भारतको सिमासँग सटेको लुम्बिनी प्रदेशको प्राचिन सहर नेपालगन्ज बाँके जिल्लाको उपमहानगरपालिका–८ स्थित रानीतलाउ जीर्ण रहेको अवस्थाथामा २०५६ तिर नौका विहार सञ्चालन गरिएको थियो । भारतको रूपैडिया नजिक पर्ने नेपालगन्ज दुई देशबीचको व्यापारका सम्बन्धमा महत्वपूर्ण मानिन्छ । करिव १० वÞटा तत्कालिन गाविसहरूलाई समायोजन गरेर बनाएको नेपालगन्ज उपमहानगरपालिका बनाइएको हो । मुस्लिम, मधेसी, दलित, थारू, कुमाल, मगर, नेवार, गुरूङ्ग, लामा, भोटे, शेर्पा, क्षेत्री, ब्रहामण लगायतका जातीहरूको मिश्रित बसोबास भएको प्राचिन सहर हो, नेपालगन्ज ।
नेपालगन्ज आसपासको एरिया र यहाँ भएको प्रसिद्ध रानीतलाउलाई लिएर साहित्यकार कल्पना खरेलले एउटा आर्को उपन्यासको रूपमा विसं. २०७९ मा ‘रानीतलाउ’ लेखेकी छन् । जसको सम्पादन रोशन दहालले गरेका छन् र मञ्जरी प्रकाशन गृहले प्रकाशन गरेको छ । अशोक खनालले सुन्दर आवरणमा सजाएका छन् भने मुद्रक दिदीबहिनी प्रिन्टिङ्ग प्रेसले गरेको छ । एक हजार प्रति पहिलो संस्करणको मूल्य ३७५ छ । यसको भूमिका डा.दामोदर पुडासैनी ‘किशोर’ले मिहिन तरिकाबाट लेखेका छन् । चितपरिचित लेखिका किरण आचार्याको पनि शुभकामना लेख छ, अन्तिममा लेखिका खरेलको धन्यवाद लेख रहेको छ ।
नेपालगन्जको बारेमा मध्यपश्चिम स्रष्टा नेपालगन्जले ‘सद्भावको सहर नेपालगन्ज’ नामक पुस्तक प्रकाशन गरेको थियो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सन् १८६१ तिर अंग्रेजबाट जङ्गबहादुरले फिर्ता पाएको भूभाग मध्यको हो । त्यसैकारणले पनि नेपालगन्ज क्षेत्रमा छिमेकी मूलुकबाट भाषा संस्कृति रहन सहनको प्रभाव पर्नु स्वभाविक हो । यस कृतिमा हिन्दी भाषा पनि ठाउँठाउमा प्रयोग भएको छ । ४२ भाग रहेको उपन्यास २८८ पृष्ठको छ । यसमा मुख्य पात्र, रेखा (म), बब्लु, पिङ्की, लतिफ र उनीहरूको बाआमा, अनि सहायक बुधनी, रञ्जन्, प्रशान्त, चाँदनी लगायतका छन् ।
यहाँ गरिब, धनी र जातिय आधारमा भएका बिभेदहरूको बारेमा गहन प्रश्नहरू र त्यसको समाधान पनि खोज्ने सक्दो प्रयास गरिएको छ । अन्तरजातिय प्रेमलाई समाजले हेर्ने दृष्टिकोण र अन्तरजातिय प्रेमपछि प्रेमिल मनहरूले खेप्नुपर्ने पिडाहरूलाई कथाले जीवन्त बनाएको छ । कथा सुरूसुरूमा केटीहरूको शारीरिक अवस्था र उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण त्यसबाट पर्ने मानसिक प्रभावलाई मिहिन ढङ्गबाट उठान गरिएको छ । कथा बस्तुको छनौट गहन र सान्दर्भीक छ । आजको पुरूषप्रधान समाजमा यसरी निडर भएर लेखिका कल्पना खरेलले सबै सामाजिक जालोलाई च्यात्ने आँट गरेकी छन् ।
यस अर्थमा लेखिका धन्यवादकी पात्रा हुन् भन्न सकिन्छ । मैले व्यक्तिगत रूपमा चिनेको त छैन, तर लेखिकालाई एकपटक भेटेको मात्र हो । त्यही भेटमा उनले यो ‘रानीतलाउ’ उपन्यास दिएकी हुन् । जसलाई आधा पढेर बिचमै छाडेको थिएँ, अहिले केही दिन लगाएर यो पुस्तक दुई पटक पढे । यति पढिसकेपछि पनि यो छोटो लेखमा समिक्षा लेख लेख्नु भनेको दुष्साहस हो । त्यो दुष्साहस गर्ने आँट गरिन मात्र एउटा पाठकीय प्रतिक्रिया भए पनि लेख्न मन लाग्यो । अब मेरो यो पाठकीय लेखले लेखक र कृतिप्रति कत्तिको न्याय गर्न सक्छु, त्यसबारे म केही भन्न सक्ने अवस्थामा छैन । म भाषिक रूपमा आफैं कमजोर छु भन्न पनि चाहेँ ।
रेखा सँगसँगै पाठशाला जाने चाँदनीको कथा अत्यन्तै मार्मिक छ, जसले पाठकलाई भावुक मात्र बनाउँदैन लज्जित पनि गर्दछ । एउटी १३ वर्षिय केटी जसको भविष्य नै जातिय परम्पराको बली चढ्न पुग्छ । उ अचानक स्कुल आउन छाडेपछि रेखा जब उसको पत्ता गर्न उसका घरमा पुग्छे र उसैको मुखारबिन्दुबाट जो कथा सुन्छे त्यो हरेक व्यक्तिको लागि अपच छ, पीडादायक र सर्मीन्दा बनाउने खालको छ । आजको समाजमा पनि जातीय आधारमा गरिने देह व्यापारले संसार बनाइदिन्छ । रेडलाइट एरियामा भएका यस्ता घटनाहरूलाई कथाले कुनाकुनामा रहेका यस्ता कुसंस्कार, गलत परम्परा र संस्कृतिको भण्डाफोर गरेको छ ।
यो कथाले ठुलो मुद्दाको रूपमा समाजमा हलचल मच्चाइदिने खालको छ । कथामा अर्को अहम् घटना लतिफ पनि स्कुल आउन छाड्यो । उसको कारण मुस्लिम सुमदायभित्रको सन्तानसँग सम्बन्धीत छ । इस्लाम धर्म उनीहरूको कानुन जसले बालबच्चाहरू जन्मिनु अल्लाहको देन भनेर रोक्नुलाई पाप सम्झिन्छन् । जब रेखा उसका घरमा पुग्छे लतिफ भाईबहिनीहरूलाई पाल्न पढाई छाडेर कलिलै उमेरमा रिक्सा चालाउन थालेको हुन्छ । उसको बाउले माटाका भाडा बनाए पनि त्यो बिक्री हुन छाडेको प्रसङ्ग पनि सान्दर्भीक छ । गरिबी झन् झाँगियो अनि ९–१० भाईबहिनी कसरी पाल्ने ? यहाँ गम्भीर प्रश्नको उठान भएको छ ।
अहिले लतिफलाई जसरीतसरी सम्झाएर परिक्षा दिन रेखाले लगाउँछे । बीचबीचमा ‘म पात्र’ रेखाले सामाजिक काम गरेको प्रत्यक्ष देखिन्छ । रानीतलाउ एउटा संसार नै बनेको छ । नेपालगन्जको गर्मी लामखुट्टे र खुल्लामा पाइखाना जाने स–साना तर अहम मुद्दाहरूलाई कथाले उठाएको छ । पिङ्की, लतिफ, बल्लु, रेखा एउटै ग्रुपमा ट्यूसन पढ्न थाल्छन् । बिहानैको सिफ्टमा उनीहरूको १० कक्षाको पढाइका लागि मिहिनेत गर्नुपर्ने हुँदा सबै चिन्तित छन् । किशोरावस्थामा प्रवेश गरेसँगै शारीरिक र मानसिक रूपमा पनि केही फरक हुनु स्वभाविक हो । उनीहरूको सहयात्रा र चिसो मौसमले पनि उनीहरूलाई झन् नजिक तान्दै गयो ।
ट्यूसनको अर्को ग्रुपमा बुद्नी, सायदा, रोशन र आतिक पनि छन् । उनीहरू छुट्टै समयमा जान्छन् । उनीहरूमध्ये पिङ्की र लतिफहरूको बीचमा एक वर्षमै प्रेम गाढा हुँदै गयो । उनीहरूलाई देखेर बब्लु र रेखाको पनि प्रेम बस्यो । कथामा भनिएको छ ‘प्रेमको लत भनेको ड्रग्सको लतभन्दा पनि गाढा हुन्छ ।’ वास्तबमा प्रेमले जातभात, धनी, गरिब, रूपरङ्ग यी सबै देख्दैन । घाटा नाफाको आधारमा प्रेम गरिँदैन । उनीहरूको बीचमा अब प्रेम प्रगाढ हुँदैछ । अब उनीहरू एसएलसीमा उत्कृष्ट नम्बर ल्याएर अब्बल भएपछि रानीतलाउबासीहरू महेन्द्र बहुमुखी कलेजमा भर्ना हुन्छन् । उनीहरू त्यहाँ गएपछि नयाँ साथीहरूसँग भेटघाट हुन्छ ।
रूप र ट्यालेन्ट छ भने त्यसले छिट्टै अरूलाई आकर्षित गर्छ । उनीहरूलाई देखेर नयाँ साथीहरू रञ्जनले पिङ्कीलाई मन पराउन थाल्छ । प्रशान्तले पनि रेखालाई मन पराउन थालेको छ । यतिधेरै अहमता त्यो बेला प्रकट हुन्छ, जब उनीहरू टीकापुर भ्रमणमा गएका हुन्छन् । फर्किने कर्ममा बसमा नाचगान चलेको बेला लतिफ र रञ्जनबीच मारामार नै हुन्छ । एउटी पिङ्कीलाई लतिफ र रञ्जनले मन पराउनुकै कारण यहाँ लडाइको कारण बनेको छ । कथाले एकहोरो प्रेम पनि अत्यन्तै खतरनाक हुन्छ भन्ने देखाएको छ । साथै मधेशीहरूले पहाडीहरूलाई हेर्ने दृष्टिकोण पनि उजगार गरेको देखिन्छ ।
साथै त्यो वेला कलेजहरूमा नेविसङ्घको बहुल्यता भएको ठाउँमा उनीहरूले गरेको दादागिरी पनि कथाले प्रष्टसँग देखाएको छ । यसबाट पनि प्रष्ट हुन्छ स्वयम् रञ्जनका बाबाले विवाहपछि केटाहरूमा सुधार हुनसक्छ भन्ने आशा गरेका छन् । रञ्जनका बाबा र पिङ्कीका बाबा प्रकाश र विष्णु पञ्चायतकालका काँग्रेसका भूमिगत नेताहरू मध्येका हुन् । उनीहरूले प्रजातन्त्र ल्याउन ठुलो संघर्ष गरेका थिए । उनीहरू दुवैजनाले आ–आफ्ना छोराछोरीको विवाह गर्ने समझ्दारी गर्छन् । तर पिङ्कीलाई एक आखर सोध्न पनि उचित सम्झिँदैनन् । पिङ्कीको भविष्यको कुनै चासो नभएजस्तो पुरूष प्रधान समाजको यो कथाले भण्डाफोर गर्न सफल भएको देखिन्छ ।
साथै छोरीहरू कतिको कम्जोर मानसिकताका हुन्छन् भन्नेबारे पनि कथाले प्रष्टाएको छ ।यहा पिङ्कीले उनीहरूका कुरा सुनेकी छ, रोएकी छ, तर लुकेर उसले बिरोध गर्न अगाडि सर्न सकिन । पछि उसले साथी रेखालाई भने सबै कुरा सुनाउँछे । एकातिर रञ्जनले आफ्नो र पिङ्कीको विवाहको बारेमा कलेजमा व्यापक प्रचार गर्दैछ । उतै लतिफ डाहले मुरमुराएको छ । उनीहरूबीच फेरि रामलिला मैदानमा फाइट हुन्छ । यहाँ रञ्जनको गुण्डागर्दीले सिमा नाघेको देखाइएको छ । अहिलेको लडाई पहाडी र मधेशीबीचको युद्ध बन्न पुगेको छ । जसरी भए पनि पिङ्कीलाई प्राप्त गर्ने रञ्जनको योजना छ ।
प्रजातन्त्र आएको प्रथम वार्षिकोत्सव सात फागुन २०४७ पुरा हुन्छ । यही दिन बिष्णुकै घरमा प्रकाश र निरञ्जन बाबा छोरा र अरू दुईजना आइपुग्छन् । यहाँ जनै सुपारी गरेर विवाह पक्का गर्ने सल्लाह हुन्छ । अहिले पनि पिङ्कीलाई सोधेनन् । जसले समाजको दृष्टिमा छोरीको हैसियतका बारेमा प्रष्ट देखाएको छ । २५ फागुनमै विवाह गर्न टुङ्गो लगाए, तर पनि पिङ्कीलाई सोधेनन् । रेखाले लतिफको पत्र पिङ्कीलाई दिन्छे उसले जसरी भए पनि घर बसाउने भन्छ । रेखाले दिएको साथ सहयोग र सपोटले पिङ्कीको हिम्मत बढ्छ । उनीहरू भागी बिवाह गर्छन् र भारततिर लाग्छन् । यहाँ मागी बिवाह सम्भव पनि छैन् ।
आजको समाज जात, धर्मको नाममै विभाजित छ, धनी गरिबको असमानता उस्तै छ । उनीहरूले भाग्नु नै उचित देख्छन् । तर त्यहाँ पनि ठुलो सङ्कटको सामना गर्नुपरेको पिङ्कीले रेखासँग बताउँछे । रञ्जनले धन र गुण्डागर्दीको बलमा पिङ्कीको माया पाउन खोजेको थियो, त्यो असफल भयो । उसले आफ्नो भविष्य नै नारकीय बनायो । नसाको लतमा आफ्नो भविष्य नारकीय बनायो । उसको एकहोरो प्रेम सार्थक हुने कुरा पनि थिएन । धेरै खोजतलासपछि रञ्जनले हार्यो । यहाँ कथाले प्रेम धन र बलबाट प्राप्त गर्न सकिँदैन भनेर कुरा प्रष्ट पारिएको छ । रञ्नले लतिफको घर घरेर आन्दोलननै गर्छ ।
जसले नेपालगन्जमा हिन्दु मुसलमानबीच दङ्गानै फैलिन्छ । मारकाट हुन्छ र सरकारले कफ्र्यू लगाउनुपर्छ । पछि सबै राजनैतिक प्रमुखको मिटिङ बसेर सम्झौता गरेको कथामा उल्लेख छ । यो घटना चिरपरिचित वास्तविक लाग्छ । विष्णु गौतम एउटा प्रतिष्ठित व्यक्ति हुन् । उनैको छोरी एउटा गरिब रिक्सावाला मुस्लिमले भगाएपछि उनी आफैं पनि मृत्युतुल्य भएका छन् । उनले समयमै छोरीलाई सोधेर यस्तो घटनाबाट जोगिन सक्थे, तर त्यो बेला वुद्धिविवेक पलाएन । बिस्तारै माहोल सामान्य हुँदै जान्छ । फेरी सबै जातजाती मिलेर होली पर्व मनाउँछन् । पिङ्कीको यो घटनाले रेखाको परिवारमा सङ्कालु बनाई दिन्छ । उनीहरूले केटा खोज्छन् ।
रेखाको आमा साबित्रीको माइतीतर्फबाट फौजीको प्रस्ताव आउँछ । यहाँ रेखाले हिम्मत देखाउँछे । उसले साफ मना गर्छे फौजीसँग विवाह गर्न । आफुले बब्लुलाई मन पराएको कुरा पनि आफ्नो बाबालाई भन्छे । एउटा कुमाल परिवारको रिक्सावाला हो । वास्तवमा यहा लक्ष्मीप्रसाद देवकोटाले भनेको जस्तै ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।’ तर त्यो शब्द सबैलाई पाच्य हुँदैन । अब कथाले फेरि लतिफ र पिङ्कीको जस्तै मोड लिन लिन खोजेको छ । तर यहाँ भाग्ने सोंच आएन । रेखाको बाबाको सोंच सकारत्मक भएकोले त्यो दुर्घटना घट्छ । तर आमा साबित्री पुरानै बिचारधाराकी छन् । उनलाई सम्झाउन अलि समय लाग्छ ।
तर बाबाको सकारात्मक सोंचले उनीहरूबीच बिवाह हुने निश्चित पनि हुन्छ, तयारी पनि हुन्छ । त्यही बेला रेखाको हजुर आमाको अचानक मृत्युले विवाह रोकिन्छ । अर्को वर्षको होली पर्वमा पिङ्की र लतिफ घर फर्किन्छन् । यहाँ होली पर्वलाई पनि ठाउँठाउँमा वर्णन गरिएको छ । मधेशीहरूले होलीलाई बढी महत्व दिने भएर पनि हुन सक्छ । उनीहरूको एउटी एक वर्षकी काखमा छोरी छ । जसले बिस्तारै बाजेबज्यैलाई पनि आफुतिर आकर्षित गर्न थाल्छे । तर त्यही बेला पिङ्कीको आमालाई हर्ट अट्याक हुन्छ । अनि यो काममा लतिफको परिवारले रगत दिएर उनको प्राण जोगाइदिन्छन् । यहाँ जुनसुकै जातको पनि रगत एउटै हुन्छ भन्नेबारे राम्रो सन्देशमूलक उदाहरण कथाले दिएको छ ।
नातिनाको जन्मदिनमा विष्णुले सुनका बाला कल्ली मात्र होइन घडेरी र छोरीलाई आधा जमिन समेत दिन्छन्, बकसपत्र गर्छन् । यसरी उनीहरू लतिफहरू बराबरका हुन्छन् अब यहाँ धनी गरिबको उपटखपट रहेन । जातीय बिभेद नातेदारहरूले गरिरहेका छन् । यो छिट्टै हट्नेवाला पनि छैन । यसरी लतिफ र पिङ्कीको प्रेम सार्थक भएको देखाइएको छ । कथामा अर्को मोड आयो जब रेखाको प्रेमी बब्लुले जापान जाने कुरा सुनायो । उनीहरूको बिछोड असहनिय थियो । तर पनि दुई वर्षको लागि हो भनेर आ–आफ्नो मन तिमाले । ऊ विदेश गयो पत्र व्यवहार भयो । समय बित्दै गयो, बब्लुले प्रसस्तै धन सम्पत्ति कमायो ।
त्यो देखेर रेखाको आमाले पनि बब्लुको बारेमा सकारत्मक सोंच बनाइन् । यहाँ पैसालाई मानिसले कत्तिको महत्व दिन्छ भन्नेबारे प्रष्ट हुन्छ । एकदिन बब्लुको सन्देश आयो छिट्टै घर फर्केर विवाह गर्ने र साथै रेखालाई सँगै लिएर जाने बिचारको पत्रले ऊ अत्यन्तै खुसी थिई । २५ गते बब्लु आउने ऊ बाटो कुरेकी थिई । आठ वर्षपछि उनीहरूको मिलन हुँदै थियो । तर त्यहिबेला अर्को सन्देश आयो बब्लुलाई हर्ट अट्याक भयो । उसको डेथ बडी राजधानी आइपुगेको समाचारले रेखालाई गहिरो झट्का लाग्यो । आठ वर्षसम्मको प्रेमको मृत्युले उसलाई कस्तो भयो होला यसबारेमा अड्कल गर्न गाह्रो छ ।
यो कथाले प्रवासी जीवनको बारेमा पनि गहन प्रकाश पारेको छ । अन्तमा म के भन्न चाहन्छु भने, यो एउटा किताब सामाजिक र प्राकृतिक घटनाक्रमसँगै मानव जीवनको एउटा सिङ्गो जीवित दस्तावेज हो । जीवन र समाजलाई तमाम कुनाबाट चिहाएको छ । यो सानो पाठकीय लेखमा कथाका केस्राहरू कोर्न सकिँदैन । सबै बुँदाहरूको बारेमा छुट्टाछुट्टै ब्याख्या गरौं । त्यसो गर्दा यो किताबभन्दा पनि ठुलो यसको समिक्षा हुने अड्कल काडेर संक्षिप्तमा उपरोक्त बिचार व्यक्त गरेको छु । उपन्यासकार कल्पना खरेलको कृतिको सफलतासँगै अरु यस्तै कृतिहरू पनि पढ्न पाऊ भन्दै मैले पाठकीय लेखको बीट मार्ने अनुमति चाहें ।
सत्यपाटी