सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : हिउँदे नगर सभा

कोहलपुर नगरपालिकामा पारदर्शीता, जवाफदेहीता र सुधारको खाँचो

नगरपालिकाको योजना निर्माण, बजेट बाँडफाँड र खर्चको प्रक्रिया पारदर्शी हुनुपर्छ ।

नेपालको स्थानीय सरकारमा दलगत प्रतिपक्षी दलको व्यवस्था छैन । यसले गर्दा स्थानीय तहमा प्रशासनिक सुधार, सेवा चुस्तता र पारदर्शिता सुनिश्चित गर्न चुनौती उत्पन्न भएको छ । जनताको चासो, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै जिम्मेवार र जवाफदेही स्थानीय सरकारको परिकल्पना साकार पार्न कोहलपुर नगरपालिकाले यो हिउँदे नगर सभालाई सार्थक र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको छ ।

यदि यो सभा योजनाविहीन रूपमा औपचारिकता मात्र पूरा गर्न आयोजना गरियो भने सचेत नागरिक समाजबाट खबरदारी र दवावको सामना गर्नुपर्ने हुन्छ । त्यसैले नगरपालिकाले सेवा सुधार, बेरुजु न्यूनीकरण, पारदर्शिता र जनमैत्री सेवा प्रवाहका विषयमा ठोस योजना निर्माण गर्नुपर्छ ।

प्रशासनिक अस्तव्यस्तता हटाउन आवश्यक सुधार

कोहलपुर नगरपालिकामा प्रशासनिक अस्तव्यस्तता हटाउन तात्कालिक सुधारका कदम चाल्नुपर्छ । कार्यालयमा हुने ढिलासुस्ती, सेवाग्राहीको गुनासोमा बेवास्ता, र कामकारबाहीमा पारदर्शिताको अभावले जनतामा असन्तुष्टि बढाएको छ । सेवाग्राहीलाई छिटोछरितो सेवा दिने, फाइलको प्रक्रिया छिटो टुंग्याउने र चुस्त अनलाइन सेवा प्रवाहलाई प्रवद्र्धन गर्न आवश्यक छ ।

नगरपालिकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रदायक निकायहरूको अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । सेवा लिने नागरिकलाई सम्मानजनक व्यवहार गर्न कर्मचारीहरूलाई प्रेरणा हौसला साथै जिम्मेवारी पूरा नगर्नेहरू माथि नियमनको ब्यवस्था गर्नुपर्छ ।

पारदर्शी योजना कार्यान्वयन र बेरुजु न्यूनीकरण

नगरपालिकाको योजना निर्माण, बजेट बाँडफाँड र खर्चको प्रक्रिया पारदर्शी हुनुपर्छ । बेरुजु न्यूनीकरण नगरिकन स्थानीय सरकारको प्रभावकारिता कायम रहँदैन । कोहलपुर नगरपालिकाले हरेक योजनाको प्रगति विवरण जनतालाई सार्वजनिक गर्नुपर्छ । बजेट र योजनाको खर्चमा अनियमितता हटाउन अनुगमन प्रणालीलाई कडा बनाउनुपर्छ । बेरुजु न्यूनीकरणका लागि खर्च प्रक्रिया समयमै पूरा गर्ने र खर्चको विवरण नियमितरूपमा अद्यावधिक गर्न जरुरी छ ।

कमिसनको अन्त्य र सेवामैत्री जनशक्ति व्यवस्थापन

स्थानीय तहमा योजना पास गर्ने गराउनेदेखि बजेट कार्यान्वयनसम्म कमिसनको चलखेल व्यापक रहेको गुनासो अन्त्य गराउनुपर्नेछ । यसले विकास योजनामा गुणस्तर खस्काउने र जनतामा असन्तोष पैदा गर्ने गरेको छ । नगरसभाले कमिसनको चलखेलमा पूर्णरूपमा प्रतिबन्ध लगाउँदै इमानदार र सक्षम जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सेवामुखी हुनुपर्छ । नागरिकलाई शीघ्र सेवा उपलब्ध गराउन दक्ष र सेवामैत्री जनशक्ति आवश्यक छ । यसका लागि कर्मचारीहरूलाई समयसापेक्ष तालीम प्रदान गर्नुपर्छ ।

अवसरमा नभई आवश्यकतामा आधारित विकास रणनीति

कोहलपुर नगरपालिकाले विकास योजनाहरू अवसरको खोजीमा होइन, जनताको आवश्यकता पहिचान गरेर निर्माण गर्नुपर्छ । वडास्तरमा स्थानीय आवश्यकतालाई बुझेर प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक र रोजगारका क्षेत्रमा लगानी गर्दै दिगो विकास रणनीति अवलम्बन गर्नुपर्छ ।

जवाफदेही र जिम्मेवार जनप्रतिनिधि

स्थानीय सरकारका जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्छ । योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म जनताको चासो र सरोकारलाई प्राथमिकता दिनुपर्छ । नगरपालिकाले यस नगर सभालाई केवल छलफलको थलोमा सीमित नगरी, जनप्रतिनिधिहरूले आफूले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्ने र जनताको गुनासो सम्बोधन गर्ने अवसरका रूपमा लिनुपर्छ ।

नागरिकको खबरदारी र दवावको सामना गर्ने सामथ्र्य

यदि नगरसभाले जनअपेक्षा अनुसार सुधारका ठोस योजना ल्याउन असफल रह्यो भने सचेत नागरिक समाजबाट हुने खबरदारी र दवावको सामना गर्नुपर्नेछ । यसकारण, नगरपालिकाले पारदर्शिता, जवाफदेहीता र सुधारको सुनिश्चितता गर्दै यो नगर सभालाई सार्थक बनाउनुपर्नेछ । कोहलपुर नगरपालिकाले हिउँदे नगर सभालाई नागरिकको आवश्यकता र गुनासोलाई सम्बोधन गर्दै पारदर्शी, जवाफदेही र सुधारमुखी स्थानीय सरकारको परिकल्पना साकार पार्नुपर्छ । यदि यस्तो गरिएन भने नगरपालिकाले नागरिकको चर्को खबरदारी र आलोचनाको सामना गर्नुपर्नेछ । त्यसैले नगर सभालाई सार्थक र प्रभावकारी बनाउन आवश्यक सुधारका क्षेत्रमा पहलहरू तत्काल गर्नुपर्नेछ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार ०९:१२

लोकप्रिय