सूचनाको शक्ति - The Power Of Information

        

जो २५ वर्ष साउदी बसे, नेपाल फर्किएर वर्षमै कमाउँछन् १० लाख

वैदेशिक रोजगारबाट फर्किएका दाङका युवा पशुपालन पेशामा आबद्ध हुँदै गएका छन् । यहाँका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।

दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिभएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट भएका छन् ।

जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका थिए । किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुुरु गरेको बताउँछन् । उनले भने, ‘वार्षिक रूपमा बाख्राको बिक्रीबाट १ वर्षमा १० लाख आम्दानी हुन्छ ।’ तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन ।

‘अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ, भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने उनको सोच छ । फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् ।

बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ । घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण दुई लाख ५० बढी घाटा भएको उनले सुनाए । यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनीहरू आशावादी छन् ।

उनीहरूले एउटा खसीलाई ५४ हजारसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठ वटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको संख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् ।

किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् । विशेषगरी गाउँघरमा किसानले घरमा २४ वटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले घर खर्च बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतवार १३:००

लोकप्रिय