सूचनाको शक्ति - The Power Of Information

        

३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीनको अवस्था के होला ?

गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ । बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग साझा गरेका छन् ।

इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए । यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् ।

केही युवा पुरुषको नाम पनि सूचीमा छ, जसलाई हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो । हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

इजरायलले यसअघि कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको जनाएको थियो । इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविरामका विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो । गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले आइतबार विगत २४ घण्टामा गरिएको आक्रमणमा ८८ जनाको ज्यान गएको जनाएको छ ।

आइतबार इजरायली सेनाले गाजापट्टीमा पछिल्ला दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी अड्डा’मा आक्रमण गरिएको र ‘दर्जनौँ हमास आतंकवादीलाई मारिएको’ जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको उक्त ३४ बन्धकको सूचीमा विपीनको नाम भए नभएको स्पष्ट छैन ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार ०९:४९

लोकप्रिय