बाँकेका राप्ती तटीय क्षेत्रका गाउँहरुमा विगतका समयमा बाढी बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको राप्तीसोनारी गाउँपालिका–७, प्रिपहवाकी फूलमती आर्याको स्मृतिमा ताजै छ । आर्या वर्षा सुरु भएपछि रातभरि असजिलो महसुस गर्थिन् । बाढीले घर बगाउने डरले उनको निन्द्रा हराउँथ्यो ।
केही समयमै गाउँहरु बाढी पसेर बस्ती जलमग्न हुन्थे । दुई वर्षअघि गाउँपालिकाले स्थापना गरेको साइरन प्रणालीले अब उनी ढुक्कसाथ सुत्न पाएकी छन् । ‘राती साइरनको चर्को आवाज सुनेपछि परिवारका सबैजना निद्राबाट ब्युँझिन्छौं,’ उनले विगतका घटना सम्झिँदै भनिन्, ‘हस्याङ्फस्याङ गर्दै सुरक्षित स्थलतर्फ पुगेर ज्यान बचाउँछौं ।’
साइरन बजेपछि तत्काल सुरक्षित स्थानमा जाने गरेको उनले बताइन् । प्रिपहवाकै अनारकला धोबीले पनि सम्भावित बाढीको चेतावनीका लागि तयारी अवस्थामा एउटा झोला राखेकी छन्, जसमा नागरिकता, शैक्षिक प्रमाणपत्र, र लालपूर्जाजस्ता महत्वपूर्ण कागजात छन् । साइरनको सूचना पाएपछि उनी त्यो झोला बोकेर अग्लो स्थानमा दौडिन्छिन् ।
स्थानीय अगुवा फारुक अलीका अनुसार साइरन प्रणालीले समयमै सूचना दिँदा जोखिम न्यून गर्न सजिलो भएको छ । ‘हामीले चेतावनी पाएपछि अग्लो ठाउँमा जान पाउँछौं, यसले राहत मिलेको छ,’ उनले भनिन् । राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले साइरन प्रणाली जडान भएपछि डुवानको असर कम हुँदै गएको बताए ।
उनका अनुसार पूर्वसूचना प्रणालीले वडाबासीलाई सम्भावित क्षतिबाट जोगिन प्रभावकारी भूमिका खेलेको छ । तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन राप्ती तटी क्षेत्रका नागरिकका लागि बरदान सावित भएको छ ।
राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्ने दर्जनौं गाउँहरुमा राप्ती नदीमा पानीको सतह बढ्ना साथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिरहन्छन् । बर्सेनि बाढीले आतङ्क मच्चाउने राप्ती तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको वडाध्यक्ष थारु बताउँछन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित जलमापन केन्द्रमा बर्षासँगै नदीको बहाव बढ्न थालेपछि जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छ । त्यही एसएमएसका आधारमा राप्ती तटीय क्षेत्रका गाउँहरुमा साइरन बजाउने गरिएको छ ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति रुपन ज्ञवालीका अनुसार पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रो पटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ । करिब ३० मिनेटमा तीन पटक साइरन बजिसक्दा बस्ती छाडिसक्नुपर्छ ।
स्रोत व्यक्ति ज्ञवालीले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिए । साइरन जडानपछि राप्ती नदीको बहाव बढेर ‘खतराको तह’भन्दा माथि पुगेपछि त्यसको सूचना तटीय क्षेत्रका नागरिकले समयमै पाउँदा ज्यान जोगिएको छ । राप्तीमा पानीको सतह ५ दशमलव ४ मिटरलाई खतरा मानिन्छ ।
नरैनापुर गाउँपालिका–५ का ३५ वर्षीय विष्णु यादवले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताए । साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेको उनको भनाइ छ । ‘साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ,’ उनले भने । राप्ती नदीको सतह पाँच मिटर पुग्यो भने खतरा मानिन्छ ।
राप्ती नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्यो भने नदी वरपरका आधा दर्जन गाउँहरु डुबानमा पर्ने सम्भावना रहन्छ । ‘कुसुमस्थित जल मापन केन्द्रबाट राप्ती नदीको बाढी तटीय क्षेत्र होलिया पुग्न करिब पाँच घन्टा लाग्छ,’ स्रोत व्यक्ति ज्ञवालीले भने, ‘त्यसको सूचना दिन गाउँमा साइरन बजेपछि धेरैको ज्यान जोगिएको छ ।’
कुसुमस्थित राप्ती नदीमा बाढीमापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाले बाढीको जोखिममा रहेका राप्ती किनारका नागरिकलाई बाढीको पूर्वसूचना दिने गरेको बताए । उनले बाढी आउँदैछ भन्ने जानकारी पाँच घन्टाअघि नै प्रभावित क्षेत्रका बासिन्दा र सुरक्षा निकायलाई दिने व्यवस्था भएपछि ठूलो धनजनको क्षति हुनबाट जोगिएको बताए ।
सत्यपाटी संवाददाता । बाँके