दाङको घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुईटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उनले बताए । चौधरीले पोहोर मात्रै दुई लाखको घाँसको बीउ बिक्री गरेको जानकारी दिए ।
यो वर्ष पनि प्रसस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरिन् । ‘बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ,’ उनले भने । उनका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पालेका छन् । उनले भने, ‘१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन् ।’ घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिए ।
‘वर्षातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्,’ उनले भने । गएको वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यो वर्ष एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताए ।
घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उनले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ