कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन् ।
सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उनमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुपर्ने बाध्यता हट्ने आशा छ ।
‘त्यसबेला सडक, बिजुली बत्ती केही थिएन, जङ्गली जनावर र भारतीय लुटेराको डर हुन्थ्यो,’ उनले विगत सम्झिँदै भने, ‘यसरी घर छेउमै सुक्खा बन्दरगाह निर्माण होला भनेर सोच्न पनि सकेका थिएनौँ ।’ दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि रुख कटानको काम सुरु भएको छ ।
बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको गड्डाचौकीबाट सुक्खा बन्दरगाह निर्माणस्थलसम्म छ लेनको सडक बनेको छ । छोरा महाकाली चार लेन पुल निर्माण कम्पनीको टिपर चलाउँथे । पुलको काम सम्पन्न भएपछि अहिले घरमै बेरोजगार छन् ।
बन्दरगाह निर्माण सुरु भएपछि छोराले पुनः घर नजिकै रोजगारी पाउने आशा उनको छ । ‘बन्दरगाह बनेपछि घर नजिकै हामीले पनि रोजगारी पाउने आशा गरेका छौँ’, उनले भने, ‘धेरै पहिलादेखि बन्छबन्छ भन्थे अहिले बन्दरगाह निर्माणका लागि रुख कटान गर्न थालेपछि यहाँका स्थानीयमा रोजगारी पाउने आशा जागेको छ ।’
उनले महाकाली नदीमा पुल र चाँदनीसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँको मुहार परिवर्तन भएको बताए । सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा चाँदनीको स्वरूप परिवर्तन भएको छ । ‘विगतमा महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो,’ चाँदनीका स्थानीय नीरज भट्टले भने, ‘पक्की पुल र सुक्खा बन्दरगाह बन्ने भएपछि आवतजावतमा सहज त भयो नै जग्गाको मूल्यवृद्धि र रोजगारीको बाटा खुलेका छन् ।’
दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको बताउँदै सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा रहेको उनको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर