संविधान संशोधन गर्ने तयारी गरिरहेको सत्ता गठबन्धनलाई संविधानमै नेपाललाई हिन्दूराष्ट्र कायम गर्नेगरी संशोधन गर्न भारतले दबाब दिएको गाइँगुइँका बीच पूर्वराजा ज्ञानेन्द्र शाहले भारत सरकारका महत्वपूर्ण पात्रहरुसँग भारतमै भेटघाट गरेपछि नेपालको राजनीति तरंगित भएको छ ।
नेपालकै पश्चिमी तराइको भ्रमणमा गएका पूर्वराजा अचानक भारत गएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजिल डोभाल र मोदीका विश्वासपात्र तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका हुन् । यी दुवै पात्रहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै निकट र विश्वासिला मानिन्छन् ।
पहिले भारतको गुप्तचर एजेन्सी इन्टेलिजेन्स ब्युरोको प्रमुख डोभाल विगत १० वर्षदेखि राष्ट्रिय सुरक्षा सल्लाहकार छन् । उनलाई प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री भएपछि २०१४ मा सुरक्षा सल्लाहकार बनाएका थिए र उनलाई अझैसम्म पनि सोही पदमा कायम राखेका छन् । पहिले मठाधीश रहेका र पछि राजनीतिमा आएर उत्तर प्रदेशको मुख्यमन्त्री रहेका आदित्यनाथ भारतीय जनता पार्टीको हिन्दू कट्टरपन्थी धारका प्रमुख अनुहार मानिन्छन् ।
भारतको राजनीतिका जानकारहरुले उनलाई भाजपाभित्र प्रधानमन्त्री पदका लागि मोदीको उत्तराधिकारी समेत मान्छन् । उनी २०१७ देखि उत्तर प्रदेशको मुख्यमन्त्री छन् । भारतीय जनता पार्टी आफैंमा कट्टर हिन्दूवादी दर्शन मान्ने पार्टी हो । पश्चिमी देशहरु र खासगरी अमेरिकाले समेत भाजपालाई भारतमा हिन्दू अतिवाद फैलाएको र धार्मिक अल्पसंख्यकमाथि दमन गरेको आरोप लगाउने गरेका छन् ।
भाजपा नेपाललाई हिन्दू राष्ट्र बनाउने लाइनमा धेरै पहिलेदेखि सक्रिय छ । र, यो पृष्ठभूमिमा हिन्दू धर्मको प्रतीक मानिने पूर्वराजाले भाजपाका प्रमुख पात्रहरुसँग भेटघाट गर्नुलाई महत्वपूर्ण मानिएको छ । गएको साउनमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । भारतले नबोलाएको झोंकमा ओली चीनको राजकीय भ्रमण गरेर फर्किसकेका छन् ।
चीनबाट फर्किएको केही समयपछि ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री आरजू राणा देउवा भारत गएकी थिइन् । बाहिरी रुपमा परराष्ट्रमन्त्री एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन भारत गएको बताइएको भए पनि उनको भ्रमणको महत्वपूर्ण उद्देश्य ओलीको भ्रमणको वातावरण मिलाउनु समेत रहेको बताइन्छ । यद्यपि उनलाई भारतले धेरै महत्व नदिएको चर्चा छ ।
तर, उनको भ्रमणको क्रममा भारतको संस्थापनले उनीमार्फत नेपालका प्रमुख दलका नेताहरुलाई संविधानमै नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाबमूलक सन्देश पठाएको स्रोत बताउँछ । एमाले र कांग्रेसले सरकार गठन गर्नुपूर्व सहकार्यका लागि सहमति गर्दा संविधानका केही प्रावधानहरु संशोधन गर्ने सहमति गरेका थिए ।
केही पुसको पहिलो हप्ता सरकारको काम कारवाहीलाई अगाडि बढाउन गठित कार्यदलको बैठकमा संविधान संशोधनको लागि समेत कार्यदल बनाउने छलफल भएको थियो । त्यसैको सेरोफेरोमा भारतले पनि संविधान संशोधन गर्ने कार्यदलका एजेण्डामा हिन्दूराष्ट्रको एजेण्डा पनि समावेश गर्न दबाब दिएको बताइन्छ ।
स्रोतका अनुसार भारतको चाहना अनुसार संविधान संशोधनका एजेण्डा तय गरिएमा प्रधानमन्त्रीको भारत भ्रमणको बाटो पनि सहज हुने सन्देश भारतले परराष्ट्रमन्त्रीमार्फत पठाएको छ । दुई देशबीचको सम्बन्ध चिसिएको बेला भारतले नेपालको संविधानमा आफ्ना एजेण्डा समावेश गराउनको लागि दबाबपूर्ण खेल खेलेको स्रोत बताउँछ ।
भारतले २०७२ मै पनि अहिलेको संविधान लागू गर्नबाट रोक्ने प्रयास गरेको थियो । यस्तो पृष्ठभूमिमा पूर्वराजाको भ्रमण, उनका महत्वपूर्ण भेटघाट र भारतीय चासोले ठूलो परिवर्तनको संकेत गरेको राजावादीहरुले दाबी गरेका छन् । गत मंसिर १७ गते काठमाडौंबाट नेपालगन्ज गएका पूर्वराजाको दाङमा विशेष कार्यक्रम सम्पन्न भइसकेको छ भने अब भैरहवामा पनि विशेष अभिनन्दनको कार्यक्रम हुने पूर्वराजा निकट स्रोतले बताएको छ ।
पूर्वराजा अहिले नेपालगन्जमा छन् । नेपालगन्ज रहेका बेलामा नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभुवानी मन्दिरसँगै दाङ र बर्दिया जिल्लाको भ्रमण भइसकेकोे छ । पूर्वराजासँगै नेपालगञ्जमा पूर्वरानी कोमल तथा छोरीहरुसमेत रहेको जनाइएको छ । यसबीचमा पूर्वराजा शाहको भारत भ्रमण पनि भएको हो ।
भारतको लखनउमा भएको भ्रमण निकै नै फलदायी भएको दाबी गरिएको छ । पूर्वराजाको भारत बसाई पनि लामो नै रह्यो । पूर्वराजाको टोली गत पुस ७ गते भारत गएर १९ गतेमात्र नेपालगन्ज फर्किएको हो । पूर्वराजाको लखनउ बसाई नेपाली राजनीतिमा तरंग ल्याउने किसिमले नै फलदायी भएको दाबी गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी नेपालको अहिलेको सत्ता समीकरणसँग सन्तुष्ट छैनन् ।
लोकतन्त्र आएपछि नै नेताहरु भारतलाई पेल्ने शैलीमा चीनतिर नजिक भएजस्तो गरी भ्रम छर्न खोजेकोप्रति मोदी असन्तुष्ट बनेका हुन् । विश्वस्त सूत्रका अनुसार नेपालबाट राजसंस्था फाल्नु नै दुर्भाग्य भएको बुझेका मोदी पूर्वराजासँगै उनका दूतहरुसँग गम्भीर छलफल अगाडि बढाएका छन् । भुटानले पूर्व राजालाई भव्य स्वागत गरी राजकीय हसियतमा सम्मान दिनु मोदीकै निर्देशनमा भएको बताइन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं