माघको कठ्याङ्ग्रिँदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेटो । घरवासविहीन भूकम्पपीडित परिवारलाई ओत लगाउन जस्तापाता, काठ बेरेर बनाइएका अस्थायी टहरा । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित दोस्रो हिउँदमा पनि यिनै टहरामा दयनीय अवस्थामा बसेका छन् ।
गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङ्ग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडित यो जाडोमा पनि टहराभित्रै छन् । टहरामा कठ्याङ्ग्रिएका मात्रै छैनन्, छानाको शीतसँगै आँखाबाट आँसु चुहाउन बाध्य छन् । आठबिसकोट नगरपालिका–१३ का नारायण खड्काले छानाबाट तपतप शीत चुहिने गरेको बताए ।
खड्काले भने, ‘विपत्ति पनि गरिबकै घरमा आयो । शीतले सिरक र आँसुले सिरानी भिज्ने गरेको छ ।’ चिसोकै कारण बिहानपल्ट आँखा सुन्निने, ओढेको सिरक भिज्ने गरेको खड्काले जानकारी दिए । जाजरकोटको नलगाड नगरपालिका–१, ठुलाबगरकी सावित्री रानाले भूकम्पका कारण घरमा च्यापिएकी नाबालिका छोरीको साथमा माइतीमै बस्दै आएको र आफ्नो शरीर सग्लो नरहेको बताइन् ।
भूकम्पमा घाइते भएपछि माइतीको टहरामा सहारा लिएकी रानाले बुढा बाआमा र नाबालिका छोरीको लालनपालन रेखदेख गर्नुपर्ने जिम्मेवारीले आफ्नो स्वास्थ्य उपचार नै गर्न नपाएको जनाइन् । भूकम्पले परिवार नै तहसनहस पारेकाले ‘कता जाउँ र के गरौँ’को अवस्थामा रहेको उनले उल्लेख गरिन् । नलगाड नगरपालिका–१, कल्पतका जनक नेपालीले भूकम्पपीडितका पीडा झन् थपिँदै गएको उल्लेख गरे ।
नेपालीले भने, ‘भूकम्पमा घाइते हुँदा गतिलो उपचार पाइनँ, ज्यान आधा छ, घरमा अन्नको दाना छैन, उब्जनीले तीन महिनाभन्दा बढी खाना पुग्दैन । घरमूली कालापहाड जाँदा घरको टहरामा बालबच्चा र ज्येष्ठ नागरिकको बिचल्ली हुने अवस्था छ ।’ उनले ज्येष्ठ नागरिक र बालबच्चालाई चिसोबाट जोगाउन चुनौती रहेको जनाए ।
आगो बाल्नलाई घरबाहिर सिरेठोले नमिल्ने र टहराभित्र ठाउँकै अभाव हुने गरेको छ । आठबिसकोट नगरपालिका–१४ का वडाध्यक्ष हुकुमबहादुर पुनले टहराको बसाइँ थप जोखिम बन्दै गइरहेको बताए । उनले आफ्नो परिवार पनि अस्थायी टहरामै बस्ने गरेको, छानाबाट शीत चुहिने र बिहान उठ्दा सिरक भिज्ने गरेको जनाए । टहराको शीतसँगै विपतको पीडाले जनताका आँसु पनि झर्ने गरेको वडाध्यक्ष पुनको भनाइ छ ।
यता भूकम्प गएको करिब १५ महिनासम्म पनि सरकारले अस्थायी आवास निर्माणबापतको दोस्रो किस्ताको रकमसमेत अधिकांश पीडितले प्राप्त गर्न सकेका छैनन् । २०८० कात्तिक १७ गतेको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५१६, रुकुमपश्चिममा ३४ हजार ९९७ र सल्यानमा चार हजार ४०७ घरमा क्षति पुगेको तथ्याङ्क छ ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । पुनर्निर्माणको काम समयमै नहुँदा पीडितहरू अझै पनि अस्थायी टहरामा कष्टकर जीवनयापन गर्न बाध्य छन् । यसको मारमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिक परिरहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुकुम पश्चिम