सूचनाको शक्ति - The Power Of Information

        

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइनको डीपीआर अन्तिम चरणमा

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढेको छ । पाइपलाइन पूर्वाधार र अत्याधुनिक ग्रिनफिल्ड टर्मिनल पूर्वाधार बनाउन नेपाल आयल निगमले जग्गा अधिग्रहण सुरु गरेको छ । पहिलो चरणमा निगमले राप्ती नगरपालिका–१ स्थित लोथरमा पाइपलाइन पूर्वाधार तथा ग्रिनफिल्ड टर्मिन बनाउन प्रक्रिया अघि बढाएको हो ।

निगमले पहिलो चरणमा जग्गा अधिग्रहणको काम सुरु भएको जनाएको छ । जग्गा धनीहरूलाई १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दिन निगमले भनेको छ । नेपाल र भारतबीच सरकारबीच (जीटूजी) सम्झौता र आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच भएको बिजनेस टु बिजनेस (बीटूबी) सम्झौताअनुसार पेट्रोलियम पाइपलाइन पूर्वाधारको काम अघि बढेको हो ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनको काम सकिएपछि दोस्रो चरणमा चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगन्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने दोस्रो पेट्रोलियम पाइपलाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएको छ ।

विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । इन्डियन आयलको प्राविधिक टिमले अब एक महिनाभित्र डीपीआरको काम सक्ने उनले सुनाए । डीपीआर तयारपछि पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको काम सुरु हुने उनले जानकारी दिए । अमलेखगन्ज लोथर पेट्रोलियम पूर्वाधार बनाउन १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

जसमध्ये नौ अर्ब रुपैयाँ तेल भण्डारण बनाउन र बाँकी तीन अर्ब रुपैयाँ पाइपलाइन पूर्वाधार बनाउन खर्च हुने कार्यकारी निर्देशक भट्टले जानकारी दिए । काम सुरु भएको तीन वर्षभित्र पाइपलाइन र स्टोरेजको काम सकिने उनको भनाइ छ । पाइपलाइनबाट डिजेल, पेट्रोलका साथै हवाइ इन्धन पनि ल्याइने भएको छ । यसैगरी, इन्डियन आयलको लगानीमा झापाको चारआलीदेखि भारतको सिलगुढीसम्म पेट्रोलियम पाइपलाइन डीपीआर तयार पारिसकेको छ ।

यो परियोजनामा भारतको दश अर्ब रुपैयाँ लगानी हुने कार्यकारी निर्देशक भट्टले जानकारी दिए । अमलेखगन्जबाट लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने छैन । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएसँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात भइसकेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार ०९:४४

लोकप्रिय