गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए ।
पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् । हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए ।
उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा (चट्टान)को बिचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए ।
गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जो केहीको पनि ध्यान केन्द्रित गर्ने गरेको छ । गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ ।
जो मानिस त्यहाँभित्र छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ । गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोड बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए । सदरमुकाम तम्घासबाट १८ किलोमिटरको दुरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गुल्मी