सूचनाको शक्ति - The Power Of Information

        

सिञ्जाका २४ सय घरको बीमा गरिँदै

जुम्लाको सिञ्जा गाउँपालिकाले दुई हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि उनीहरुको घरको बीमा गर्न लागिएको हो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार ४०० घरको बीमा गर्न लागिएको जानकारी दिए । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्ड अनुसार छनोटमा परेको उनले बताए ।

अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रूपैयाँको बीमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बीमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागु भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरी लगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख रूपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ११:५३

लोकप्रिय