खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका इन्द्रेणी पोखरीका कृषक इन्द्रकुमार राईले यो वर्ष हिउँदमा विगत वर्षमा जस्तो गहुँ र तोरी भित्र्याउन पाएनन् । हिउँदमा पानी नपरेकाले लगाएको बालीको उब्जनी आधाभन्दा कम भएको उनी बताउँछन् । अहिले मनसुन पूर्वको समय (प्री मनसुन)मा चैतको अन्तिममा आएर बल्ल पानी परेपछि उनले बल्ल मकै खेती गर्न सुरु गरेका छन् ।
हल्कामात्रै पनि वर्षा भएपछि बल्ल गाउँमा मकै छर्ने चटारो सुरु भएको उनले बताए । ‘माथि लेकतिर मकै लगाए पनि कति ठाउँमा उम्रिँदै उम्रिएन, उम्रिएका मकै पनि पानी नपरेका कारण सुकेर मरे,’ किसान राईले भने, ‘अलैँची पनि सुकेर मर्ने सम्भावना देखियो । त्यसबाहेक फूल फुल्ने समयका फलफूलमा पनि चिचिला नअडिने समस्या भयो । अहिले भने बल्ला पानी परेपछि ढिलै भए पनि हामी मकै छर्न सुरु गरेका छौँ ।’
समयमा पानी नपरेका कारण खोटाङ जिल्लामा मात्रै नभई देशका अधिकांश भागमा बाली लगाउन किसानहरूलाई समस्या भएको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले बताए । विगतका वर्षहरूमा यो समयमा पूर्वको तुलनामा पश्चिममा पानी पर्ने गथ्र्यो, यो वर्ष पश्चिममा पनि पानी त्यति नपरेको उनले बताए ।
यो वर्ष हिउँद र त्यसपछिको मनसुन पूर्वको समयमा समेत पर्याप्त पानी पर्न नसक्दा किसानहरूले समयमै अन्नबाली लगाउन नपाएको विज्ञहरूले बताएका हुन् । खडेरीका कारण मध्य हिउँदमा गहुँ, मुसुरो, जौ अनि अहिले प्री मनसुनमा खासगरी मकैको बाली लगाउन औसतमा भन्दा ढिलो भएको रिमालले बताए । विगत तीन दिनमा देशका विभिन्न भागमा परेको पानीले केही राहत दिएको बताउँदै उनले पुनः लामो समय पानी नपरे फेरि बालीलाई असर गर्ने बताए ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार विगत पाँच वर्षको तथ्याङ्क हेर्दा यो वर्ष कम पानी परेको देखिएको छ । ‘हामीहरूले ११८ वटा स्टेशनको डेटा लिँदा सन् २०२१ मा २३.३ प्रतिशत, सन् २०२२ मा १७०.४ प्रतिशत, सन् २०२३ मा २२.४ प्रतिशत, सन् २०२४ मा २३.९ प्रतिशत र सन् २०२५ मा २१.२ प्रतिशत कम पानी परेको छ । यो हेर्दा पाँच वर्षमा सबैभन्दा बढी खडेरी सन् २०२५ मा देखिएको हो ।’
हिउँदका अङ्ग्रेजी महिना डिसेम्बर, ज्यानुअरी र फेब्रुअरीको तथ्याङ्क हेर्दा सन् २०२५ मा खडेरी विषम रहेको पोखरेल बताउँछिन् । ‘हामीले औसतभन्दा कम वर्षा हुने भने पनि त्योभन्दा अझै कम भएको कारण यसपालिको खडेरीलाई एक्सट्रिम ड्राउट अर्थात् विषम खडेरी भनिएको हो,’ पोखरेलले भनिन् ।
उनका अनुसार औसतमा ६०.४ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्षको हिउँदमा जम्मा २१.२ प्रतिशतमात्रै पानी परेको अर्थात् ७९.४ कम पानी परेको छ र त्यो भनेको ज्यादै नै न्यून हो । हिउँदमा वर्षा मात्रै कम नभई तापक्रम पनि ०.५ सेल्सियसले बढेको थियो । जबकि मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष सरदर २९.५ प्रतिशतले कम वर्षा थियो भने तापक्रम ०.८ सेल्सियस बढी मापन भएको थियो ।
यो वर्ष चैतको ९–१० गते हल्का वर्षा भयो । त्यसयता एकैपटक चैतको अन्तिम साता हल्कादेखि मध्यमसम्म वर्षा भयो । अहिले केही दिन पानी परे पनि समग्रमा एप्रिलभरि भने पर्याप्त पानी नपर्ने नै देखिएको पोखरेलले बताइन् । यो वर्ष हिउँद अगावै खडेरीका कारण स्वास्थ्य (वायु प्रदूषण), विपद् व्यवस्थापन र कृषि (बालीनाली)मा असर गर्न सक्ने भन्दै विभागले सम्बन्धित मन्त्रालयलाई जानकारी पनि दिएको थियो ।
बिहीवारदेखि प्री मनसुन अन्तर्गत पानी पर्न सुरु भए पनि बालीलाई चाहिने समयमा पानी नपर्दा उत्पादनमा असर गर्ने राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रिमालले बताए । ‘पानी नपरेपछि जग्गा खनजोत गर्नलाई नै पानी कुर्दाकुर्दै हिउँदको समय पनि गयो र अहिले पनि केही राहत भए पनि यो पर्याप्त हुन्छ हुन्न भन्न सकिँदैन,’ रिमालले भने ।
जुन समयमा बालीलाई पानी चाहिन्छ पहिला त्यो समयमा पानी पथ्र्यो तर पछिल्ला वर्षहरूमा त्यो कम हुँदै आएको छ । त्यसले गर्दा हिउँदमा लगाउने बालीमा सिँचाइमा चुनौती थपिँदै आएको छ । उनका अनुसार बालीमा पानीसँगै तापक्रमको पनि भूमिका रहन्छ । बाली लगाउने विन्डो (समय) १०–१५ दिनभन्दा यता उता गर्न सकिँदैन ।
‘अहिलेको प्रवृत्ति हेर्दा उत्पादन कम हुने भन्दा पनि बाली नै लगाउन नसकिने अवस्था आगामी वर्षमा पनि नआउला भन्न सकिँदैन । त्यो हिसाबले हामी चिन्तित हुनुपर्ने देखिन्छ,’ उनले भने, ‘बाली लगाउने समयमै फरक पर्दा विकल्पको रूपमा के बाली लगाउने भनेर अनुसन्धान गर्नु पर्ने अवस्था आएको छ ।’ प्री मनसुनमा स्थानीय वायुको असरले पनि पानी समयमा नपर्दा त्यसले विगत वर्षहरूमामा जुन समयमा मकै रोप्ने गरिन्थ्यो त्यो समय धकेलिने देखिएको किसान र विज्ञहरू बताउँछन् ।
‘समयमा पानी नपर्दा मकै लगाउने क्षेत्रफल पनि घट्ने सम्भावना देखिन्छ । तराईमा पनि बसन्ते मकै लगाउने समय भइसकेको छ । तर त्यसलाई पनि पानी नपरेर असर गर्यो,’ रिमालले भने । कृषिको दृष्टिकोणबाट हेर्दा सरदरमा पानी ठिकै परे पनि समयमा पानी परेन भने त्यसले बालीमा ह्रास आउने उनी बताउँछन् । ‘बालीको निश्चित अवस्थामा चिस्यान भएन भने अरू बेला पानी परे पनि बाली चक्रमा असर गर्छ,’ प्राविधिक अधिकृत रिमालले भने ।
कृषि मन्त्रालयले जलवायु परिवर्तनको मारमा नेपाल १० शीर्ष स्थानमा परेको भन्दै त्यसबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले आवाज उठाउँदै आएको जनाएको छ । जलवायु परिवर्तनले निम्त्याएको असर र त्यसले किसानलाई पार्ने मर्काबारे सम्बोधन गर्न वन जङ्गल जोगाउनेदेखि पानीका मुहान जोगाउने, पानी नभएको ठाउँमा सिँचाइ वा सिञ्चित गर्ने व्यवस्था कसरी गर्ने भनेर सरकारले कार्यक्रमहरू बनाउन लागि परेको कृषि मन्त्री बलराम अधिकारीले बताए ।
‘हामी विगतको अनुभव, अहिले देखापरेका समस्या र आगामी दिनमा हुनसक्ने कुरा सबैलाई सन्तुलन मिलाएर जानेमा नै सरकारको प्राथमिकता छ,’ कृषि मन्त्री अधिकारीले भने । देशको एक तिहाइ भागमा मात्रै सिँचाई सुविधा भएकोले किसानलाई पर्ने मर्का कम गर्न त्यसबारे छलफलहरू सुरु भइसकेको कृषि मन्त्रालयकी प्रवक्ता मतिना जोशी वैद्यले बताइन् ।
‘मौसम अनुकूल बिउ चयन गर्ने, पानी व्यवस्थापन गर्ने अनुसन्धानमा जोड दिने, पहाडी भेगमा साना सिँचाइमा जोड दिने जस्ता विषयमा कुरा भइरहेका छन्,’ प्रवक्ता वैद्यले भनिन्, ‘हिउँदमा प्रतिकूल मौसमका कारण यति हेक्टर जमिनमा यति अन्न नष्ट भयो भन्ने खालको अनुमान लगाउन सकेपछि त्यस अनुसार के मा परिवर्तन गर्ने हो कस्तो बिउ उपयुक्त हुनसक्छ जस्ता कुरामा महाशाखाले काम गर्छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं