२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

कृषि पेसाबाट लोभलाग्दो आम्दानी गर्दै बैजनाथका राजेन्द्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ वैशाख २९ गते सोमबार

नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको मन जितेका छन् । बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका ३८ वर्षीय राजेन्द्रले देशमै बसेर कृषि पेसाबाट उदाहरणीय सफलता हासिल गरेका हुन् ।

सुरुमा दुई कट्ठा जमिनबाट तरकारी खेती सुरु गरेका थारूले अहिले आफ्नै गाउँमा तीन बिघा जमिनमा तरकारी खेती विस्तार गरेका छन् । सिजन अनुसार उनले च्याउ खेतीलाई पनि प्राथमिकता दिएका छन् । च्याउ खेतीमा थारूले बनाएको टहरामा ५०० डल्ला च्याउ उत्पादन हुने गरेको छ । सो च्याउ प्रतिकिलो २०० रुपैयाँका दरले बिक्री भइरहेको छ ।

थारूले तरकारी खेतीमा सिमी, करेला, टमाटर, र काउली उत्पादन गरिरहेको जनाउँदै यसबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनले आफ्नो कृषि व्यवसायबाट तीन जनालाई रोजगारी दिएको जनाउँदै आफ्नो उत्पादन आफै बिक्री गर्न बजारसम्म जानुपर्ने बाध्यता भए पनि यसलाई निरन्तरता दिइरहेको बताए ।

थारुले कृषि कर्ममा आफूले धेरै मिहिनेत गरे पनि सरकारी सहयोग नपाएको गुनासो गरे । बैजनाथ गाउँपालिकाले च्याउको बिउ उपलब्ध गराएको भए पनि च्याउ खेतीलाई प्राथमिकता दिँदै बजेट विनियोजन नगरेको उनको गुनासो छ । उत्पादनदेखि बिक्रीसम्मको सम्पूर्ण प्रक्रिया उनी आफैँले व्यवस्थापन गर्नु परिरहेकोले पनि मिहिनेत धेरै गर्नुपरेको थारूले दुखेसो गरे ।

बैजनाथका राजेन्द्रजस्ता प्रेरणादायक कृषकहरूको सङ्ख्या बढाउन सरकारले प्रभावकारी कार्यक्रम र योजना बनाएर कृषिमा लाग्नेलाई सहयोग गर्नुपर्ने बाँके डुडुवाको हिरमिनियाका किसान मोहन मौर्यको माग छ । उनले यसका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, कृषि क्षेत्रमा लगानी गर्न चाहने युवालाई सहज ऋणको पहुँच दिनुपर्ने बताए ।

साथै उनले प्राविधिक तालिमको व्यवस्था लगायत कृषि प्रविधिको प्रयोग बढाउन किसानलाई आवश्यक अन्य तालिम र सल्लाह दिनु आवश्यक रहेको पनि बताए । बैजनाथका कृषक थारूले देखाएको बाटो नेपालका अन्य युवाहरूका लागि प्रेरणा बन्न सक्ने अधिकांश किसानको भनाइ छ । बाँके खजुराका किसान नरेश थापाले ठुलो रकम खर्च गरेर विदेश जानुको सट्टा स्वदेशमै लगानी गरेर मिहिनेत गरेमा कृषिमा धेरै राम्रो गर्न सकिने अवसरहरू रहेको बताए ।

प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार