टाउको र घाँटीको विकसित चरणको क्यान्सरबाट पीडित सयौँ हजार मानिसहरूको क्यान्सर पुनः नफर्कने र लामो समय बाँच्ने सम्भावना भएको एक क्लिनिकल परीक्षणले देखाएको छ । एक इम्युनोथेरापी औषधिले यो सम्भव बनाएको हो ।
शोधकर्ताहरूका अनुसार, यसले उपचार गर्न गाह्रो हुने क्यान्सरका बिरामीहरूका लागि २० वर्षमा पहिलो पटक ठुलो सफलता देखिएको हो । डर्बीसायरकी ४५ वर्षीया लौरा मार्सटन भन्छिन्, ‘म अझै बाँचिरहेकी छु भन्ने कुरामा म चकित छु ।’ उनलाई ६ वर्षअघि जिब्रोको क्यान्सर भएको थियो र जीवित रहने सम्भावना निकै कम भनिएको थियो ।
लौरालाई सर्जरी अघि र पछि इम्युनोथेरापी दिइएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार, यस प्रकारको उपचारले शरीरलाई क्यान्सर फिर्ता आएमा त्यसको सामना गर्ने तरिका ‘सिकाउने’ काम गर्छ । टाउको र घाँटीको क्यान्सर सामान्यतया उपचार गर्न निकै कठिन मानिन्छ, र पछिल्ला दुई दशकमा उपचारको तरिकामा खासै परिवर्तन आएको छैन ।
टाउको र घाँटीको अगाडि चरणको क्यान्सर भएका आधाभन्दा बढी बिरामीहरू पाँच वर्षभित्रै ज्यान गुमाउँछन् । लौरालाई सन् २०१९ मा जिब्रोमा भएको एक घाउ लामो समयसम्म निको नहुँदा क्यान्सर भएको पत्ता लाग्यो । उनलाई पाँच वर्ष बाँच्ने सम्भावना केवल ३० प्रतिशत रहेको चिकित्सकहरूले बताएका थिए ।
यस अध्ययनको निष्कर्ष अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजीको वार्षिक बैठकमा प्रस्तुत गरिँदैछ । किनोट नाम दिइएको यो परीक्षणमा २४ देशका १९२ अस्पतालहरू संलग्न थिए । यो परीक्षण सेन्ट लुइसको वासिङ्टन युनिभर्सिटी मेडिकल स्कुलको नेतृत्वमा गरिएको थियो र औषधि कम्पनी एमएसडीले आर्थिक सहयोग गरेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं