‘मेनोपज’ अर्थात् रजोनिवृत्ति भनेको महिलाहरूमा महिनावारी हुन छोडेको अवस्था हो । महिलाहरूमा प्रायः कामेच्छा घट्नु, योनीमा सुक्खापन उत्पन्न हुनु र धेरै ‘मूड स्विङ’ हुनु अर्थात् मनस्थिति बदलिरहनु रजोनिवृत्तिका मुख्य लक्षण हुन् । कैयौँ महिलामा यस्ता परिवर्तनहरू रजोनिवृत्ति हुनुभन्दा १० वर्ष अघिदेखि नै देखा पर्न थाल्छन् । त्यो अवधिलाई ‘पेरिमेनोपज’ भन्ने गरिन्छ ।
मध्य चालिसे उमेरकी सुजन क्यानडाको भान्कोभरमा बस्छिन् । उनी अहिले ‘पेरिमेनोपज’को अवस्थाबाट गुज्रिरहेकी छन् । उनी भन्छिन्, ‘यौन सम्पर्क मेरा लागि निकै पीडादायी भएको छ । अहिले पनि मलाई यौन चाहना हुन्छ तर दुखाइका कारण मलाई त्यसबाट टाढा भाग्न मन लाग्छ । मलाई के भइरहेको थियो भनेर थाहा थिएन र डाक्टरलाई यसबारे भन्न मलाई केही समय लाग्यो ।’ पहिलेको दाँजोमा मानिसको औसत आयु बढेसँगै महिलाहरूले रजान्तपछि पनि आफ्नो जीवनको झन्डै एक तिहाइ उमेर बिताउँछन् ।
शरीरमा होर्मोनको मात्रा घट्न थालेपछि महिलाहरूमा रजान्त हुने गर्छ । यो भनेको महिलामा बच्चा जन्माउन सक्ने क्षमता भएका वर्षहरूको अन्त्य भएको भन्ने सङ्केत हो र यसले उनीहरूमा विभिन्न खालका शारीरिक र मानसिक परिवर्तन पनि ल्याउँछ । यूकेकी स्वास्थ्य शिक्षा अभियानकर्मी डाक्टर अजीजा सेसे योनीमा हुने सुक्खापनका कारण यौन क्रियाकलाप पीडादायी हुने गर्छ र त्यो इस्ट्रोजेन होर्मोनमा हुने कमीका कारण उत्पन्न हुन्छ ।
तर धेरै संस्कृतिमा महिलाहरूलाई आफ्नो यौन जीवनबारे कुराकानी गर्न निषिद्ध गरेको उनले स्मरण गरिन् । अजीजाले भनिन्, ‘अहिले पनि महिलाहरू पीडादायी यौन क्रियाकलापलाई सामान्य ठान्छन् । आफ्ना पुरुषलाई खुसी राख्नका लागि उनीहरूले पीडा सहिरहनु परेको छ ।’ त्यस्तो विश्वासका कारण नै कैयौँ महिलाहरूले आफ्ना यस्ता समस्याहरूलाई सम्बोधन गर्दैनन् । ‘उनीहरू मौन रूपमा पीडा सहेर बस्नका लागि बाध्य हुन्छन्,’ डा अजीजा भन्छिन् ।
हर्मोन र नदेखिने लक्षणहरू
कामेच्छाका लागि इस्ट्रोजेन होर्मोनको भूमिका हुन्छ, साथसाथै अण्डाशयले निकाल्ने टेस्टोस्टेरेन होर्मोन पनि आवश्यक पर्छ । यी होर्मोनहरूको उत्पादन कम हुन थालेपछि महिलाहरूले आफ्नो यौन चाहनामा कमी आएको महसुस गर्छन् । जर्मनी निवासी ४५ वर्षिया रोजीको पाठेघरमा क्यान्सर देखिएपछि ३० वर्षको उमेरमा गर्भाशय निकाल्नु पर्यो । त्यसले उनको समय नपुग्दै बाध्यकारी रजान्त भयो ।
बीबीसीसँग आफूमा व्यापक परिवर्तन आएको बताउँदै उनले भनिन्, ‘मलाई यौन क्रियाकलाप मनपथ्र्यो तर अचानक त्यो हरायो । मैले शारीरिक रूपमा कुनै पनि प्रकारको उत्तेजना महसुस गर्न छाडेँ ।’ संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाकी मनोवैज्ञानिक तथा यौन थेरापिस्ट डा नाजनिन माली रजान्तका क्रममा न्यून यौनेच्छा र यौनसम्पर्कका बेलामा दुखाइको समस्या लिएर धेरै महिलाहरू आउने गरेको बताउँछिन् ।
उनले भनिन्, ‘कैयौँ घटनामा उनीहरूले आफू केहीमा अड्किएको जस्तो महसुस गरेका हुन्छन् । धेरै महिलाहरूले यौन सुख चाहन्छन् तर उनीहरू सम्भोगमा कुनै खालको रुचि राख्दैनन् ।’ तर योनीको सुख्खापन वा न्यून कामेच्छाले मात्र महिलाहरूको जीवनको यो चरणमा यौन चाहना न्यून हुने होइन । यूकेमा बसोबास गर्ने ४९ वर्षकी यासलाई मूत्रनलीको सङ्क्रमण पुनः दोहोरिन थालेपछि उनको यौनचाहना कम भएको थियो ।
उनीले भनिन्, ‘मैले यौनसम्पर्कको सबै रुचि गुमाएँ किनभने हरेक पटक त्यसले पीडादायी संक्रमण निम्त्यायो ।’ लामो समयदेखि चिकित्सकहरूले यो समस्यालाई रजान्तसँग सम्बन्धित भनेर निदान नगरेको उनी बताउँछिन् । डा.सेसेका अनुसार मूत्रनलीमा हुने सङ्क्रमण पनि इस्ट्रोजेन होर्मोन कम हुदाँको नतिजा हो । मानिसहरू इस्ट्रोजेनबारे सोच्दा त्यो महिनावारी वा प्रजनन पक्षसँग मात्र सम्बन्धित छ भन्ने ठान्छन् ।
उनीले भनिन्, ‘तर इस्ट्रोजेन यस्तो अचम्मको होर्मोन हो, त्यसले हाम्रो शरीरमा कपालको फोलिकल्सदेखि छालासम्मका लागि काम गरेको हुन्छ । इस्ट्रोजेनले योनी र मूत्रमार्गलाई चिल्लो बनाउँछ र त्यसको कमीले मूत्रनली वरपरको तन्तुलाई सुक्खा बनाउँछ अनि सङ्क्रमण थप बढाउँछ ।’ धेरै संस्कृतिमा महिलाको कामेच्छालाई विशुद्ध रूपमा प्रजननसँग सम्बन्धित रूपमा मात्र परिभाषित गरिएको छ ।
त्यसले गर्दा रजान्तपछि महिलाको यौन जीवन सकिन्छ भन्ने ठानिन्छ । डा.माली महिलाहरूले आफ्नो युवावस्थालाई सम्झँदा जीवनको यो चरण निकै कठिन हुन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘त्यसले केही महिलाहरू सुर्ताउने अवस्था पनि बन्छ ।’ यद्यपि उनका अनुसार उनीकहाँ आउने केही यस्ता महिलाहरू पनि छन् ‘जसले रजान्तपछि पनि उत्कृष्ट यौनसुख प्राप्त गर्न थालेका छन् ।’
कस्ता उपचार उपलब्ध छन् ?
डा मालीका अनुसार ‘रजान्तसँग सम्बन्धित यी सबै प्रकारका चुनौतीका समाधान छन् । चिकित्सकीय र गैरचिकित्सकीय हस्तक्षेपले महिलाहरूलाई सक्रिय यौन जीवन र अझ बढी यौनानन्दका निम्ति सहयोग पुग्न सक्छ ।’ लन्डन निवासी ६५ वर्षकी हल्दिताको यौन जीवन रजान्तसँगै सुखद बन्न थाल्यो । संयोगवश उनको रजान्त र सम्बन्धविच्छेद सँगसँगै जस्तो भएको थियो ।
उनले बीबीसीसँग भनिन्, ‘म ४३ वर्षकी हुँदा मेरो जोडीसँग छुट्टिएँ । ममा पेरिमेनोपजका लक्षणहरू ४५–४६ वर्षदेखि देखिन थाले । अन्ततः अब म स्वतन्त्र भएँ भनेर उत्साहित थिएँ । वास्तवमा त्यसै बेलादेखि मैले एकदमै स्वस्थ र रोमाञ्चक यौनजीवन सुरु गरेकी हुँ ।’ महिलामा पुनः सक्रिय यौनक्रिडाको ज्वाला ब्युँताउने बारे चर्चा हुँदा डा मालीले दिएको सर्वोकृष्ट सुझाव हो, ‘तपाईँले आफ्नो मैथुन क्रियाको तरिकाको समिक्षा गर्नुपर्छ ।’
उनी भन्छिन्, ‘हामी सबैले यौनक्रिडा कस्तो हुनुपर्छ र के गर्दा त्यो आनन्ददायी हुन्छ भन्ने एउटा तस्वीर बनाएका छौँ । तर शरीरमा देखिएको परिवर्तनसँगै हामीले हाम्रो दिमागमा बनेको त्यो तस्बिरलाई अपग्रेड र परिवर्तन गर्नुपर्छ । यो उमेरमा आएर अब मेरा निम्ति कस्तो रतिक्रिया सबैभन्दा राम्रो हो भनेर तपाईँ आफैँले आफैँलाई सोध्नुपर्छ ।’ ‘फोरप्ले’ भनिने सम्भोगपूर्वका रतिक्रिडा महत्त्वपूर्ण भएकोमा उनको जोड छ ।
उनले भनिन्, ‘योनिको तन्तुमा परिवर्तन हुनुको अर्थ त्यहाँ संवेदनशीलता कम हुन सक्छ । त्यसैले भाइब्रेटरजस्ता सेक्स टोइहरूले मद्दत गर्न सक्छन् ।’ यदि रजान्तका कारण यौन जीवन प्रभावित भइरहेको छ भने डा अजिजा सेसे भन्छिन्, ‘सहयोग माग्न र आवश्यक परेमा आफ्नो चिकित्सक परिवर्तन गर्न पनि पछि नपर्नुहोस्, लाज नमान्नुहोस् ।’ उनका अनुसार उपचारात्मक हिसाबले ‘होर्मोन रिप्लेसमेन्ट थेरापी’ अर्थात् एचआरटी सबैभन्दा अगाडि रहेको छ ।
यसलाई विभिन्न तरिकाले अपनाउन सकिन्छ । ती भनेका प्याच, जेल र पिल हुन् । कतिपय महिलाहरूलाई पिल्सजस्ता होर्मोन रक्तप्रवाहमार्फत शरीरभित्र जाने पद्धति उपयुक्त हुँदैनन् । तर त्यसका लागि विकल्पहरू छन् र कतिपयलाई सीधै योनीमा पनि प्रयोग गर्न सकिन्छ । न्युजिल्यान्ड निवासी नेडाले क्यान्सरका कारण एचआरटी चक्की लिन सक्दिनन् ।
उनले भनिन्, ‘तर मैले मेरो यौन जीवनमा सुधार गर्न एचआरटी चाहन्छु भनेर जोड गर्दा पनि मलाई शरीरमा लगाइने विकल्प नै दिइयो । कडाखाले क्यान्सर लागेकाले चिकित्सकहरूले मेरो यौन जीवनलाई प्राथमिकता दिएनन् ।’ डा अजिजा ‘ओभर द काउन्टर ट्रिटमेन्ट’ अर्थात् ओटीसी विधिहरू पनि रहेको बतउँछिन् । त्यस्ता उपचार विधिमा लुब्रिकेन्टहरू र मोस्चराइजरहरू पर्छन् ।
तर उनी त्यस्ता सामग्री प्रयोगपूर्व ती उत्पादनमा मिसाइएका तत्त्वहरू हेर्न र कुनै तत्त्वप्रति तपाईँको शरीर संवेदनशील छ भने प्रयोग नगर्न सुझाव दिन्छिन् । पेल्भिक फ्लोरका मांसपेशीहरू कमजोर भइरहेकाहरूका निम्ति पेल्भिक फ्लोर फिजिओथेरापी पनि उपलब्ध छ । उनी रजान्त भएका र नभएकाहरूका निम्तिसमेत जीवनशैली परिवर्तन गर्न सुझाव दिन्छिन् ।
उनी भन्छिन्, ‘व्यायाम गर्नुहोस्, फलफूल र तरकारी खानुहोस् र मदिरा सेवन कम गर्नुहोस् वा पूर्ण रूपमा छाड्नुहोस् । धूमपान नगर्नुहोस् । तपाईँको तौललाई सही अवस्थामा राख्नुहोस् ।’ डा सेसेको महत्त्वपूर्ण सुझाव छ, ‘आफ्नो ख्याल आफैँ राख्नुहोस् । त्यो भनेको स्वार्थी हुनु होइन ।’ उनी चिन्तामुक्त हुन र सहयोग खोज्न वा आफूले नचाहेको बेलामा पनि कसैले सहयोग गर्न चाहन्छ भने त्यसलाई स्वीकार्न सुझाउँछिन् ।
सत्यपाटी