२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

महिलालाई आत्मनिर्भर बनाउन हस्तकला सिकाउँदै राप्तीसोनारी गाउँपालिका

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ जेठ १८ गते आइतबार

बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन हस्तकला सीप सिकाएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन सम्बन्धी एकमहिने तालिम प्रदान गरेको हो ।

तालिम प्रशिक्षक राप्तीसोनारी–४ बैजापुरकी कल्पना थारुले थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्ले सीप सिकाइएको बताइन् । सीपले गाउँघरमा खेर गएका कच्चापदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा जागेको स्थानीय उमा थारुको भनाइ छ ।

उत्पादन गरिएका सामान बिक्रीवितरण गर्न सकिए पारिश्रमिक राम्रो पाइने हुनेपछि आफूले सीप सिकिरहेको उनले बताइन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले हाल ६० महिलाले मकैको पोस्कर, खोस्टा तथा थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप सिकिरहेको बताए ।

सीप सिकेपछि महिलाले बनाउने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँले बजारीकरण गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए । पालिकाका नौवटै वडामा तयार भएका सामग्री सङ्कलन गरेर बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले लक्षित वर्गलाई प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिएको बताइन् ।

‘अन्तरराष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैको पोस्कर र थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ,’ उनले भनिन्, ‘यसले एकातिर आयआर्जनमा टेवा पुर्याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादन विदेश निर्यात हुँदा गाउँपालिकाको पहिचान हुने विश्वास गरेका छौँ ।’

तालिममा लक्षित वर्ग अन्तर्गत कुमाल, वादी, खुना, मुक्तकमैया, मुक्त कम्लरी, द्वन्द्वपीडित, एकल महिला लगायतलाई प्राथमिकतामा राखेर तालिम दिने काम भइरहेको उपाध्यक्ष थारुले जानकारी दिइन् । गाउँपालिकाका नौवटै वडालाई लक्षित गरेर चार ठाउँमा तालिम भइरहेको छ । वडा नं १ को कुसुम, वडा नं २, ८ र ९ का लागि वडा नं ८ को वडा कार्यालयमा, वडा नं ३, ४ र ५ लाई लक्षित गरेर वडा नंं ४ को कार्यालयमा र वडा नं ६ र ७ लाई लक्षित गरेर अपाङ्गता पुनस्र्थापना केन्द्र फत्तेपुरमा तालिम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार