सूचनाको शक्ति - The Power Of Information

        

दुई महिनामा बाँकेका किसानले बेचे ३२ हजार क्वीन्टल धान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानसँग ३२ हजार क्वीन्टलभन्दा बढी धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्वीन्टल धान खरिद गरिसकेको जनाएको हो ।

अब यस वर्ष बाँकेमा धान खरिद कार्य लगभग अन्त भएको कार्यालयले जनाएको छ । ‘यस वर्ष हामीले गत कात्तिक २० गतेदेखि किसानसँग धान खरिद कार्य सुरु गरेका थियौँ, पुस १९ गतेसम्म दुई महिनाको अवधिमा ३२ हजार २६ क्वीन्टल धान खरिद गरिसकेका छौँ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले भने, ‘पुस १९ गतेपछि किसानहरु आउन छोड्नुभएको छ, धेरै किसानले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला ।’

पुस १९ गतेपछि किसानहरु आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यस वर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए । ‘हामीले लक्ष्य लिए अनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, हामीले माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्याैँ,’ मुख्य शाखा प्रमुख लामिछानेले भने । बाँकेका किसानहरु पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए ।

‘२५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म लगभग खरिद गरिसकेका छौँ, यस वर्षका लागि मध्यम धान खरिद लक्ष्य पुरा भएको छ,’ लामिछानेले भने, ‘मोटा धानको खरिद भने लक्ष्य अनुसार पुग्न सकिएन, किसानले व्यापारीलाई नै मोटा धान बिक्री गरे, चिउरा उत्पादन प्रयोजनका लागि व्यापारीले केही बढी मूल्य दिएर किसानसँग मोटा धान खरिद गरेको हुँदा पनि हामीसम्म माग अनुसारको मोटा धान आइपुगेन ।’

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिएको थियो, तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्वीन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्वीन्टलको लक्ष्य लिएको थियो । खाद्यले ३० हजार क्वीन्टल मोटा धान र २५ हजार क्वीन्टल मध्यम गरी ५५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो ।

खाद्यले लिएको लक्ष्य अनुसार यस वर्ष ७६५३.४४ क्वीन्टल मोटा र २४३७२.६४ क्वीन्टल मध्यम गरी जम्मा ३२०२६.०८ क्वीन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । मोटा धानको तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मुल्यमा किसानसँग धान खरिद गरिएको घिमिरेले बताए ।

उनका अनुसार यस वर्ष मोटा धान दुई करोड ६१ लाख दुई हजार १३३ रुपैयाँ ६५ पैसा र मध्यम धान आठ करोड ७२ लाख ६९ हजार, १६२ रुपैयाँ २३ पैसा गरी कुल ११ करोड ३३ हजार ७१ लाख २९५ रुपैयाँ ८८ पैसाको धान खरिद गरिएको हो । धान बिक्रीका लागि जिल्लाका ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि ५६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्वीन्टल धान खरिद गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १६:०८

लोकप्रिय