामनवमीमा नेपालका विभिन्न भागबाट मात्र नभई भारतको लखनउसम्मका भक्तजनहरू मन्दिरमा मेला भर्न आउने गर्दछन् । देवीलाई खुसी पार्न कतिपय भक्तजनहरूले जिब्रो सुइरोले छेडी मन्दिर परिक्रमा गर्ने गर्दछन् भने कतिले औंला काटी रगतसमेत चढाउने गरेको पाइन्छ ।

पुरानो स्वरूपमा रहेको बागेश्वरी मन्दिर । तस्वीर : सामाजिक सञ्जाल

यसो गरे देवी खुसी भई मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । नवरात्रीमा विद्वान पण्डितहरूद्वारा तत्चण्डी महायज्ञ गरिने र चतुर्मासा महात्मा पाठ गरिनेसमेत चलन रहेको छ । शनिबारका दिन प्रायःजसो मन्दिरमा घुइँचो लाग्ने गर्दछ । जनश्रुति बमोजिम बागेश्वरी देवीको उत्पत्ति डोल्पा जिल्लाको कोटगढीमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीसँग जोडिएको छ ।

वि.सं. १४११ मा कोटगढीको टाकुरामा रहेको ओखल (जसमा जति धान हाल्यो उति चामल हुन्थ्यो) को रहस्य पत्ता लगाउने क्रममा ओखलको पिँधमा रहेका देवीका ९ वटा मूर्तिहरू पुतली बनी उड्दा एउटा बाजुराको बडी मालिका, अर्को जुम्लाको सिँजामा कानेका भगवती, अर्को जाजरकोट, अर्को सल्यान र अर्को अर्घाखाँचीमा पुगी भगवतीका विभिन्न रूपमा प्रसिद्ध भए भने एक बहिनी नेपालगन्ज पुगी बागेश्वरीका रूपमा प्रसिद्धि पाएको मानिन्छ ।

अर्को जनश्रुति बमोजिम सतीदेवीको जिब्रो खसेकाले पहिले बाक्यश्वरी र बाग्यश्वरी हँुदै पछि बागेश्वरी भएको हो भनिन्छ । दुर्गा सप्तसतीको देब्याकवचको श्लोकमा ‘रोम कुपेषु कौवेरी त्वच बागेश्वरी तथाः’ भनी लेखिएबाट सतीको अङ्ग पतन बागेश्वरी मन्दिरको पूर्वतर्फ अवस्थित तलाउको बीच भागमा अवस्थित खडेश्वर महादेवको मूर्तिलाई मन्दिरको पूर्वपट्टी प्रवेशद्वारको प्राङ्गणसँग करिब ५० मिटर लामो पुलले जोडिएको छ । वि.सं.२००६ सालमा कप्तान प्रकाश शमशेर जबराले स्थापना गरेको करिब अढाइ मिटर अग्लो महादेवको मूर्ति पश्चिम भागमा छ ।

मन्दिरको वरिपरि भैरव, काली, सिंह आदिका मूर्ति र मन्दिर पनि छन् । यहाँको नाग मन्दिरमा नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ । बागेश्वरी नेपालकै मुख्य धार्मिक स्थल हो । यो नेपालगन्जको बीचभागमा पर्दछ । यहाँ दुर्गा भवानीको प्रसिद्ध मन्दिर र आराध्यदेव महादेवको प्रतिमा छ । सती देवीको देहान्त भएपछि पीडामा रहेका महादेवले सती देवीको शव बोकेर भौँतारिएका बेला सती देवीका शरीरका अङ्ग पतन भएको धार्मिक मान्यता छ ।

त्यस बेला शव यात्राका क्रममा सती देवीको जिब्रो पतन भएको ठाउँमा कालान्तरमा बागेश्वरी मन्दिर स्थापना भएको इतिहास पाइन्छ । जनश्रुति अनुसार २ हजार वर्षअघि पशुपतिनाथबाट फर्केका तपस्वीहरू यहाँ राति बास बसेका थिए । बास बस्ने क्रममा सपनामा दर्शन दिएकी देवीले मेरो जिब्रो यहीँ पतन भएको हो भनेर खाल्डो देखाइन् । पछि हेर्दा त्यहाँ रहेको शक्तिपीठ तपस्वीहरूले फेला पारेपछि यहाँ मन्दिर बनाए ।

सबैको फलिफाप हुने भन्दै स्थानीयवासीसँग मिलेर एक तपस्वीले मन्दिर निर्माण गरेको जनविश्वास छ । त्यतिमात्र होइन यस मन्दिर परिसरमा विवाह मण्डप, गणेशपुजन, रामजानकी मन्दिर, राधाकृष्ण मन्दिर सन्तोषी मातालगायत देवीदेवताको मूर्ति तथा सांस्कारिक स्थल रहेका छन् । साथै सानो पार्कसमेत छ । सो पार्कलाई धार्मिक स्थलको अवलोकन पछि विश्राम गर्ने स्थलको रूपमा विकसित गर्न सकिन्छ ।

बागेश्वरी शक्तिपीठको पूर्वोत्तर दिशामा एउटा यज्ञशाला रहेको छ । बागेश्वरी मन्दिरमा विशेष पूजा हुने दिनका अतिरिक्त दैनिकजसो हवन गरिने उक्त यज्ञशाला किन्नुराम बैश्यकी पत्नी केतारादेवी बैश्यले २०४५ साल आश्विन २५ गते रोज ३ मा निर्माण गरेको बताइन्छ । यसैगरी बागेश्वरी शक्तिपीठको पश्चिमी प्रवेशद्वार भएको सडकको पश्चिम किनारामा हनुमानको मन्दिर छ । मन्दिरभित्र सिमेन्टद्वारा निर्मित हनुमानको भव्य मूर्ति रहेको छ ।

दैनिकजसो भक्तजनहरू उक्त मन्दिरमा गई आर्शीवाद लिने र पूजा गर्ने गर्दछन् । यसैगरी बागेश्वरी तलाउको दक्षिण किनारामा दक्षिणा अभिमुख गराई हेमन्तकुमार पटवाको स्मृतिमा उनकी श्रीमती मायादेवी पटवाले २०४५ साल मार्गमा निर्माण गराएको राधाकृष्ण मन्दिरमा दैनिक भक्तजनहरूको घुइँचो नलागे पनि बेला बेलामा भजनकीर्तन हुने र कृष्ण जन्माष्टमीमा विशेष भीड लाग्ने गर्दछ ।

बागेश्वरी मन्दिरको प्राचीन स्वरुप

प्राचीन बागेश्वरी मन्दिर हालको स्वरुपमा थिएन । धार्मिक शक्तिले मान्यता पाएपछि जनश्रुति अनुसार यो ठाउँमा माटोले बनाइएको सानो मन्दिर थियो । उक्त मन्दिर एउटा गुफाजस्तै थियो । जमिन सतहदेखि ८ फिट तल पुगेपछि मात्र देवीको दर्शन गर्न मिल्दथ्यो । भनिन्छ, बन्द प्रदक्षिणा पथ रहेको उक्त मन्दिरमा प्रवेश गर्न ज्यादै डर लाग्दथ्यो । मन्दिरको प्रवेशद्वार पूर्वतिर थियो । जङ्गलमा पाइने काठ र खरद्धारा छाइएको उक्त मन्दिर घनघोर जङ्गलको बीचमा भएकोले पनि यो डर लाग्दो हुनु स्वाभाविकै हो ।

सन् १२६७ भाद्र सुदी ५ का दिन तत्कालीन भारत बलरामपुरका महाराजा दीर्घविजय सिंह अनेक ठाउँको शक्ति पीठहरूको दर्शन गर्ने क्रममा यहाँ पनि आएका थिए । यो क्षेत्र तत्कालीन समयमा बलरामपुर राज्यअन्तर्गत पर्दथ्यो । यिनको निर्देशनमा जनसाधारण, साधु, सन्त, महन्तको सहयोगमा पहिले बनेको प्राचीन मन्दिरलाई नयाँ स्वरुप दिइयो । खरले छाएको उक्त प्राचीन मन्दिरलाई सुर्की चुनाको छाना हाली एक तले बनाइयो । त्यस पछिका दिनहरूमा मन्दिरको पुनःनिर्माण र जीर्णोद्धारका कार्यहरू भई नै रहे ।

बागीश्वरी मन्दिरको वास्तुकला

हालको बागेश्वरी मन्दिर उत्कृष्ट कलाकृतिमा निर्माण भएको छ । पगौडा शैलीमा निर्मित तीन तले यो मन्दिर पशुपति नाथको मन्दिरको शैलीमा बनेको जस्तो देखिन्छ । मन्दिरको आधार तह वर्गाकार परिधिमा बनेको छ । चारै दिशामा ११ मिटर ९० सेन्टिमिटरको परिधिमा बनाइएको छ । आधार तहको चार दिशामा मन्दिर प्रवेशको लागि सिढिहरू बनाइएका छन । चारै दिशामा प्रवेशद्वारहरू बनाइए पनि पूर्व, उत्तर र दक्षिणको प्रवेशद्वारहरू खुला रहन्छन् भने पश्चिमको बन्द रहन्छ । सिढिको दायाँबायाँ धातुद्वारा निर्मित सिंहहरू स्थापित गरिएका छन् ।

जुन नेपालगन्ज १५ निवासी मथुराप्रसाद दबगरले निर्माण गराएका हुन् । मन्दिरको बाहिरपट्टि खुला प्रदक्षिणा पथ छ, जसको चारैतिर सिमेन्टद्वारा निर्मित २४ वटा गोला र ४ वटा चौकोण खम्बाहरू छन् । खुला प्रदक्षिणा पथको वरिपरि फलामे रेलिङ्गमा १०८ वटा फलामका पालाहरू बनाइएको छ । नवदुर्गा र अन्य यस्तै अवसरहरूमा यी पालाहरूमा बत्ती बाल्ने गरिन्छ । प्रदक्षिणा पथको चारैैतिर झुन्डाइएका ठूला–ठूला घण्टहरू भक्तजनहरूले मन्दिर प्रवेशको क्रममा बजाउने गर्दछन् । मन्दिरको दोश्रो तह जुन २५ मिटर वर्गाकार परिधिमा बनाइएको छ ।

यस मन्दिरमा चारवटा प्रवेशद्वारहरू बनाइएका छन् । प्रायः देवीको मन्दिरमा एउटामात्र प्रवेशद्वार हुन्छ । सूर्यको प्रकाश कम आउने ठाउँमा देवीको दर्शन गरिन्छ । यहाँ चार प्रवेशद्वार बनाउनुमा तत्कालीन मन्दिर निर्माताहरू मन्दिर निर्माण कार्यमा अनभिज्ञ रहेको, केवल धार्मिक विश्वास राख्ने भएकाले यस प्रकारको बनाइएको हुनुपर्छ । मन्दिरको छानाहरूलाई अड्याउन कलात्मक टुँडालहरू बनाइएका छन् । दोश्रो र तेश्रो तलामा राखिएका आँखीझ्यालहरूले मन्दिरको शोभा बढाएका छन् । मन्दिरका दुईवटै छानाहरू धातुद्वारा निर्माण गरिएका छन् ।

मन्दिरको सबैभन्दा माथि पञ्चधातुद्धारा निर्मित कमलको फूलमाथि गजुर बनाइएको छ । मन्दिरको वरिपरि घण्टहरू झुण्डाइएका छन् । मन्दिरको पूर्वी प्रवेशद्धारको दायाँबायाँ नेपालको राष्ट्रिय झण्डा स्थापित गरिएको छ । मन्दिरभित्र बीचमा बागेश्वरी देवीको गर्भगृह छ त्यसमाथि बागेश्वरी देवीको प्रतिमा स्थापित गरिएको छ । मन्दिरभित्र र बाहिर भित्ताहरूमा खोपा बनाई विभिन्न देवीदेवताका मूर्तिहरू स्थापित गरिएका छन् । मन्दिरको ठीक अगाडि अग्नी गर्भ र नजिकै साधुसन्तको बसोवासका लागि धर्मशालाहरू बनाइएका छन् ।

हाल नयाँ स्वरूपमा रहेको बागेश्वरी मन्दिर । तस्वीर : गुगल

देवीप्रति धार्मिक विश्वास

बागेश्वरी देवीको धार्मिक विश्वास उक्त मन्दिर मा दिन दिनै श्रद्धाको साथ दर्शन गर्न आउने यात्रुहरूको संख्याबाट नै बुझ्न सकिन्छ । प्रत्येक शनिवार त्यहाँ कुनै जात्रा विशेष पर्वजस्तो हुन्छ । बिहानदेखि दर्शन गर्न आउनेहरूको लष्कर लागेको हुन्छ । त्यहाँ नेपालका विभिन्न भागहरूका साथै भारतको बहराइच, लखनउ, कानपुर, हरियाणा आदि ठाउँबाट तीर्थ यात्रुहरू आउँछन् । महाष्टमी र रामनवमीका दिन यहाँ हजारौं मानिसको भीड एकत्रित हुन्छ ।

देवीको दर्शन गर्न र भाकल पुजा गर्न आएका श्रद्धालुहरू सर्वप्रथम पोखरीमा स्नान गरी देवीको दर्शन गर्दछन् । सिद्ध हुन चाहने व्यक्तिहरूको केहि निश्चित धार्मिक क्रिया पुरा गरी अष्टमी र नवमीको दिन सुइरोले जिब्रो छेडी सुइरो साथ बागीश्वरी देवीको परिक्रमा गर्दछन् । कोही भने मन्दिरको बाहिरी गेट देखि हात खुट्टा दुवैले नटेकी घस्रिदै देवीको दर्शन गर्दछन । बागेश्वरीमाथि अटुट श्रद्धा र भक्ति भएका भक्तहरू फलामको सुईरोले जिब्रो छेड्दा पनि पीडा अनुभव गर्दैनन् ।

पुजारीहरूका अनुसार एक पटक एकजना भक्तले आफ्नो जिब्रो नै देवीलाई चढाएको थियो । आफ्नो औला काटी रगत चढाउने कार्य भने धेरैजसो भइरहने पुजारीहरू बताउँछन् । नवरात्रीको बेलामा ठुला–ठुुला विद्धानहरूद्धारा शतचण्डी महायज्ञ सम्पन्न गराउने गरिन्छ । चतुर्मासभर विभिन्न पुराण एंव चतुर्मास महात्म्यको पाठ प्रवचनको व्यवस्था गरिन्छ । बेला बेलामा अरु धर्मावलम्बीका मानिसहरू पनि बागेश्वरी देवीको प्रसाद गेट बाहिर लिने गर्छन् ।

मन्दिरप्रति आधुनिकताको प्रभाव

धार्मिक श्रद्धाका साथ मन्दिर जानु देवी देवताको दर्शन गर्नु मानवको आस्तिक परम्परा हो । तर आजभोली मन्दिर जाने फेसन बनेको छ । कतिपय मानिसहरू अरुको देखासिकी गरेर राम्रो कपडा र गहना–गुरिया प्रदर्शन गर्न मन्दिर जाने गर्दछन् । अझ शनिबारको दिन १५ देखि २० वर्षसम्मको केटा–केटीहरू धरै संख्यामा मन्दिर जाने गर्दछन् । यी मध्ये ५० प्रतिशत बढी धार्मिक आस्थाका लागि मात्र नभै अन्य कारणले पनि मन्दिर जाने गरेको पाइन्छ भने अधवैसे तथा बुढापाकाहरू भने बागेश्वरी देवीसँग आफ्नो मनोकांक्षा पूर्ण होस् भनि प्रार्थना गर्दछन् ।

नवदुर्गा, महाष्टमी र रामनवमीमा मानिसहरूको दर्शनको लागि भीड लाग्दछ । यहाँ धेरैको संख्यामा व्यापार गरी बसेका स्थानीयबासीहरू व्यापार फष्टाउनका लागि देवीदेवताको कृपा हुनुपर्ने विश्वास र मान्यताले पनि प्रायः बिहान बेलुका बागेश्वरी मातासँग आफ्नो व्यापार वृद्धि होस् भनि प्राथना गर्ने गर्छन् । वाक्यसिद्धि देवी बागेश्वरी माताले भक्तहरूको मनोकांक्षा पूर्ण गराउनुहुन्छ भन्ने विश्वासले पनि समाजमा राम्रै मान्यता पाएको छ । बेला बेलामा बच्चाहरूको छेवर, विवाह, ब्रतबन्ध गर्ने परम्पराले पनि आधुनिक समाजमा राम्रो स्थान ओगटेको छ ।

संसारकै पुरानो धार्मिक तथा आध्यात्मिक पर्यटन

धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र उनीहरू नै धार्मिक पर्यटनका मुख्य आधार पनि हुन् । धार्मिक पर्यटन एसिया अनि दक्षिण एसियाली देशहरूमा झनै महत्वपूर्ण छ । यसर्थमा कि यहाँ प्रशस्त मात्रामा धार्मिक तथा आध्यात्मिक पर्यटकका लागि इतिहास बोकेका धरोहर छन् । भारत वर्ष अनि नेपाल त संसारको प्राचीनतम् सनातन धर्म र यसको अभ्यासका लागि विश्वमै प्रख्यात रहिआएको छ ।

धार्मिक र आध्यात्मिक पर्यटन कतिपय सन्दर्भमा उस्तैउस्तै लागे पनि केही खास भेद छन् । आध्यात्मिकता धार्मिकताको परिस्कृत रूप हो । विश्व पर्यटन संगठनका अनुसार धार्मिक पर्यटन मूलतः सांस्कृतिक र छुट्टी मनाउने उद्देश्यले प्रेरित हुन्छ भने आध्यात्मिक पर्यटन बहुआयामिक हुन्छ, यो आंशिक या पूर्णरूपले धार्मिक विश्वास र उद्देश्यले आयोजित हुन्छ । यसर्थ धार्मिक पर्यटनलाई एक प्रकारको आध्यात्मिक पर्यटन मान्न सकिन्छ तर आध्यात्मिक पर्यटनलाई पूर्ण धार्मिक पर्यटनको उपमा दिनु आवश्यक छैन ।

यसैबीच, तीर्थयात्रा धार्मिक पर्यटनको सन्निकट रहेको मान्न सकिन्छ । नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटन विशेषत तीन प्रकारले भएको पाइन्छ । एक, तीर्थयात्रा जस्तै बागेश्वरी क्षेत्र, लुम्बिनी, स्वर्गद्वारी आदि । दुई, गुम्बा र बिहार भ्रमण तथा ध्यान योगा । र, तीन, ग्रामीण होमस्टे । यो क्रम बढ्दो छ । यदि सरोकारवालाहरू र नीति निर्माताहरू बेलैमा सचेत हुने हो भने राज्यको आम्दानीमा यसको हिस्सा बढ्दै जाने देखिन्छ । अर्कोतर्फ समयको विकास क्रमसँगै मानिसको चेतनामा पनि व्यापक फेरबदल भएको छ । विज्ञान र प्रविधिको अति विकासले मानिस थप यान्त्रिक भएका छन् ।

मानिस तथा समाज अत्यन्तै सापेक्षिक भएको प्रमाण आजका घटनाक्रमले देखाएका छन् । मानिस आफ्ना आवश्यकता परिपूर्तिका लागि प्रकृतिको दोहन गर्न कत्ति पनि डराएका देखिँदैन । फलतः पर्यावरणीय सन्तुलनमा खलल पुगेको छ । विश्वव्यापी महामारी, प्राकृतिक प्रकोप, वायु प्रदूषण, जलवायु परिवर्तन जस्ता दुष्परिणामका लागि मुख्यतः मानवीय गतिविधि जिम्मेवार छन् । यसै परिप्रेक्ष्यमा मानिसलाई आफ्नो मूल केन्द्रमार्फत प्रकृति, पर्यावरण, मानवीयता र विकासको खास महत्व जगाउन आध्यात्मिकता र धार्मिकताको भूमिका अहम् हुन्छ । यसका लागि धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रको संरक्षण र संवद्र्धन आवश्यक छ ।

बढ्दो सामाजिक र राजनीतिक चेतले मानिसलाई स्वावलम्बी त बनाएको छ नै, अर्कोतर्फ सामाजिक वैमनश्यता र असहिष्णु पनि बनाएको छ । मानिस अनुदार हुँदै गएको छ । यसप्रकार पौराणिक मूल्य मान्यता, सांस्कृतिक सम्पदा, धार्मिक समभाव हराउँदै गएको गएको प्रतीत हुन्छ । इतिहासको गरिमा बोकेका कलाकृति लोप हुँदै गएका छन् । पुरातात्विक महत्वका कतिपय धरोहर लोप भइसके । केही संरक्षणको पर्खाइमा छन् । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएका कतिपय पुरात्वित्क महत्वका संरचना केही निर्माणाधीन छन् भने थुप्रै जीर्ण अवस्थामा गुज्रिरहेका छन् जुन राज्यको प्राथमिकतामा परेको देखिँदैन ।

विश्वमा रहेका हिन्दूहरू नेपालमा रहेका तीर्थस्थलहरुमा आउने गर्छन् । यसमध्ये भारतबाट धेरै नेपालमा धार्मिक पर्यटन आउने गर्छन् । भारतमा धेरै हिन्दू छन् । उनीहरूलाई नेपालको धार्मिक स्थलका बारेमा जानकारी दिएर नेपाले लाभ लिन सक्नुपर्छ । नेपालमा रहेका धार्मिक मठ, मन्दिर, तीर्थस्थलका बारेमा विश्वमै प्रचारप्रसार गर्नुपर्छ । यसका लागि पर्यटन बोर्ड, नेपाल सरकारजस्ता निकायले ध्यान दिनैपर्छ । विदेशी पर्यटक देशको संस्कृति र विभिन्न कलाले सुसज्जित मन्दिरहरु हेर्न आउँछन् । नेपाल मौलिक सांस्कृतिक आयाम स्थल हो । त्यसैले नेपालको पर्यटनको सम्भावना धार्मिक स्थल र मठमन्दिर हुन् भन्ने विषय सबैले मनन गर्न जरुरी छ । (यस आलेखमा समावेश गरिएका तथ्य तथ्यांकहरु विभिन्न खेल तथा पुस्तकहरुबाट सन्दर्भ सामाग्रीका रुपमा लिइएका छन् ।)

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार