नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर भोलिदेखि अनिवार्य अवकाशमा जााँदैछन् । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर भोलि अर्थात चैत ४ गते अनिवार्य अवकाश हुने भएका हुन् । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुनेछन् । झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीन हुँदैछ ।
तर, आइजिपीले अवकाश पाउन १ दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन । प्रहरीको ३१ औं प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा ढिलाइ भएको छ । आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी प्रहरीको ३१औँ आइजिपीको मुख्य दाबेदार छन् । जसमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।
उनीहरू ०५२ साल भदौ १८ गते इन्स्पेक्टरमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आइजिपी हुनेछन् । जसको टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आइजिपी नियुक्ति गर्ने सम्भावना छ । यसअघि पनि सरकारले अन्तिम दिन मात्र आइजिपीको निर्णय गर्दै आएको छ ।
समयमै निर्णय नहुँदा आइजिपी नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको छ । यता आइजीपी कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् । एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले अवकाश पाउन लागेका हुन् ।
त्यस्तै, डिआइजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि ४ चैतदेखि अवकाश पाउँदैछन् । अवकाशमा जान लागेका आइजिपीसहित उच्च अधिकारीको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ । तर, बिदाइ गर्ने उत्तराधिकारी भने चयन हुन सकेको छैन ।
आगामी साता अर्थात चैत ४ गते नेपाल प्रहरीले नयाँ नेतृत्व अर्थात् ३१औं महानिरीक्षक (आइजी) पाउने दिन हो । संगठनमा नयाँ आइजी आउने भएपछि पुरानालाई बिदाइ र नयाँलाई स्वागतको तयारी भव्य भइरहेको छ । आइजीको सचिवालय र निवास दुवैतिर सहयोगीहरू आउने जाने क्रम चलिरहेको छ ।
को आइजी हुन्छ भन्ने निश्चित छैन तर संगठन र बाहिर भने एआइजी दीपक थापाकै पल्लाभारी रहेको चर्चा सुरु भैसकेको छ । नयाँ आइजीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एकजना हुने निश्चित छ । एकजना मात्रै आइजी हुने भएकाले तीनैजना आफू हुनका लागि दौडधुप गरिरहेका छन् ।
यद्यपि, उनीहरू एकले अर्कालाई निषेध गर्नेगरी अघि नबढेको स्रोतले बतायो । उनीहरु मध्ये एकजना आइजी भएपछि ६ एआइजी पद रिक्त हुनेछ । सो पदका लागि आइजीको लागि भन्दा बढी दौडधुप सुरु भएको छ । अब हुने ६ एआइजीमध्येबाट ३२औं र ३३औं आइजी हुने भएपछि उनीहरूले आफूलाई केन्द्रमा राखेर बढुवाका लागि शक्ति केन्द्रमा लविङ थालेका छन् ।
आगामी चैत ४ गते साँझ हालका आइजी वसन्त कुँवर अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरी कुँवरको बिदाइ गर्ने छ । कुँवरको विदाइसँगै थापा, गिरी र तामाङ मध्ये एकजनाले नक्सालको ‘हट सिट’ कब्जा गर्नेछन् । अहिलेसम्मको अवस्था हेर्दा आइजीमा थापा नै अघि देखिन्छन् ।
अन्य दुईभन्दा थापा एकमहिनाअघि नै एआइजीमा बढुवा भएका थिए भने केहीदिन यता प्रधानमन्त्रीलाई नियमित रुपमा व्रिफिङ गर्ने काम ‘डिफ्याक्टो’आइजीले गर्ने काम पनि उनले गर्दै आएका छन् । आइजी कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन् ।
आइजीमा एकजना एआइजीको नियुक्ति हुनासाथ ६ वटा दरवन्दी खाली हुनेछ । जसमा प्रहरीका तीन ब्याचबीच बढुवाको टक्कर छ । सिनियर ब्याचबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन् । नेपाल प्रहरीको ऐन संसदबाट पास हुन ढिला भएमा यो ब्याचबाट दुई महिनाका लागि आइजी हुने सम्भावनासमेत छ ।
तर यो विषय सरकारको तजवीजमा भरपर्ने भएकाले उनीहरूको सम्भावना कम रहेको छ । प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो । कुँवरपछि नियुक्त हुने ३१औं आइजीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन् ।
त्यो अवस्थामा मात्र उनीहरू आइजी हुनेछन् । २०५४ को चैत १८ गते भर्ना भएको टोलीबाट ३२औं आइजीका लागि मुख्य दाबेदार रहनेछ । जसमा डीआईजी दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी गत वर्ष नै बढुवा भएकाले उनीहरु सिनियर छन् । तर यहाँनिर राष्ट्रिय अनुसन्धानको टोलीबाट आएका सिद्धिविक्रम शाह छिर्ने संभावना बढेको छ । कसलाई हुत्याएर उनी छिर्ने हुन भन्ने एकिन हुन सकेको छैन ।
यही व्याचबाट ३३औँ आइजी हुने भएकाले एआइजी बढुवाका लागि शक्ति केन्द्रको बल लगाउने गरी कार्की, केसी, अधिकारी र शाह लागिरहेका छन् । कार्की अहिले लुम्बिनी प्रदेशमा छन् । अधिकारी कोशी प्रदेशमा छन् भने केसी एकेडेमीमा छन् । यसैगरी शाहले विशेष ब्यूरो सम्हालेका छन् । यतिबेला शाह निकै बलशाली भएकाले उनी एआइजी बढुवामा अघि बढ्ने प्रायः निश्चित जस्तै भएको स्रोतको दाबी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं