२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

पूर्वी नेपालमा भारी वर्षा, कोशीका धेरै सडक बाढीले बगायो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ १७ गते शनिबार

मनसुन शुरू भएसँगै पूर्वी नेपालसहित देशका धेरै ठाउँमा हाल वर्षा भैरहेको छ । काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भैरहेको छ । अझै कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ । भारी वर्षा हुन थालेपछि कोशी राजमार्ग अन्तर्गत धेरै ठाउँका सडक बन्द भएका छन् । वर्षाका कारण बाढी, पहिरो र रुख ढलेर राजमार्ग ठाउँठाउँमा विच्छेद भएको प्रहरीले जनाएको छ ।

कोशी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले १०० मिटरभन्दा बढी सडक बगाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । सडक बगाएपछि दुवैतर्फ गाडी चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत धरानबाट भेडेटार जाने सडकमा वर्षाका कारण रुख ढल्दा यातायात अवरुद्ध भएको छ ।

यसैगरी, वर्षासँगको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । वैकल्पिक बाटोबाट यातायात खुलाउने प्रयास भैरहेको प्रहरीको भनाइ छ । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माइखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन शुरू भएसँगै गएराति माइखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्ती लगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । ‘माइखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,’ अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार निरन्तर वर्षाका कारण इलामको मेची, झापाको विरिङ, निन्दा, कनकाई, मोरङको चिसाङ खोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, सुनसरीको बुढी खोला लगायत साना नदी तथा खोलाहरूमा बाढी सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ । ती क्षेत्र वरपरका बासिन्दालाई विशेष सावधानी अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार