सूचनाको शक्ति - The Power Of Information

        

उद्योगमा कोभिडको असर अझै कायमै

कोरोना महामारीका कारण बन्द भएका उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको छ । नेपाल उद्योग परिसङ्घ वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताए ।

सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उनको भनाइ छ । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेल बैङ्कको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताए । उनले भने, ‘ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ, यसले उद्योगमा ऋण लगानी गर्ने बैङ्कलाई पनि समस्या भएको छ,’ उनले थपे ‘बल्लतल्ल उत्पादन सुरु भए पनि माग बढ्न नसकेको अवस्था छ ।’

कच्चापदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग सञ्चालन हुँदा घाटा चुलिँदै गएको उनले बताए । बढ्दो ऋणका कारण उद्योगको अवस्था कमजोर बनेको उनको बुझाइ छ । ‘गत वर्षसम्म महँगो बैङ्क ब्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महँगो ढुवानी, कच्चापदार्थको मूल्यवृद्धिलगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ,’ कँडेलले बताए ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल कोरोनाकै कारण धेरै पोल्ट्री व्यवसायीले पेसा छाडिसकेको बताउँछन् । सञ्चालनमा रहेका अधिकांश उद्योग ऋणको मारमा रहेको उनको भनाइ छ । वर्षदिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भए पनि वर्षौँसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान नदिएको उनको गुनासो छ ।

भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उहाँको बुझाइ छ । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उहाँको दाबी छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटल आर्थिक सङ्कटमा परेको बताउँछन् । होटल चल्नका लागि कम्तीमा औसतमा ६० प्रतिशत अकुपेन्सी हुनु्पर्छ तर हाल औसतमा ५० प्रतिशतभन्दा कममा सञ्चालन हुनुपरिरहेको अवस्था छ ।

दिनहुँ घाटा बढ्दै जाँदा पर्यटन उद्योगमा सङ्कट थपिँदै गएको उहाँको दाबी छ । विदेशी पर्यटकको सङ्ख्या नबढाएसम्म आर्थिक समृद्धि नहुने भन्दै उहाँले नेपाली पर्यटक आएर मात्रै क्षणिक सञ्चालन हुन सके पनि दीर्घकालीन समस्या समाधान नहुने बताए । चितवनको पर्यटन व्यवसाय प्रभावित हुनुको प्रमुख कारण सडक सञ्जाल पनि भएको उनको भनाइ छ । भैरहवा, पोखरा र काठमाडौँबाट आउने पर्यटक सडकका कारण आउन नसकेको उनले बताए । उनले भने, ‘ट्राभल कम्पनीहरूले सडकका कारण पर्यटक पठाउनै छाडेका छन् ।’

कोभिडपछि व्यवसाय सञ्चालन हुन नसक्दा कतिपय होटलमा बैङ्कले ताला लगाउने अवस्था समेत आएको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी कोभिडपछि बजार क्षेत्रका धेरै पसल बन्द भएको बताए । समग्र अर्थतन्त्र प्रभावित भएपछि उद्योग र व्यवसाय पनि प्रभावित बनेको उहाँको भनाइ छ । सरकारले उद्योग व्यवसायका समस्यालाई मसिनो गरी केलाएर सम्बोधन गर्नुपर्ने उनको माग छ । ऋण थप्दै जाँदा धितोले धान्न नसक्ने अवस्थामा उद्योगी पुगेको उनले बताए ।

उनले भने, ‘अब पनि सरकारले सम्बोधन गरेन भने नेपालमा उद्योग टिकाउन निकै सकस हुन्छ ।’ उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले भने लामो समयको मेहनत र लगानीपछि गौमन्त्र नामक अग्र्यानिक मल कम्पनी लयमा फर्किएको बताए । उनले कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालि सञ्चालन गर्दै आएका छन् । गौतमले भने, ‘कोरोना महामारीका कारण केही समय उत्पादन ठप्प गरेको कम्पनी अहिले बल्लतल्ल लयमा फर्किएको छ, तर अहिले पनि समस्या बाँकी नै छन्, माग बढ्न नसक्दा उत्पादनले बजार पाउन सकेको छैन ।’

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १४:२९

लोकप्रिय