सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा २५ एसएसपीमा बढुवाको तयारी, ३७ एसपीबाट कसको सम्भावना कति ?

नेपाल प्रहरीमा रिक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद पूर्तिका लागि बढुवा गर्ने तयारी भएको छ । यही साता पाँच जना एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएपछि जनपदतर्फ रिक्त एसएसपी पदको संख्या २५ पुगेको छ ।

त्यसमा तत्काल थप दरबन्दी हुने सम्भावना नभएपछि एसपीबाट बढुवा गरेर एसएसपी बनाउने तयारी गरिएको हो । आगामी साता एसएसपीमा बढुवा सिफारिस गर्ने तयारी बढुवा समितिले गरेको छ । दुई दिनको फरकमा एआइजी र डीआइजी बढुवाका लागि सिफारिस भइसकेका छन् । २५ एसपी पदका लागि दुई ब्याचका ३७ जना एसपी प्रतिस्पर्धामा छन् ।

तर तीमध्ये केही कारबाहीका कारण छुट्ने छन् भन्ने यसअघि पछाडि परेकाहरूले मौका पाउने सम्भावना छ । हालका एसपीमा सबैभन्दा वरिष्ठ विमल बस्नेत भने यसपटक पनि एसएसपीमा बढुवा हुने छैनन् । उनको अझै पनि बढुवा रोक्का छ । उनी २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका हुन् ।

उनको टोलीका अरू भने एसएससपी र डीआइजीसमेत भइसकेका छन् । उनलाई भने पाँच वर्षपछिको टोलीकाले समेत उछिन्ने पक्का छ । २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०५८ सालको टोलीसँगै एसपीमा बढुवा भएका केही अधिकारी यसपटक एसएसपीमा बढुवा हुनेछन् । त्यो टोलीबाट गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल छन् ।

यसपटक उनीहरू एसएसपी बन्ने लगभग निश्चित छ । उनीहरूबाहेक सबै एसपी २०५८ मा भर्ना भएको टोलीका हुन् । यो टोलीबाट पनि दुईपटकमा एसपी बनेका अधिकारीहरू छन् । २०७५ फागुनमा एसपी भएका केही अधिकारी छुट्ने सम्भावना छ । यो टोलीबाट एसपी कमल थापा र प्रकाश रानाभाट विवादित छन् । उनीहरू अहिले नै बढुवामा पर्ने सम्भावना कम छ ।

थापाविरुद्ध भैँसेपाटीमा प्रहरीकै संलग्नतामा भएको हनी ट्र्यापको घटनामा अनुसन्धान गर्न सीआइबीलाई सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिइसकेको छ । रानाभाट पनि सप्तरीमा हुँदा कांग्रेस नेतालाई गोली हान्न खोजेको भन्दै विवादित छन् । उनको पनि बढुवा रोकिने सम्भावना छ । उनीहरूबाहेक २०७५ फागुनमा एसपी भएका अधिकारीहरूको बढुवा हुने सम्भावना बलियो छ ।

रमेश थापा यसपटक पनि आफ्नो ब्याचबाट पहिलो नम्बरमै बढुवा हुने सम्भावना छ । यस्तै जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुने सम्भावना बलियो छ । उनीहरू अन्य प्रतिस्पर्धीभन्दा डेढ वर्ष पहिले एसपी भएका हुन् ।

रञ्जु सिग्देल अहिले एसएसपीमा बढुवा हुने सूचीमा एकमात्रै महिला हुन् । उनी छुट्ने सम्भावना छैन । २०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो । त्यतिबेला बढुवा भएका अधिकारीहरूमध्येबाट पनि एसएसपीमा बढुवा हुनेछन् । पहिलो नम्बरमा बढुवा भएका तुलबहादुर कार्कीसहित होबीन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, सन्तोष सिंह राठौरको बढुवा हुने बलियो सम्भावना छ ।

यो टोलीबाट राजीवबहादुर बस्नेतको सम्भावना कम छ । शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराईमध्येबाट पनि केही एसएसपीमा बढुवा हुनेछन् । यही ब्याचका प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुयाल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमलाको पनि यसपटक अगाडि आउने सम्भावना बढी देखिएको छ ।

केदार खनाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल पनि एसएसपी बन्न कोसिस गरिरहेका छन् । उनीहरू सबै २०७७ वैशाखमा एसपीमा बढुवा भएका हुन् । यसपटकको बढुवामा एसपीमा हुँदाको वरीयतामा भने व्यापक तलमाथि हुने देखिएको छ । २०५८ मै भर्ना भए पनि २०७७ वैशाखभन्दा पछि एसपीमा बढुवा भएका अधिकारीको भने अहिले एसएसपी बन्ने सम्भावना कम छ ।

प्रकाशित मिति : २० पुष २०८१, शनिबार १५:४०

लोकप्रिय