सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली डेभलपमेन्ट बैँक रकम हिनामिना प्रकरण

राजेन्द्रवीर : सल्यानमा राई, नेपालगन्जमा राय, लखनउमा पुगेर गुप्ता

राजेन्द्रवीर सल्यानको राई परिवारमा हुर्किए । नेपालगन्ज बस्न थालेपछि राईबाट उनी राय भए । नागरिकता पनि राय कै थर राखेर बनाएको भेटिएको छ ।

कर्णाली डेभलपमेन्ट बैँकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय अहिले नेपालगन्जमा प्रहरीको हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का डीएसपी दानबहादुर थापा नेतृत्वको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि डीएसपीको टोलीलाई नेपालगन्जमा पठाइएको सीआइबीका प्रवक्ता (एसपी) युवराज खड्काले बताए । राय सल्यानका स्थानीय हुन् ।

उनी २०७९ मा भएको प्रतिनिधिसभाको चुनावमा नेकपा (एमाले) बाट चुनाव लडेका थिए । नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालासँग पराजित उनले १४ हजार मत ल्याएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । बिचमा उनी तमलोपामा पनि गए । राजेन्द्रवीर सल्यानको राई परिवारमा हुर्किए । नेपालगन्ज बस्न थालेपछि राईबाट उनी राय भए । नागरिकता पनि राय कै थर राखेर बनाएको भेटिएको छ ।

अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘म सल्यानको राई हुँ ।’ २०६० साल माघ २२ मा कर्णाली डेभलपमेन्ट बैँकले राष्ट्र बैँकबाट आर्थिक कारोबार गर्ने इजाजत लिएको थियो । फागुन ६ गतेदेखि बैँकले कारोबार सुरु गरे देखिनै राजेन्द्रवीर सो बैँकको हर्ताकर्ता भए । संस्थापक अध्यक्ष र सीइओको रूपमा उनले हालीमुहाली गरिरहे । रायसहितको समूह मिलेर २६० करोड रुपैयाँ घोटाला गरेका प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

सीआइबीका एआइजी चन्द्रकुवेर खापुङले भने, ‘२६० करोडभन्दा धेरै घोटाला भएको देखिन्छ ।’ २०८१ पुस १० मा बैँक समस्याग्रस्त घोषित भयो । उनलाई २०६९ मा राष्ट्र बैँकले व्यवस्थापनबाट हटाएको थियो । तर, पछि कागजात मिलाएर फेरि बैँकमा इन्ट्री गरेर हालिमुहाली गरिरहे । कर्णाली डेभलपमेन्ट बैँकको कार्यक्षेत्र बाँके, बर्दिया र दाङ जिल्ला मात्रै हो । २०८१ पुस ११ बाट राष्ट्र बैँकको टेकओभर गरेसँगै राय फरार भए ।

२०८१ माघ ६ मा उनीविरुद्ध बैँकिङ कसुर तथा सजाय ऐन–२०६४ अनुसारको कसुरमा सीआइबीमा जाहेरी दर्ता भएको थियो । आफूविरुद्ध अनुसन्धान सुरु भएपछि उनी भागेर भारत पुगे । लुकेर नेपाल र भारत आउजाउ गरिरहने राय पछिल्लो समय लखनउमा अपार्टमेन्टमा बस्ने गरेको भेटिएको छ । पत्नीलाई पनि उनले लखनउमै लगेर राखे । भारतमा बस्दा राजेन्द्रवीर रायको पहिचान लुकाए ।

सीआइबीका एक जना उच्च अधिकृतका अनुसार उनले अभयचन्द्र गुप्ताको नामबाट रासन कार्ड बनाएको भेटिएको छ । ती अधिकृत भन्छन्, ‘चिकित्सकसँग समय लिँदा पनि गुप्ताकै नामबाट भेटेर चेकजाँच गराएको देखिन्छ ।’ पछिल्लो समय उनी बैँकको सञ्चालक समितिको अध्यक्ष भएर काम गरिरहेका थिए ।

२०७० बाट अपचलन

कर्णाली डेभलपमेन्ट बैँकमा खाता सञ्चालकहरूको ४ अर्ब ९० करोडभन्दा धेरै बचत रकम जोखिममा परेको छ । सो रकममध्ये २६० करोड राय समूहले अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अपचलनमा उनीसहित अरू ७ जना संलग्न देखिएका छन् । उनीहरूले २०७० बाट अपचलन सुरु गरेको भेटिएको छ । बैँकमा दिनभर जम्मा भएको रकम साँझ रायले घरमा लगेर राख्ने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

साबुन र नुडल्स फ्याक्ट्री खडा गरेर उनीहरूले लगानी गर्ने गरेका थिए । बैँकको बचत रकम जग्गा कारोबारमा आफैँले लगानी गरेर राय सहितको समूहले अपचलन गरेका हुन् । चेक क्लियरिङमा नक्कली डिपोजिट देखाएर अपचलन गरेको अनुसन्धानबाट थाहा भएको छ । सेयर जारी गरेर बैँकमा रकम इन्ट्री नदेखाउने र सो रकम आफ्नै नामबाट भुक्तानी गरेर उनीहरूले बैँकलाई नोक्सान गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १३:५६