सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल किनेर फर्किंदा दाजुभाइको मृत्यु

मोटरसाइकल किनेर घर फर्किरहेका दाजुभाइको सोही मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकै घरका दाजुभाइको ज्यान गएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वर दर्लामी छन् । देवचुलीको मुण्डेबाट मोटरसाइकल किनेर केहीबेर बजार घुमेपछि उनीहरु लोकाहा घर फर्कंदै थिए । त्यही क्रममा लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकमध्ये दाजु सागर रोजगारीको लागि भारतमा थिए । उनी एक महिनाअघि मात्रै बिदामा आएका थिए । बिदामा आएका उनले स्थानीय एक होटलमा काम सुरु गरिसकेका थिए भने भाइका लागि भनेर त्यसैदिन बिहान मोटरसाइकल किनिदिएका थिए । उनीहरुका बुबाको १० वर्षअघि नै मृत्यु भइसकेको थियो । दुवै भाइलाई आमाले हुर्काउने र पढाउने गरेकी थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतवार १६:१३