सूचनाको शक्ति - The Power Of Information

        

शीतलहरबाट बाँकेमा ३५ हजार घरधुरी प्रभावित हुने अनुमान

बाँकेमा यसपटकको शीतलहरबाट बाँकेमा ३५ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ । शीतलहरबाट एक लाख ७८ हजार ९२० जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रजिअ रिजालका अनुसार समितिले जिल्लाका आठ वटै स्थानीय तहमा शीतलहरबाट प्रभावित हुनसक्ने घरधुरी र जनसंख्यासमेत यकिन गरेको छ । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाका ३५ हजार ५१७ घरधुरीमध्ये ८ हजार ५२४ परिवार शीतलहरबाट प्रभावित हुने अनुुमान छ । नेपालगन्जमा ४२ हजार ६२० जनसंख्या प्रभावित हुन सक्ने योजनामा उल्लेख छ ।

यस्तै कोहलपुरमा ४ हजार १३८ घरधुरी र २० हजार ६९८, खजुुरा गाउँपालिकामा ३ हजार १९३ घरधुरी र १५ हजार ९६७, जानकी गाउँपालिकामा १९ हजार ४४८ जनसंख्या र ३ हजार ८८९ घरधुरी प्रभावित हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार गरेको ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१’ उल्लेख गरिएको छ ।

यस्तै, बैजनाथ गाउँपालिकामा ३ हजार ५२० घरधुरी र १७ हजार ६०३, राप्तीसोनारी गाउँपालिकामा ३ हजार ८७२ घरधुरी र १९ हजार ६३६ जनसंख्या प्रभावित हुनेछ भने नरैनापुुर गाउँपालिकामा ४ हजार ४२६ घरधुरी र २२ हजार १३४ र डुडुवा गाउँपालिकामा ४ हजार २१८ घरधुरी र २१ हजार ९१ जनसंख्या शीतलहरबाट प्रभावित हुने जनाइएको छ ।

तीन वटै सुरक्षा निकाय, आठ स्थानीय तह र अन्य सामाजिक संघ संस्थागरी ३ हजार ६३० जना जनशक्ति परिचालन गरिनेछ भने सबै तहमा ४७५ स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । शितलहर पूर्वतयारीकै लागि जिल्ला विपद् व्यवस्थापन समितिले ८ लाख, नेपालगन्ज उपमहानगरपालिकाले २० लाख, कोहलपुुर नगरपालिकाले १५ लाख रुपैयाँ आपतकालीन विपद् कोषबाट शितलहरमा रकम उपलब्ध गराउने छन् ।

जिल्लाका बैजनाथ, राप्तीसोनारी, खजुरा, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाले १०–१० लाखका दरले सहयोग गर्ने योजनामा उल्लेख छ । शीतलहर भएको समयमा शीतलहर व्यवस्थापनको अगुवाई गर्ने, न्यानो कपडा वितरण गर्ने, दाउरा संकलन, राहत वितरण, एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्य शिविर, विपद् सम्बन्धी सूचना तथा सचेतना र र सूचना व्यवस्थापन लगायतका क्रियाकलाप गरिने प्रजिअ रिजालको भनाइ छ ।

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार १९:०४

लोकप्रिय