२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday
प्रहरीबाटै आतंकित

नेपालगन्जमा वडा प्रहरीको असुलीधन्दा

वडा प्रहरी कार्यालय नेपालगन्जबाट सादा पोसाकमा खटिएका ‘घुमुवा’ नामका प्रहरीको कामै सूचना संकलनभन्दा असुलीधन्दामा सक्रिय भएर हाकिमको सेवा गर्नु हो ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८१ पुस १९ गते शुक्रबार

नेपालगन्जस्थित एक दोहोरी साँझ सञ्चालकले वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक अरुण बमले भने अनुसारको चाकडी गर्छन् । ती सञ्चालकले वडा प्रहरीका हाकिम बमलाई सात केजी खसीको मासु, दुई बोत्तल ब्ल्याक लेभल रक्सी र एउटा सामसुङ्ग मोवाइल उपहार पठाउँछन् ।

उपहार नपठाए दिनदिनै प्रहरीको टर्चर सहनुपर्ने डरले दोहोरी साँझ सञ्चालक उपहार पठाउन बाध्य हुन्छन् । प्रहरीबाट यस्तो टर्चर नेपालगन्जका धेरै रेष्टुरेन्ट एण्ड बारका सञ्चालकहरुले खेप्नुपरेको छ । वडा प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका ‘घुमुवा’ नामका प्रहरीको कामै सूचना संकलनभन्दा असुलीधन्दामा सक्रिय भएर हाकिमको सेवा गर्नु हो ।

नेपालगन्जका रेष्टुरेन्ट एण्ड बार, होटल, विभिन्न सुपरमार्केट तथा मार्टहरुबाट आवश्यकता अनुसार उपहार माग्न वडा प्रहरी कार्यालय मातहत टोली नै खटाइएको छ । मदिरा बेच्ने अनुमति पाएका पसलहरुले रक्सी उपहार नदिए साँझ नहुँदै पसल बन्द गर्न दवाव दिने, तोकिएको समयसम्म पसल खोल्न नदिने जस्ता अभद्र व्यवहार प्रहरीबाट हुँदै आएको छ ।

‘कानुनको धज्जी उडाउँदै वडा प्रहरीबाट खटिएका ‘घुमुवा’ नामका प्रहरीले रेष्टुरेन्ट जसरी भए पनि बन्द गर भन्दै नत्र रेष्टुरेन्टमा रहेका रक्सी सिल गरिदिने चेतावनी दिन्छन्,’ एक जना व्यवसायीले भने । वडा प्रहरीमा नयाँ हाकिम आएसँगै नेपालगन्जका व्यवसायीहरूलाई आतंकित पार्ने काम गरिरहेको व्यवसायीहरूको गुनासो छ ।

वडा प्रहरी कार्यालयबाट खटाइएका ‘घुमुवा’ नामका प्रहरीहरूले नेपालगन्जका रेष्टुरेन्ट एण्ड बार, होटल, विभिन्न सुपरमार्केट तथा मार्टहरुबाट महिना उठाउने गरेको पीडित व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले प्रहरीलाई मोटो रकम दिए चुप लाग्ने नदिए व्यवसाय नै चौपट हुने गरी वडा प्रहरीले व्यवसायीलाई तारो बनाएको बताएका छन् ।


सम्बन्धीत समाचार

१. सेटिङ्गमा यौन अखडा : वडा प्रहरीको संरक्षणमा नेपालगन्जमा मौलाउँदै ‘यौनधन्दा’

२. आफ्नै कार्यालयको कार्यक्षेत्रबारे वडा प्रहरी नेपालगन्जका इन्चार्ज बेखबर

३. मौलाउँदै यौनधन्दा : नेपालगन्जमा प्रहरी संरक्षणमै चल्छन् ‘यौन अखडा’


वडा प्रहरी कार्यालयका हाकिम बमले गृहमन्त्रीसम्म आफ्नो पहुँच रहेको रवाफ देखाउँदै नेपालगन्जमा असुली धन्दा चलाएको प्रहरी स्रोतले नै बताउँदै आएको छ । वडा प्रहरी कार्यालय स्रोतका अनुसार आफूले भने अनुसार गर्न मातहतका युनिट तथा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै हाकिम बम असुलीधन्दामा केन्द्रीत भएका छन् ।

मालदार मानिने वडा प्रहरी कार्यालय नेपालगन्जका हाकिम नै असुलीधन्दामा सक्रिय भएपछि अहिले नेपालगन्ज तस्करहरुको अखडा बनेको छ । वडा प्रहरी कार्यालयले खटाएका घुमुवा प्रहरी रकम असुलीमा लागेपछि नेपालगन्ज तस्करहरुको अखडा बनेको हो । नेपालगन्जमा प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भइरहेको यहाँका व्यवसायीहरु बताउँछन् ।

तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण नेपालगन्जमा तस्करहरुको जालो मजबुत बन्दै गएको छ । यहाँका व्यापारीलाई तस्करी गराउन लाइन दिए बापत वडा प्रहरी कार्यालयका हाकिमलाई अवस्था हेरेर मासिक ‘नजराना’ बुझाउँदै आएको व्यापारीहरू बताउँछन् । लामो समयदेखि असुलीधन्दामा सक्रिय रहेका घुमुवामार्फत हाकिमले ‘नजराना’ बुझ्ने गरेका छन् ।

वडा प्रहरी कार्यालयबाट खटिएका पुष्प भुजेल, मन्जु यादव र हुसेन भनिने घुमुवाहरु परिचालन गरेर रकम असुली गर्दै आएको व्यापारीहरुको भनाई छ । भारतबाट भन्सार छलेर ल्याइने कपडा, चिनी, तेल, चामल, मलखाद्य, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा किराना सामग्रीहरु सहजै भनेको स्थानमा पुर्याउन वडा प्रहरीले ‘लाइन’ दिँदै आएको छ ।

तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ चोरी निकासी गर्दै आएका छन् । तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ । नेपालगन्जमा रक्सी भट्टी सञ्चालन गरेबापत समेत वडा प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरीहरुले असुली गर्छन् । उनीहरुले कारोबार हेरेर मासिक ५० हजारसम्म दिने गरेको व्यवसायीहरु बताउँछन् ।

(सुरक्षाका कारण समाचारका स्रोतहरु गोप्य राखिएको छ । –सम्पादक)

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार