सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा विजुलीको सास्ती

‘नेपालगन्जमा बत्ती काटेको काट्यै, खोई दीर्घकालिन समाधान ?’

‘यो कटौती होइन, ट्रान्सफर्मरले अटोकट गर्ने गरेको छ । गर्मी भएर लोड बढेका बेला यस्तो हुने गरेको हो ।’

नेपालगन्जमा विद्युत कटौतीको पीडा धेरै छ । ‘बेलाबेला झ्याप्पै बत्ती गइदिन्छ । कति बेला आउँछ थाहा हुन्न । न जाने थाहा हुन्छ न आउने ।’ नेपालगन्जमा पछिल्ला केही दिनयता गर्मी पनि बढी महसुस भइरहेको छ । बादल लागे पनि पानी नपर्दा उम्सोपन बढेको छ । यहीबेला विद्युत् कटौतीले नागरिकहरु हैरान भएका छन् ।

नेपालगन्ज–१९ भुजईगाउँका राममति यादव भन्छिन्, ‘बत्ती काटेको काट्यै हुन्छ । यहाँको विजुली कहिल्यै सुध्रिएन ।’ यादवको गुनासोजस्तै नेपालगन्जमा विद्युत समस्याले अहिलेसम्म दिर्घकालीन समाधान पाएको छैन । कुनैबेला विद्युत आपूर्ति कम भएर विद्युत कटौती हुने नेपालगन्जमा अहिले विद्युत पर्याप्त भएर पनि कटौती भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले भने विद्युत् आपूर्तिको समस्या नरहेको बताउँदै आएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले विद्युत् कटौतीको मारमा सर्वसाधारणजस्तै उद्योगीहरु पनि परेको बताए । उनी भन्छन् ‘१० मिनेटपछि बत्ती आउँछ । आएको पाँच मिनेट पनि टिक्दैन । किन यस्तो भइरहेको छ जानकारी पनि पाइएको छैन ।’ नेपालगन्जमा दिनदिनै विद्युत् अनियमित हुँदा उद्योगीहरुले लोडसेडिङ हुँदाको भन्दा बढी समस्या भोग्नु परिरहेको धामीले बताए ।

‘उद्योगहरुका लागि क्वालिटी विद्युत् चाहिन्छ । यसरी समय–समयमा आउने जाने हुँदा सबभन्दा बढी उत्पादनको क्वालीटीमा असर पर्छ । त्यसपछि मेसिनमा खाराबी आउँछ,’ अध्यक्ष धामीले भने । कोही पनि उद्योगी र उपभोक्ता अनियमित विद्युतको मारबाट मुक्त छैनन् । सबैले यसबाट ठूलो घाटा व्यहोरिरहेका छन् । धामीले विद्युत् अनियमितको समस्याका विषयमा पटक–पटक गुनासो गरिए पनि समाधान हुन नसकेको बताए ।

ऐतिहासिक, औद्योगिक तथा व्यापरिक नगरी नेपालगन्जमा पटक–पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । औद्योगिक क्षेत्रका ग्राहकले विद्युत् नियमित पाउन सकिरहेका छैनन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले बाँकेका औद्योगिक क्षेत्रमा अहिले विद्युतको नियमित आपूर्ति हुन नसकेको बताए । नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसाय धरासायी भएको उनको भनाइ छ ।

‘अहिले पनि औद्योगिक क्षेत्रमा अघोषितरुपमा दैनिकरुपमा पटक–पटक गरी तीनदेखि चार घण्टा बिजुली कटौती भइरहेको छ,’ अध्यक्ष धामीले भने, ‘बरु लोडसेडिङ भनेर विद्युत् कटौती गरे कम्तीमा यति समयपछि आउँछ भनेर ढुक्क हुने अवस्था हुन्थ्यो ।’ उनले बाँकेका उद्योगहरुले बारम्बार विद्युत् कटौती हुने समस्या भोगिरहेको बताए । नेपालगन्जको बजार क्षेत्रमा अधिकांशले एसी र पङ्खा प्रयोग गरिरहेका छन् ।

‘अर्कोतर्फ विद्युतीय सवारीसाधन पनि चार्जिङ गर्ने भएकाले घरासयी बिजुलीको खपत बढिरहेको छ । तर, माग अनुसार विद्युत् आपूर्ति गर्ने वितरण प्रणालीको विकास नगर्दा विद्युत् कटौती हुने समस्या व्याप्त छ,’ उनले भने, ‘अहिले विद्युत् प्राधिकरणमा राम्रोसँग लोड व्यवस्थापन गर्न नसक्दा लोडसेडिङ हुने समस्या कायम छ ।’ अत्यधिक गर्मीका बेला पटक–पटक हुने लोडसेडिङले सर्वसाधारणको दिनचर्या अस्तव्यस्त बनेको छ ।

नेपालगन्ज लगायत बाँके जिल्लामा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेको बागेश्वरी असल शासन क्लवको टोली ।

वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरे पनि यहाँका घरायसी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका हुन् । नेपालगन्ज उपमहानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् । नेपालगन्ज जस्तो अत्यधिक गर्मी हुने ठाउँमा पटक–पटक लोडसेडिङ हुँदा बाफिएर बस्नुपरेको छ ।

उनले भने, ‘प्राधिकरणले कुनै ठाउँमा नियमित बिजुली दिने कतै नदिने समस्या छ ।’ नेपालगन्जमा विद्युत कटौती नभएको दिनै हुँदैन । यहाँ नियमित पानी नपर्दा गर्मी बढ्दो छ । गर्मीकै कारण नेपालगन्ज उपमहानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन । नेपालगन्ज–४ गणेशपुर निवासी दीपक हमालले गर्मीयाममा छिनछिनमा विद्युत कटौती हुने समस्याले हैरानी खेप्नु परेको गुनासो गरे ।

नेपालगन्जसहित बाँके जिल्लाभरि विद्युत् आपूर्तिका समस्यालाई मध्यनजर गर्दै विभिन्न संघसंगठनले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराउँदै आएका छन् । विद्युत अनियमितताविरुद्ध शुक्रबार मात्रै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमै पुगेर बागेश्वरी असल शासन क्लव (बास नेपाल)को टोलीले ज्ञापन–पत्र बुझाउँदै विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेको थियो ।

विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । सर्वसाधारणको घरमा मात्रै होइन, बाँकेका औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ । यस विषयमा थप जानकारी लिन खोज्दा नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमूखसँग सम्पर्क हुन सकेन । यद्यपी नाम उल्लेख नगर्ने शर्तमा एक जना कर्मचारीले भने, ‘यो कटौती होइन, ट्रान्सफर्मरले अटोकट गर्ने गरेको छ । गर्मी भएर लोड बढेका बेलामात्रै यस्तो हुने गरेको हो ।’

नेपालगन्जमा विद्युत कटौती हुनुमा प्राविधिक कारण नै मुख्य हो । नियतवश विद्युत आपूर्तिमा बाधा गरिएको होइन यो प्राविधिक कारण नै हो ।’ केही दिनयता बढ्दो गर्मीले सास्ती खेप्दै आएका बाँकेका बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन् आक्रोशमा छन् । ‘नेपालगन्ज क्षेत्रमा गर्मी बढेकाले विद्युतको लोड समय अनुसार फरक–फरक हुँदा त्यसलाई ब्यवस्थापन गर्दा कट भएको समस्या देखिएको हो,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार कतिपय स्थानमा आफैं र कतिपय स्थानमा कर्मचारीले ट्रान्सफर्मर चार्ज गर्नका लागि विद्युत कटौती गरेका हुन्छन् । नेपालगन्ज वितरण केन्द्रले भने ‘भोल्टेज डाउन’ भए पनि करेन्ट बढेकाले समस्या आएको बताएको छ । ‘माग बमोजिम सप्लाई दिन सक्ने वातावरण नभएकाले कुनै न कुनै स्थानमा कटौती गर्नुपर्ने बाध्यता छ,’ ती कर्मचारी भन्छन्, ‘बेला–बेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मर लगायतमा हुने आगजनीका कारण मर्मत सम्भार गर्न विद्युत् कटौती गर्नुपरेको छ ।’

विद्युत अनियमित र अत्यधिक भोल्टेजका कारण नेपालगन्जका नागरिकको थुप्रै विद्युतीय उपकरणहरु ध्वस्त भएको गुनासो समेत आएको छ । गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिले चर्चा लिएपनि दीर्घकालीन निकास हुन सकेको छैन । विद्युत् कटौती भएका स्थानमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर काम गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘अहिले अधिकांश तराई क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या छ ।’

स्रोतका अनुसार नेपालगन्ज आसपासमा अत्यधिक गर्मी बढेसँगै विद्युतको माग बढ्दा सोहीअनुरूप पूर्वाधार नहुँदा आपूर्तिमा केही असहज र समस्या भएको छ । स्रोतले भन्यो, ‘गर्मी बढेसँगै यस क्षेत्रमा विद्युतको लोड ह्वातै बढेको छ । लोड बढेको अवस्थामा कुनै ठाउँमा आगलागी हुन्छ । कुनै ठाउँमा तार जल्ने गर्छ । सो ठाउँमा मर्मत सम्भारका लागि केही समय लाग्ने गर्छ ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार १६:५५