बाँके जिल्लाको बिग्रँदो ट्राफिक समस्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नेपालगन्ज र कोहलपुरका विभिन्न चोकमा लाखौं रकम खर्चेर ‘ट्राफिक बुथ’ अर्थात् ‘ट्राफिक आइल्यान्ड’ निर्माण गरिए । ‘ट्राफिक आइल्यान्ड’ निर्माण गर्नु सराहनीय छ । तर निर्माण गरिएका ‘ट्राफिक आइल्यान्ड’मा ट्राफिक प्रहरी नै नभेटिनु भने गम्भीर लाहपर्वाही हो । लाखौं खर्च गरी बनाइएका ‘ट्राफिक आइल्यान्ड’ प्रयोग नहुँदा काम नलाग्ने अवस्थामा पुगेका छन् ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन भन्दै नेपालगन्ज र कोहलपुरमा निर्माण गरिएका ‘ट्राफिक आइल्यान्ड’ अलपत्र पर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ‘ट्राफिक आइल्यान्ड’मा न त ट्राफिक प्रहरी राखेको छ, न त ट्राफिक व्यवस्थापनबारे चिन्ता नै छ । नेपालगन्ज र कोहलपुरका विभिन्न स्थानमा निर्माण गरिएका ‘ट्राफिक आइल्यान्ड’ प्रयोगविहीन छन् भने कतै थोत्रा कपडा टाँगिएको देखिन्छ । लाखौं रकम खर्चेर निर्माण गरिएका ‘ट्राफिक आइल्यान्ड’ प्रयोगविहीन हुनु दुःखको कुरा मात्रै होइन लज्जास्पद पनि हो ।
नेपालगन्ज, कोहलपुर र खजुराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जेब्राक्रसिङ्गमै साइकलदेखि मोटरसाइकल र गाडी पार्किङ गर्दासमेत ट्राफिक प्रहरीलाई वास्ता छैन । जेब्राक्रस र बीच सडकमै सवारी साधन पार्किङ गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । नजिकै भएका ड्युटीमै रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी मुकदर्शक भएर हेर्ने गरेका छन् । जेब्राक्रसिङमा रोकिएका सवारी साधनलाई सचेत बनाउने र ट्राफिक नियमको पालना गराउनेतर्फ ट्राफिकको ध्यान जान सकेको छैन ।
चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त भई सडक जाम हुने गरेका छन् । सडक फराकिलोसँगै सवारी पार्किङलाई पनि ब्यवस्थित गर्नुपर्ने सर्वसाधारणको माग छ । नेपालगन्ज र कोहलपुरका अधिकांश सडक फराकिलोसँगै कालोपत्रे भए पनि जथाभावी पार्किङ गर्दा पहिलेको जस्तै साँघुरो लाग्ने गरेको छ । सडक फराकिलो भएर मात्र के गर्ने ? जथाभावी पार्किङ गर्दा सवारी साधन चलाउन मुस्किल पर्छ । तर, फराकिलो सडकको फाइदा उठाउँदै ब्यापारी तथा किनमेल गर्ने सर्वसाधारणले सडकलाई पार्किङस्थल बनाएका छन् ।

बाँकेमा ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गराउनेतर्फ चासो नदेखाउँदा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको जानकारहरु बताउँछन् । ट्राफिक प्रहरी राजस्व संकलनको बहानामा ‘मापसे चेकिङ’का नाममा असुलीको पासो थाप्दै असुलीमै केन्द्रीत भएपछि बाँकेमा सवारी दुर्घटना बढिरहेको सम्बद्धहरु बताउँछन् । बाँकेमा चेकिङका नाममा ट्राफिक प्रहरीको असुली तीव्र बनेको छ । साँझ परेपछि जुन साधनबाट पैसा झर्छ, त्यही साधनलाई मात्र ट्राफिक प्रहरीले रोक्छ ।
अनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि ५००–१००० रुपैयाँसम्म रकम असुली हुन्छ । धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो दिनप्रतिदिन बढ्न थालेको छ । सवारी चालकहरुका अनुसार ट्राफिक प्रहरीले फाइन काट्ने भन्दै १०० देखि ५०० रुपैयाँसम्म माग्ने गरेको छ । उनीहरु भन्छन्, ‘हामीले दिएको रकमको बिल र अरु कुनै प्रमाण हुँदैन ।’
यदी पैसा छैन भने बार्गेनिङ गर्ने गरेको गुनासाहरु आउने गरेका छन् । फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्लाका ‘हाकिम’लाई पैसा बुझाउने गरेको स्रोत बताउँछ । जमुनाहा, नेपालगन्ज, हाइस्कुल (कोहलपुर), फुलटेक्रा, धनौली, सम्शेरगन्ज, चिसापानी, मदनचोक, सम्झना लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले पैसा असुली गर्ने कार्यले गर्दा सवारी चालकले हैरानी खेप्नुपरेको छ । सबै कागजात बोकेर चलेका सवारी साधनबाट रकम असुलीको मनसाय बनाएर दुःख दिनकै लागि रोक्न खोजिन्छ ।
ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि बाँकेमा ट्राफिक व्यवस्थापन भद्रगोल छ । सवारी दुर्घटना न्यूनीकरण हुनुको साटो दिनप्रतिदिन बढिरहेका छन् । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा भन्दा रकम असुलीमा असुलीका केन्द्रीत भइरहेको छ । बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरी रकम असुलीमा सक्रिय छ । सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, कुसुम, नेपालगन्ज, चिसापानी, फुलटेक्रा लगायतका स्थानमा ट्राफिक प्रहरी सवारीसाधन कुरेर बस्ने गरेका छन् ।
‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गर्छ । दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा पर्छ । दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि पछिल्लो समयमा बाँकेका मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ । बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ ।

दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको छ । त्यसो त अत्यन्त भीडभाड हुने नेपालगन्ज, कोहलपुर र खजुरा बजारका सडक जति गाडीले कि त सडक व्यापारीले ओगटेका छन् । मान्छे हिँड्ने बाटो नै छैन । पैदलयात्रु हिँड्ने ठाउँसम्म नहुँदा सडकमा हिँडडुल गर्न डर लाग्ने अवस्था छ । पैदल हिँड्दा असुरक्षित महसुस हुन्छ । कुन बेला के हुने हो पत्तै छैन । मुख्य बजार क्षेत्रमै पैदलयात्रु हिँड्ने सडक छैन ।
साघुरा र अस्तव्यस्त सडकको बाँकी बचेको भागमा पार्किङ र सडक व्यापारीले ओेगेटेका छन् । नेपालगन्ज–कोहलपुर सडक चारलेनको भइसक्यो । भित्री सडक पनि फराकिला भइसके । सवारी साधनको उस्तै वृद्धि भइरहेको छ । जिल्लामा कति सवारी गुड्छन् भन्ने आँकलन गर्न मुस्किल छ । साना सवारीको चाप अत्यधिकरुपमा बढिरहेको छ । दिनहुँ हुने दुर्घटनामा सर्वसाधारण र पैदलयात्रुको संख्या धेरै छ । जिल्लाका तीन ठूला बजार क्षेत्रमा सवारीको चाप उच्च हुँदै गएको छ ।
नेपालगन्ज, कोहलपुर र खजुरा बजार दिनहुँ व्यस्त बन्दै गएका छन् । मनपरी सडक व्यापार र अव्यस्थित पार्किङले सडकका आधा हिस्सा ओगेटेका छन् । सवारी साधनको सख्ंया बढिरहेको अवस्था छ । बढ्दो सवारी साधनको चापले सडकमा यात्रा गर्न मुस्किल मात्रै बनेको छैन, जोखिमपूर्ण बन्दै गएको छ । यी सबैको मारमा सर्वसाधारण र पैदलयात्रु बढी छन् । पैदलयात्रु दुर्घटनाका हिसाबले उत्तिकै असुरिक्षत छन् । जिल्लामा भएका दुर्घटनालाई केलाउँदा के देखिन्छ भने सडकमा सवारी साधन गुडाउने चालक र सर्वसाधारण मात्रै हैन, पैदलयात्रु पनि उत्तिकै असुरक्षित छन् ।
ट्राफिक प्रहरी असुलीतिरै व्यस्थ हुँदा यहाँका प्रमूख बजारहरुको ट्राफिक व्यवस्थापनले ट्राफिक प्रहरीलाई नै गिज्याइरहेको छ । नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रका विभिन्न चोक, सडक र गल्लीमा मनपर्दी सवारी साधन हुँइकिने र पार्किङ हुने गरेको छ । नेपालगन्ज शहरमा मनपर्दी बाटो नाँघ्ने, जेब्राक्रसिङ्गमा सवारीसाधन रोक्ने, अस्तव्यस्त अटो र इरिक्सा, सडकभरी छाडा पशुचौपाया, फुटपाथ अतिक्रमण र निर्माण सामाग्रीसँग पसलका सामान राखिनुले यहाँको ट्राफिक व्यवस्थापन रिस उठ्दो र घिनलाग्दो छ ।
सडकको स्तरोन्नति नहुनु, बढ्दो बजारीकरण, सवारी साधनको चाप र अव्यस्थित बजार र पार्किङ अर्काे कारण हो । बजार ठूलो हुँदैछ तर सडकको अवस्था उस्तै छ । साघुरा र जीर्ण छन् । चालक र सडक प्रयोगकर्ताको लापरवाही पनि दुर्घटनाका प्रमुख कारक हुन् । चालक र पैदलयात्रु दुबै दोषी देखिन्छन् । तीब्र गतिमा गाडी गुडाउने चालक र जथाभावी सडकमा हिड्ने र बाटो काट्ने पैदलयात्रु । दुर्घटनाको जोखिमलाई ध्यानमा नराखी सवारी नियम उल्लंघन गरी सडक प्रयोग गर्ने चालक र पैदलयात्रु दुबै दोषी छन् ।
सत्यपाटी