सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, ४९ जनामध्ये ४३ जना डिस्चार्ज

बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप परेर घाइते भएका ४९ जनामध्ये ४३ जना डिस्चार्ज भएका छन् । बाँकी ५ जना भेरी अस्पताल र एक जना नेपालगन्ज नर्सिङ कलेजमा उपचाररत रहेका छन् । सुधार गृहमा राखिएका (बालक) दुई पक्षबिचको झडपमा परेका ४९ जनालाई आज दिउँसो उपचारको लागि अस्पताल पठाइएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दुई समूहबिच भएको झडपमा परेर अस्पताल पुगेका ४३ जनालाई डिस्चार्ज गरिएको र बाँकी ६ जना अझै अस्पतालमा रहेको रातोपाटीलाई बताए । उनले ६ जनामध्ये ४ जनालाई पनि आजै राति डिस्चार्ज गर्ने सम्भावना रहेको बताए । सुधार गृहमा झडपपछि आगजनी समेत भएको थियो ।

बालबन्दीहरुले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचरमा आगजनी गरेका थिए । बालबन्दीहरुले सुधार गृहको तल्लो तलामा आगजनी गरेर ध्वस्त बनाएका छन् । प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएका २५५ बढी बालबन्दीमध्ये करिब ७० जनालाई अन्यत्र सार्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी जोशीले करिब ७० जनलाई अर्को बाल सुधार केन्द्र नौबस्ता लैजाने तयारी भएको बताए ।

सुधार गृहको एउटा तला आगजनी गर्दा तत्काल बस्न नमिल्ने अवस्था भएको छ । सुरक्षाको दृष्टिकोणले पनि समस्या हुने भएकोले अर्को बाल सुधार केन्द्रमा लैजाने तयारी गरिएको जोशीले बताए । अर्को बाल सुधार गृहमा प्रायः १८ वर्ष कटेका किशोरहरूलाई लैजाने तयारी गरिएको छ । स्थानीय प्रशासनले गृह मन्त्रालयको सल्लाहमा अलि धेरै लफडा गर्ने थप २५ जनालाई अन्यत्र लैजाने योजना बताएको समेत जोशीले रातोपाटीलाई बताए ।

सुधार गृहमा १२ जना प्रहरी सिभिल ड्रेसमा बस्ने गर्दछन् । गत वर्ष असोजमा पनि सुधार गृहमा झडप एक बाल बन्दीको मृत्यु भएको थियो। केही दिन अघि मात्रै बालबन्दीले तीन जना प्रहरीलाई समेत कुटेका थिए । यसअघि पनि झडप गर्नेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो । अहिले सुधारगृह वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार २०:३२

लोकप्रिय