सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा धानखेतीको क्षेत्रफल घटे पनि उत्पादन बढ्यो

बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले गत वर्षभन्दा यस वर्ष जिल्लामा धान उत्पादन बढेको बताए । उनका अनुसार गत वर्षभन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादन भने बढेको हो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार यस वर्ष ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलमा एक लाख ५१ हजार ८०८ दशमलव ८० मेट्रिक टन धान उत्पादन भएको हो । प्रति हेक्टर ४.४० मेट्रिक टनका दरले उत्पादकत्व रहेको उनले बताए ।

‘गतवर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ, गतवर्ष भन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती भएको थियो, यसवर्ष भने ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती भयो, तर उत्पादन भने बढ्यो ।’

श्रेष्ठका अनुसार गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती हुँदा प्रति हेक्टर ४.२० का दरले उत्पादकत्व रहेको थियो । वर्षे धान र चैते धान गरेर एक लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षभन्दा यसवर्ष प्रति हेक्टर धान उत्पादकत्व पनि बढेको श्रेष्ठले बताए ।

‘गतवर्ष वर्षे र चैते धान गरेर एक लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भयो, प्रति हेक्टर ४.२० मेट्रिक टन उत्पादकत्व थियो,’ श्रेष्ठले भने, ‘यसवर्ष भने प्रति हेक्टर ४.४० मेट्रिक टन उत्पादकत्व रह्यो, वर्षे धान मात्र एक लाख ५१ हजार ८०८ दशमलव ८० मेट्रिक टन उत्पादन भयो ।’

बाँकेमा चैते धान भन्दा वर्षे धान नै बढी खेती हुने उनले बताए । ‘कूल धान खेती हुने क्षेत्रफलमध्ये करिब ३५ देखि ४० हेक्टर जमिनमा मात्र चैते धानको खेती हुन्छ, बाँकी सबै वर्षे धान नै खेती हुन्छ,’ श्रेष्ठले भने, ‘जिल्लामा २५ हजार ११५ दशमलव ३० हेक्टर जमिन सिँचित क्षेत्रफल रहेको छ, बाँकी जमिन आकाशे पानीको भरमा खेती गर्ने क्षेत्रफल रहेको छ ।’

गत आवभन्दा यसवर्ष ४.२४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिँचित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको हो ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १६:१०

लोकप्रिय