कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ ।
‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ,’ कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।
गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु दुई लाख ७६ हजार कम राजस्व सङ्कलन भएको छ । भदौमा रु १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु छ लाख राजस्व सङ्कलन भएको छ ।
लक्ष्यभन्दा रु सात लाख कम राजस्व सङ्कलन भएको छ । असोजमा रु १३ लाख २६ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु सात लाख सङ्कलन भएको छ । यो लक्ष्यभन्दा रु छ लाख कम हो । कात्तिकमा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु नौ लाख सङ्कलन भएको छ । यो ७०.९० प्रतिशत हो ।
तर पनि लक्ष्यभन्दा रु तीन लाख कम राजस्व सङ्कलन भएको छ । मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख सङ्कलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु चार लाख ७६ कम राजस्व सङ्कलन भएको छ । पुसमा रु १३ लाखको लक्ष्य लिएकामा रु ३० लाख सङ्कलन गरिएको छ ।
यो लक्ष्यको २२९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व सङ्कलन भएको निमित प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा रु एक करोड ६५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए । कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो ।
भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु ६०० र मोटरसाइकलबाट प्रतिदिन रु २०० लिने गरेको उनले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।
भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिर लगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कोइलाबास भन्सार कार्यालयले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ