तपाईँ भान्सामा खाना तयार गर्दै हुनुहुन्छ र आलु खोज्न जाँदा टुसा उम्रेको मात्र पाउनु भयो भने के त्यो खानु ठिक हुन्छ ? वा त्यसलाई फ्याँक्नुपर्छ ? यो एक सामान्य दुबिधा भए पनि के गर्ने भन्ने बारेमा मिश्रित धारणा पाइन्छ । जब आलु, प्याज र लसुनजस्ता टुसाउन थालेका तरकारीहरूको कुरा आउँछ, तिनलाई के गर्ने भन्ने सीधा जबाफ पाइन्न ।
आलु टुसाउँदा के हुन्छ ?
आलु टुसाउँदा धेरै मात्रामा ग्लाइकोअल्कलोइड्स भन्ने यौगिक उत्पादन हुन थाल्छ । यो प्राकृतिक विष हो र त्यसले बिरुवालाई ढुसी र किराबाट बचाउँछ । तीमध्ये एकलाई सोलानिन भनिन्छ र त्यो आलु, गोलभेडा, भ्यान्टा र खुर्सानीमा पाइन्छ । यो यौगिक उच्च तहमा भएको खानेकुरा मानिस र जनावरका लागि खतरापूर्ण हुन सक्छ ।
‘टुसाएको आलुको सबैभन्दा ठूलो खतरा भनेको यसमा उत्पादन हुने ग्लाइकोअल्कलोइड हो, जसका कारण आलुको स्वाद धेरै तीतो बन्न जान्छ र धेरैजसो यसले अन्य गम्भीर कुराभन्दा पनि सधैँजसो बान्ता गराउँछ,’ लिङ्कन विश्वविद्यालयमा पोस्टहार्भेस्ट टेक्नोलोजीका रिडर तथा पोटेटो पोस्टहार्भेस्टका लेखक डा.क्रिस बिशप भन्छन् ।
‘आलु हरियो रङ्गको भयो भने यसमा प्राकृतिक रसायन रहेको सामान्यतः प्रष्ट हुन्छ । त्यसैले हामीले हरियो आलु खानुहुँदैन,’ डा.बिशपले भने, ‘अङ्कुरमा यी रसायनहरूको मात्रा बढी हुन सक्छ, त्यसैले त्यसलाई पूर्ण रूपमा हटाउनु पर्छ । यदि सन्देह लागेमा भने आलुका त्यस्ता भाग हटाउनुहोस् जहाँ अङ्कुरको ‘जरा’ छ । मेरो विचारमा बाँकी भाग खान योग्य छ ।’
त्यसैगरी यूकेको खाद्य नियामक निकाय (एफएसए)का अनुसार यदि केही उपाय अपनाइए अङ्कुरित आलु सुरक्षित रूपमा खान सकिन्छ । ‘अङ्कुर हटाएपछि यदि आलु अझै गलेको छैन, कुहिने कुनै सङ्केत छैन भने त्यसलाई सुरक्षित रूपमा उपभोग गर्न सकिन्छ,’ एफएसएको सुझाव छ, ‘तर यदि आलुमा ‘हरियो रङ्ग’ विकास भएको छ भने यसलाई नखाँदा नै राम्रो हुन्छ । हरियो भागहरूले विषाक्त पदार्थहरू रहेको सङ्केत गर्छ ।’
‘समात्दा दह्रो भए र निकै चाउरी परेको वा सुकेको छैन र अङ्कुर साना छन् भने टुसाएको आलु सामान्यतः खान सुरक्षित हुन्छ । यद्यपि धेरै नरम, चाउरी परेको वा सुकेको छ भने त्यस्तो आलुले पोषक तत्त्वहरू गुमाएको हुन सक्छ र त्यो धेरै स्वादिष्ट हुँदैन,’ सो निकायले भनेको छ ।
सोलानिन विषाक्तता
केही विज्ञहरूले यस विषयमा थप सावधानी अपनाउन आग्रह गर्छन् । ‘तपाईँले साँच्चै नै हरियो रङ्गको र अङ्कुरित आलु खानुहुँदैन,’ युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाकी वनस्पति विज्ञानका प्राध्यापक क्याथी मार्टिनको चेतावनी छ, ‘त्योे किनभने प्रकाशको सम्पर्कले (जसले अङ्कुरित हुन सघाउँछ) स्टेरोइडल ग्लाइकोअल्कालोइड, सोलानिनको उत्पादनलाई तीव्र रूपमा बढाउँछ जुन मानिस र जनावरहरू र त्यसमा पनि बिरालो र कुकुरहरूका लागि विषाक्त हुन्छ ।’
हरियो नहुने आलुमा सोलानिनको तह कम हुन्छ । तर सोलानिन ‘पोइजनिङ’को खतराको कारणले काँचो आलु (कहिल्यै) खानुहुँदैन । प्राध्यापक मार्टिन थप्छिन्, ‘यो तुलनात्मक रूपमा दुर्लभ छ तर पनि सोलानिन ‘पोइजनिङ’ पनि हुने गरेको पाइन्छ ।’ थाहा पाइएका व्यापक घटनाहरूमध्ये एक सन् १९७० को दशकको अन्त्यतिर ब्रिटेनमा भएको थियो । त्यसबेला ७८ जना स्कुले विद्यार्थीहरूलाई हरियो आलु खाएपछि अस्पतालमा भर्ना गर्नुपरेको थियो ।
नगन्य मात्रामा खाँदा तपाईँलाई कुनै पनि प्रतिकूल प्रभाव पर्ने सम्भावना छैन । मध्यम खालका सोलानिन ’पोइजनिङ’ का लक्षणमा पखाला, बान्ता र गम्भीर पेट दुखाइ हुने गर्छन् । निकै गम्भीर अवस्थामा सोलानिन ‘पोइजनिङ’ले निद्रा लाग्ने, उदास बनाउने, भ्रमित पार्ने, कमजोरी र दृष्टिमा गडबडी निम्त्याउन सक्छ । त्यसपछि बेहोस हुने र कतिपय अवस्थामा मृत्यु भएका पनि विवरण छन् । विषाक्त आलु खाएको केही मिनेटदेखि दुई दिनसम्म यस्ता लक्षणहरू देखा पर्छन् ।
टुसाएका आलुबारे केही व्यवहारिक सल्लाह
- यदि टुसाएका आलु साना छन् भने पकाउनुअघि काट्नुहोस् ।
- यदि टुसाएको आलु लामो (एक इन्चभन्दा बढी) छ भने वा त्यो नरम छ भने आलु फ्याँक्नुहोस् ।
- सधैँ हरिया भागहरू काट्नुहोस्, यसले विषाक्त पदार्थहरू भएको सङ्केत गर्छ ।
- यदि आलुमा कुहिने वा ढुसी लाग्ने जस्ता सङ्केत छ भने यसलाई फ्याँक्नु राम्रो हुन्छ ।
यदि तपाईँ टुसाएको आलु बीउको रूपमा रोप्दै हुनुहुन्छ भने विचार गरेर प्रयोग गर्नुहोस्, टुसाएका आलु काट्दा घाउ लाग्न सक्छ र त्यसबाटै शरीरमा रोग छिर्न सक्छ । यदि तपाईँ गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्ति वा साना बच्चाहरूलाई दूध खुवाउँदै गरेको व्यक्ति हुनुहुन्छ भने सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित उपाय हो ।
आलु कसरी राम्रोसँग भण्डारण गर्ने
- खेर जान नदिन आफ्ना आलुलाई लामो समयसम्म ताजा राख्नका लागि यसो गर्नुहोस्
- तिनलाई चिसो (३–१० डिग्री सेल्सियस), सुक्खा र दराज वा अँध्यारो ठाउँमा राख्नुहोस् ।
- भण्डारण गर्नुअघि आलुलाई नधुनुहोस्, ओसिलोपनले त्यसलाई कुहाउन सक्छ ।
- प्याज र आलु टाढा टाढा राख्नुहोस्, दुवैले ओसिलोपन र ग्यासहरू छाड्ने हुँदा छिटो टुसाउन मद्दत गर्छ ।
टुसाएका प्याज र लसुन खान के हुन्छ ?
टुसाएका प्याज र लसुनका कुरा भिन्न हुन् । ‘आलुभन्दा फरक टुसाएका प्याज र लसुन सामान्यतः खान सुरक्षित हुन्छन् । किनकि त्यसमा विषाक्तताको जोखिम उस्तो हुँदैनन्,’ प्राध्यापक मार्टिन भन्छिन् । ‘तिनका अङ्कुर बल्बमा भण्डारण गरिएको पोषक तत्त्वबाट उम्रन्छ । यद्यपि त्यसको स्वाद बढी तितो हुन सक्छ र नरम बनावट हुन सक्छ ।’
विज्ञहरूले प्याज र लसुनलाई चिसो, अँध्यारो, सुक्खा ठाउँमा (३–१० डिग्री सेल्सिअस) भण्डारण गर्न सुझाउँछन् । तिनलाई बाँधिएको प्लास्टिकको झोलामा भण्डारण नगर्नुहोस्; हावा आउजाउ गर्नका लागि जाली वा कागजको झोला प्रयोग गर्नुहोस् । आलुका हकमा जस्तै ढुसी, गिलो वा दुर्गन्धको सङ्केत देखाउने कुनै पनि प्याज वा लसुन सधैँ फ्याँक्नुहोस् ।
सत्यपाटी संवाददाता । काठमाडौं