पाँच अमृतमध्ये दही एक ‘अमृत’ मानिन्छ । हिन्दू संस्कार अनुसार कुनै शुभकार्यमा जानुपर्यो भने दही खुवाउने चलन छ । दसैंमा चामल र दही मुछेर टीका लगाउने चलन छ । दही नेपाली हिन्दू संस्कृतिको अभिन्न अंग मानिन्छ । नेपालमा भक्तपुरको जुजु धौको स्वादका बारेमा नजान्ने कोही छैनन् होला । अहिले विभिन्न रेडियो, पत्रपत्रिका, टीभीमा पेट ठिक पार्न ‘ल्याक्टो ब्यासीलाई’ खानुस् अनि बट्टामा राखेको झोल पदार्थ कलाकारले खाएर ठिक भएको प्रचार गरिन्छ ।
तर पेट ठिक पार्न, खाना पचाउन दही–मोहीको सेवन उत्तम हुन्छ किनभने यसैमा छ, ‘ल्याक्टो ब्यासीलाई’ । उमेर बढ्दै गएपछि कतिपयलाई दूध खाएपछि पेट गडबड हुन सक्छ, तर दूधबाट बनेको दही, मोही खाँदा उनीहरूलाई केही समस्या हुँदैन । किनभने दूधमा भएको ‘ल्याक्टोज’ नामक तत्त्व नपच्नेहरूलाई दही सजिलै पच्छ । विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएका छन् कि दहीले पेटमा भएका असल कीटाणुलाई बढाउँछ । दहीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ ।
दहीमा भएको भिटामिन ‘बी १२’ ले स्वास्थ्यलाई फाइदा गर्छ । गर्मीको मौसमसँगै बट्टाको फलफूलको जुस, चिसो पेय पदार्थ आदिको प्रयोग धेरै गरिन्छ । अभिभावकले आफ्ना कलिला सन्तानलाई यस्तो जुस र चिसो पेय पदार्थ दिँदा खुसी महसुस गर्छन् । तर यस्तो पेय पदार्थले बच्चाको कलेजो, पेट, मुटु, मस्तिष्कमा खराबी पैदा गर्छ, बच्चाहरू जीवनभरिका लागि रोगी हुन्छन् ।
तर अपशोच ! अहिलेको बजारमा आउने विज्ञापनमा अनेक कलाकारले यस्तो बट्टाको रस, चिसो पेय पदार्थको विज्ञापन गर्छन् । अनि सबैले यो त ठिक हो भन्ने ठान्छन् । सरकारको ‘जनस्वास्थ्य’मा काम गर्ने स्वास्थ्य मन्त्रालयले यस्ता गलत विज्ञापनलाई वास्ता गर्दैन अनि नसर्ने रोग बढ्छन् । दहीलाई पानीमा घोलेर मही बनाइन्छ । यसलाई मधेशतिर ‘छाछ’ वा ‘गोरस’ पनि भनिन्छ । दही मथेर नौनी निस्कन्छ, यसबाट घिउ बनाइन्छ ।
यी सबै वस्तु स्वास्थ्यका लागि फलदायक छन् । तराईको गर्मीमा त महीले शरीरमा पानीको कमी पनि पूर्ति गर्छ । पहिले किसानहरू खेतमा काम गर्न जाँदा ‘छाछ’ लिएर जान्थे किनभने ‘उनीहरूको काम गर्दाको प्यास र थकान छाछले कम गर्छ’ भन्ने जानकारी थियो । अपशोच अहिले किसानले मोही होइन, घटघट ‘कोल्ड ड्रिंक’ पिउँछन् अनि आफ्नो हड्डी, मस्तिष्क खराब पार्छन् । पहिले–पहिले हजुरआमाहरूले बालबालिकालाई दही–भात मुछेर खुवाउने चलन थियो । यसले गर्दा बालबालिकाको ‘पेट ठिक रहन्थ्यो’ ।
हजुरआमालाई दही र मोहीबारे वैज्ञानिक ज्ञान थिएन, तर फाइदा गर्छ भन्ने थाहा थियो । पहिले कब्जियत हुँदा दही र केरा मुछेर खुवाउने चलन थियो । दही र केराले कुपोषित व्यक्तिको स्वास्थ्य राम्रो पार्छ, बिरामीबाट तंग्रिन पनि मद्दत गर्छ भन्ने भनाइ छ । त्यसैले नै होला गाउँघरमा ठेकीमा दही, मोही बनाएर पाहुनालाई स्वागत गरिन्थ्यो । कोल्ड ड्रिंक महँगो र स्वास्थ्यमा हानि गर्छ, मोही सस्तो र स्वस्थकर हुन्छ । मही वा छाछको प्रयोग बालबालिकालाई दिँदा पैसाको सदुपयोग र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
विभिन्न प्रकारका चिसो, गुलियो पेय पदार्थ वा बट्टामा राखेका फलफूलका जुसले बालबालिकालाई मोटो बनाउनुका साथै उनीहरूको हड्डी कमजोर गराउँछ, विभिन्न सूक्ष्म पोषक तत्त्वको कमी गराउँछ । जबकि, दही–महीले बालबालिकालाई स्वस्थ बनाउँछ, रोगसँग लड्ने शक्ति दिन्छ र पेट ठिक राख्छ । बट्टाको जुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुन्छ, फलफूलको नाममा रसायन राखिएको हुन्छ । त्यसैले धेरै दिनसम्म पनि यो बट्टामा राखिएको जुस बिग्रिँदैन तर यो खाँदा बच्चाको स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले पाँच अमृतमध्येको एक दही खाऔं । मोही खाऔं ।
‘चिसो’ पेय पदार्थको प्रयोगले बालबालिकालाई सानोमा नै मधुमेह हुने सम्भावना बढ्छ, यसका बारे धेरै वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ । हुन त दूध र दहीको प्रयोग गर्नु हुँदैन भन्ने केही व्यक्ति पनि छन् । माछा, मासु, मह, दूध र दूधजन्य वस्तुहरू केही नखाने उनीहरूले के तर्क गर्छन् भने ‘मानिसले जनावरको दूध वा दुग्धजन्य पदार्थ खानु ठिक छैन । यसले शरीरलाई हानि गर्छ ।’ यस्ता व्यक्तिलाई ‘भेगान’ भनिन्छ । उनीहरूको तर्कसँग सहमत हुने मानिसले दूध–दही खाँदैनन् । तर विभिन्न वैज्ञानिक अनुसन्धानले दही स्वास्थ्यका लागि उपयुक्त छ भनेर देखाएकाले ५ अमृतमध्ये एक दही, मोही प्रयोग गर्ने होइन त ?
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.अरुणा उप्रेती । पोषणविद्