सूचनाको शक्ति - The Power Of Information

        

बैकुण्ठधाम महोत्सवमा ७५ लाख खर्च, दुई करोड बढी आम्दानी

बाँकेको डुडुवा गाउँपालिका ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यस्थितरुपमा बहुआयामिक बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।

शुक्रबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो । बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पत्रकारबीच महोत्सवमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका हुन् ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्जमा सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवबाट कुल दुई करोड २८ लाख सात हजार ६२७ आम्दानी भएको छ । महोत्सवमा कुल तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ आम्दानी र ७५ लाख सात हजार ३७७ रुपैयाँ खर्च भएको श्रेष्ठले बताए ।

प्राप्त आम्दानीबाट खर्च कटाएर कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपैयाँ बचत भएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार दाताहरुबाट एक करोड २७ लाख ७३ हजार ११४ रुपैयाँ नगद प्राप्त, क्यूआरमार्फत २६ लाख ६३ हजार १६९ रुपैयाँ, चेकमार्फत ८८ लाख ३४ हजार ६७४ रुपैयाँ र घोषणामार्फत ६० लाख ४४ हजार ४७ रुपैयाँ गरी तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ आम्दानी वापत जम्मा भएको हो ।

विभिन्न शीर्षकमा ७५ लाख सात हजार ३७७ रुपैयाँ खर्च भएको श्रेष्ठले सार्वजनिक गर्नुभएको आयव्यय विवरणमा उल्लेख गरिएको छ । बैङ्कमा एक करोड ४५ लाख ९७ हजार ४२८ नगद रुपैयाँ जम्मा रहेको, घोषणा गरेको ६० लाख ४४ हजार ४७ रुपैयाँ उठ्न बाँकी रहेको र २१ लाख ६६ हजार १५२ हजार रुपैयाँ बराबरका प्राप्त भएको चेक साट्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जिन्सीतर्फ नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले डुडुवा गाउँपालिका वडा नम्बर ५ मा एक कट्ठा जग्गा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार वर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा २६ धुर जग्गा प्रदान गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ब्रह्मनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क, उद्यानसहितको बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले गत कार्तिक २२ देखि ३० गतेसम्म वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १५:१७

लोकप्रिय