२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday
प्रहरी मिलेमतोमा कुखुराको तस्करी

नेपाली भान्सामा मरेका कुखुराको मासु !

प्रहरीले ‘सेटिङ्ग’ बिग्रिएपछि मात्रै भारतबाट अवैधरूपमा हुने कुखुरा तस्करीमा कडाई गर्छ ।
सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८१ चैत ३० गते शनिबार

भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । नेपाल–भारत मुख्य नाका जमुनाहाबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन् । बाँकेको जानकी गाउँपालिका–२ बिहानी टोलमा अवैधरुपमा भारत शिपुराबाट तस्करी गरी ल्याइएका बोइलर कुखुरासहित एकजना व्यक्ति पक्राउ परे ।

चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक हरिबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले भारत शिपराबाट तस्करी गरी ल्याइएको अन्दाजी १५० केजी अवैध बोइलर कुखुरासहित एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्ति बैजनाथ गाउँपालिका–५, बनकटुवाका ४० वर्षीय ढोडेप्रसाद थारु हुन् । उनले चलाएको भे ३ प १४७४ नम्बरको मोटरसाइकलमा कुखुरा राखेर नेपाल भित्र्याइँदै गर्दा फेला पारिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट अर्का एक मोटरसाइकल सवार भने कुखुरा र सवारीसाधन त्यहीँ छोडेर फरार भएका छन् । जानकी गाउँपालिका वडा नं.२ बेलभारस्थित प्रहरी चौकी बेलभारबाट खटिएको प्रहरी सहायक निरीक्षक प्रेमसिंह कठायतको टोली तथा प्रहरी चौकी साइगाउँबाट प्रहरी वरिष्ठ नायब निरीक्षक हरिबहादुर खड्काको संयुक्त टोलीले अवैध भारतीय ब्रोइलर कुखुरासहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, चोरी पैठारी गरेर ल्याइएको भारतीय नम्बर प्लेट भएको यूपी ४० एए ३१७९ नम्बरको मोटरसाइकलमा ब्रोइलर कुखुरा राखेर तस्करी हुँदै गर्दा सुराकीका आधारमा प्रहरीले निगरानी बढाएको थियो । प्रहरीको उपस्थिति देखेपछि मोटरसाइकल चालक फरार भए । सो क्रममा प्रहरीले अन्दाजी एक क्विन्टल ब्रोइलर कुखुरा र मोटरसाइकल बरामद गर्यो । बोइलर कुखुराको अवैध ओसारपसारले आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ ।

जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित बोइलर कुखुराको अवैध ओसारपसारले आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले प्रहरीले सचेत रहन आग्रह गरेको छ । भारतको बहराइच जिल्लाको सिपुरा बजारमा सञ्चालन गरिएको कुखुरा फार्मका सञ्चालक पंकज धोबीले नेपाली तस्करसँग साठगाँठ गरी कुखुरा तस्करी गर्ने काम गर्दै आएका छन् । ती तस्करी गतिविधिमा नसरुद्दिन, भुरे, अकबर अलीको नामक व्यक्तिहरुको संलग्नता खुलेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, बढैया बीओपी अन्तरगतको पोस्ट नजिकै रहेको भारत–नेपाल सीमा क्षेत्र १० गजाको ३६ नम्बर पिलर आसपासबाट तस्करी हुने गरेको छ । सशस्त्र प्रहरी र तस्करहरूको सेटिङ रहेकोले दैनिक १५ देखि ३० क्विन्टल खुखुरा यही बाटोबाट ओसारपसार हुने गरेको शिपुराका एक व्यक्ति दाबी गरे । कुखुरा व्यवसायी मञ्च बाँकेका सदस्य मुनिजर खानका अनुसार सुरक्षाकर्मीकै मिलोमतोमा कुखुराको तस्करी भइरहेको खानले बताए ।

भारतबाट तस्करी भएर आएका कुखुराको अस्वास्थ्यकर मासु उपभोक्ताको भान्सासम्म पुग्ने गरेको पाइएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार मरिसकेका कुखुरा काटेर प्याकिङ गर्ने अनि ठूला सहरको बजारमा पुग्ने गरेको छ । पशु सेवा विभागका अनुसार तस्करी गरेर भित्रिएको अधिकांश मासु खान उपयुक्त हुँदैन र त्यसले ‘जूअनोटिक’ रोगसमेत निम्त्याउन सक्छ । पशुपक्षीबाट मानिसलाई सर्ने रोगलाई जूअनोटिक रोग भनिन्छ ।

विभागले भारतबाट तस्करी भएर आउने कुखुरा ‘खोरमा आइपुग्दासम्म मरिसक्ने र त्यही कुखुरा व्यक्तिको भान्सा हुँदै मानिसको पेटमा पुग्ने’ गरेको जनाएको थियो । मासुको मूल्य नेपालमा भन्दा भारतमा सस्तो हुनेबित्तिकै सीमा क्षेत्रबाट कुखुराको अवैध कारोबार बढ्ने गरेको छ । यसरी हुने तस्करीले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको भन्दै तस्करी रोक्न नेपाल ह्याचरी उद्योग सङ्घ र नेपाल दाना सङ्घले ध्यानाकर्षण गराएको हो ।

नेपालगन्जका एक जना व्यवसायीका अनुसार प्रहरीले ‘सेटिङ्ग’ बिग्रिएपछि मात्रै भारतबाट अवैधरूपमा हुने कुखुरा तस्करीमा कडाई गर्छ । नेपालगन्जका कुखुरा व्यवसायीहरुले जमुनाहा नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेको ती व्यवसायीले बताए । भारतमा बेलाबखत फैलिने बर्डफ्लु लगायत पंक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ ।

तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुराजन्य पदार्थको नेपाल भित्रिने गरेको व्यवसायीहरुको भनाई रहेको छ । नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा पश्चिम नेपालको प्रमूख नाकाका रुपमा रहेको जमुनाहाबाट मात्रै नभएर बाँके र बर्दियाका विभिन्न ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल भित्रिँदै आएको व्यवसायहरु बताउँछन् ।

सबैभन्दा बढी जिल्लाको खुला सीमा नाका बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर र सैनिक क्षेत्र तथा जमुनाहा, साईगाउँ, बेलबार, राप्तीपारिको नरैनापुर नाकाबाट ठुलो मात्रामा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । प्रहरी प्रशासनकै मिलेमतोमा अवैध मानिएको भारतीय कुखुरा र चल्ला भित्रिने क्रम कहिल्यै रोकिँदैन । प्रहरी प्रशासनको सेटिङ्गमा कुखुरा तस्करी मौलाएपछि बाँकेका व्यवसायी समस्यामा परेका छन् ।

अवैध रुपमा भित्र्याइएका भारतीय कुखुरा र चल्ला नेपाली उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर, खजुरा लगायत बाँकेका ग्रामीण क्षेत्रमा छ्यापछ्याप्ती पाइने गरेका छन् । विना चेकजाँच ठूलो मात्रामा भित्रिने यस्ता कुखुराले पंक्षीजन्य रोग फैलने खतरा बढ्दै गएपछि स्थानीयहरूले तत्काल अवैध कुखुरा तस्करी नियन्त्रण गर्न माग गरे पनि खुला सिमानाका कारण विभिन्न नाकाबाट अत्यधिक मात्रामा भारतीय बोइलर कुखुरा अवैधरूपमा आयात भइरहेका छन् ।

एक–दुई दिन चेकजाँचमा कडाई गरेजस्तो गरे पनि तस्करसँगको ‘सेटिङ्ग’मा फेरि खुकुलो बनाइएको नेपालगन्जका एक जना व्यवसायीले नाम नभन्ने सर्तमा बताए । उनले भने, ‘एक–दुई दिनका लागि चेकजाँच कडा गरिएको थियो । फेरि तस्करसँगको मिलेमतोमा चेकजाँचलाई तस्करसँगको फेरि खुकुलो बनाइएको छ,’ ती व्यवसायीले सत्यपाटीलाई भने, ‘प्रहरी प्रशासनले तस्करसँगको मिलेमतोमा हुँदा व्यवहारतः नियन्त्रणमा कडाई गर्दैन ।’

अवैध आयातमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूको समेत मिलेमतो रहने गरेको व्यवसायीहरुको आरोप छ । बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमूखसँग जति पटक अवैध कुखुरा आयात नियन्त्रणका लागि चाँडै सुरक्षा निकायसँग छलफल गरे पनि आवश्यक कदम चाल्ने आश्वासन दिएर एक–दुई दिन कडाई गरेजस्तो गर्दै फेरि पुरानै सेटिङ्गमा कुखुरा तस्करी हुन्छ । व्यवसायीका अनुसार नेपाली खुद्रा व्यापारी र केही भारतीय मिलेर यस्तो धन्दा गरेका छन् ।

भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको व्यवसायीहरु बताउँछन् । उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चोर बाटो हुँदै कुखुरा ल्याउने गर्छन् । केहीले साइकलमा बाँधेर ल्याउँछन् । नेपालमा भन्दा सस्तो पर्ने हुँदा स्थानीयले भारतबाट ल्याइएका कुखुरा किन्दै आएका छन् । भारतमा जिउँदो कुखुरा ९५ देखि १०० भारुसम्म पर्छ ।

नेपालमा झन्डै दोब्बर मूल्य छ । यही कारण पारिको कुखुराको डिमान्ड बढेको हो । भारतबाट कुखुराजन्य बस्तुको तस्करी बढे पनि प्रहरी प्रशासनले रोक्न पहल नगरेको व्यवसायीको गुनासो छ । व्यवसायीहरुका अनुसार यहाँ जिउँदो कुखुरा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । नेपालमा भन्दा भारतमा सस्तो हुनेबित्तिकै सीमा क्षेत्रबाट कुखुराको अवैध कारोबार बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।

सीमानाकामा चहलपहल कम भएका बेला बिहान सबेरै वा दिउँसै पनि आफूले भारतबाट नेपालतर्फ कुखुराजन्य बस्तु भित्रिन्छ । धेरै तस्करी हुने भनिएका क्षेत्रहरूमा प्रहरी चुस्त अनुगमन र निगरानीको साट्टा प्रहरी–तस्कर मिलेमतोका कारण तस्करी नियन्त्रण हुन नसकेको व्यवसायीहरू बताउँछन् । उनीहरुका अनुसार सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि बाँकेमा कुखुरा तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ ।

सीमा क्षेत्रमा खटिएका प्रहरी र सशस्त्रकै मिलेमतोमा कुखुरा तस्करी भइरहेको स्थानीयहरुको दावी छ । नेपालगन्ज–१५ का रामप्रसाद यादवले जमुनाहा नाकाबाट दैनिकजसो भ्यानमा कुखुरा तस्करी भएर नेपालगन्ज बजारसम्म पुग्ने गरेको बताए । ‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो,’ उनले भने, ‘अहिले त दिउँसै तस्करी हुन थालेको छ ।’ कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र भ्यान प्रयोग हुने गरेको छ ।

तस्करी रोक्ने निकायले नै महिनापिच्छे असुल गर्ने गरेको एक व्यापारीले बताए । ‘प्रहरीले चाहे एउटा कुखुरा पनि ल्याउन मुस्किल छ, तर गाडीका गाडी कसरी ल्याउँछन् ?’, उनले भने, ‘महिनावारी असुल्न सजिलो पार्नकै लागि प्रहरी–प्रशासनले कहिलेकाहीँ कुखुरा बरामद गर्ने गरिन्छ ।’ चोकमा टेबल राखेर त्यसमाथि खुलेआम भारतीय सेतो अन्डा खरिदबिक्री भइरहेकाले सीमावर्ती क्षेत्र बर्डफ्लुको उच्च जोखिममा छन् ।

बाँकेको जमुनाहा नाकाका साथै नरैनापुर, खडैचा, सितापुर र राधापुर क्षेत्रमा पनि तस्करी मौलाएको छ । प्रहरीका अनुसार भारतबाट ल्याइने पशुजन्य वस्तु, विशेषगरी बोइलर कुखुरामा रोग संक्रमणको जोखिम उच्च हुने भएकाले बिना स्वीकृति आयात गर्नु पशु सेवा ऐन, २०४८ अनुसार गैरकानुनी हो । उक्त ऐनको धारा १७ अनुसार दोषी ठहरिएमा तीन महिनादेखि तीन वर्षसम्मको कैद वा जरिवाना दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार