नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौँमा भेला भएका छन् ।
यही मङ्सिर १५ गते शनिबारदेखि आगामी पुस ६ गतेसम्म काठमाडौंँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपिएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । नेपालमा व्यावसायिक क्रिकेटको विकास गर्ने लक्ष्यका साथ टि ट्वान्टी फरम्याटमा खेलाइने एनपिएलको नतिजा आफ्नो पक्षमा ल्याउन विभिन्न टिमबीच रोमान्चकारी प्रतिस्पर्धा हुनेछ ।
एनपिएल क्रिकेट प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिता रहेको छ । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स जस्ता आठ वटा टिममा व्यापारिक समूह जोडिएका छन् । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपैंयाँ लगानी गरेका छन् ।
अन्य निजी सङ्घसंस्था तथा कम्पनीहरु पनि क्रिकेट टिमहरुसँग आबद्ध भएका छन् । क्रिकेटमा लगानी गर्दैमा तत्काल नाफा हुन सक्ने क्षेत्र होइन । स्वदेशी तथा विदेशी खेलाडीहरुको महङ्गो पारिश्रमिक, सिमित प्रायोजन, क्रिकेट मैदानको भौतिक अवस्था तथा दर्शक क्षमता, टिकट दर आदि कारणले नेपालमा क्रिकेटमा लगानी गरेर तत्काल प्रतिफल उठन सक्ने अवस्था छैन । तापनि निरन्तर यथोचित लगानी गर्न सकेमा केही वर्षमा सन्तोषजनक अवस्था आउन सक्नेछ ।
नेपालका निजी क्षेत्रको सक्रिय सहभागिता रहेको फेन्चाइज लिगको अभ्यास नेपालमा कुनै नौलो होइन । यसअघि एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगजस्ता तीनवटा फ्रेन्चाइज लिग आयोजना भैसकेका छन् । तर यसपालि विभिन्न टिममा लगानी गर्न धेरै व्यापारिक घराना तथा अन्य निजी क्षेत्रले देखाएको उत्साह उल्लेखनीय रहेको छ । विभिन्न १६ वटा फ्रेन्चाइजहरुले लगानी गर्न इच्छा देखाएकामा आठ वटा समूहले टिमहरुमा लगानी गर्ने अवसर पाएका छन् ।
टिममा लगानी गर्न इच्छुकहरुको बढदो सङ्ख्याका कारण आगामी वर्षहरुमा प्रतियोगितालाई निरन्तरता दिइदै जाने सम्भावना बढेको छ । यसैगरी निजी क्षेत्रका तर्फबाट घोषणा गरिएको खेलाडीको पारिश्रमिक तथा बिजेताले पाउने पुरस्कारले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्न सक्ने देखिएको छ । व्यापारिक घराना शारडा समूहले प्रतियोगितामा प्लेयर अफ दि सिरिज घोषणा हुने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ ।
नेपाली क्रिकेट क्षेत्रलाई व्यावसायिकताका तर्फ उन्मुख गराउन एनपिएल क्रिकेटले प्रयत्न गरेको छ । खेलाडीहरुलाई एउटा प्रतियोगिता खेलेको लाखौं रुपैयाँ पारिश्रमिक प्रदान गरिने व्यवस्था गर्नु सानो प्रयत्न होइन । मुलुकका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ वटा टिममा नेपालका महत्वपूर्ण राष्ट्रिय खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा समावेस गरी प्रत्येकलाई २० लाख रुपैयाँ पारिश्रमिक दिइने भएको छ ।
गोला प्रथाद्वारा छानिएका ती खेलाडीहरुमा विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, चितवनमा कुशल मल्ल, काठमाडौँमा करण केसी, पोखरामा कुशल भुर्तेल, लुम्बिनीमा रोहित पौडेल, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी छन् । उनीहरुले एकै प्रतियोगिता खेलेर घोषित पारिश्रमिक पाउने छन् । यसैगरी राष्ट्रिय टिमका अन्य खेलाडीहरुलाई पनि अक्सनमार्फत विभिन्न टिममा छनोट गरिएको छ ।
यसरी अक्सन गरिदा एउटा टिमलाई १० खेलाडी खरिद गर्ने अवसर दिइएको थियो । समूह ए मा परेका खेलाडीलाई १० देखि १५ लाख, समूह बी मा परेकालाई पाँचदेखि १० लाख तथा समूह सी मा छानिएकालाई दुई लाखदेखि पाँच लाख रुपैयाँ दिइने भएको छ । नेपालको सन्दर्भमा यस्तो पारिश्रमिक आकर्षक मानिएको छ । क्रिकेट खेलाडीहरुले आफ्नै गृह मैदानमा खेलेर लाखौं रुपैयाँ पारिश्रमिक पाउनु राम्रो कमाइ हो ।
एनपिएल क्रिकेटकै सिलसिलामा खुल्ला प्रतिस्पर्धाको आधारमा पनि खेलाडीहरु छानिएका छन् । यसबाट ती खेलाडीहरुलाई आगामी दिनमा राष्ट्रिय टिमका साथै अन्य टिममा प्रवेश गर्ने ढोका खुल्न सक्ने सम्भावना देखिएको छ । त्यस्ता युवा खेलाडीले टिममा समावेश हुने मौका पाउनु उनीहरुको खेल जीवनकै महत्वपूर्ण उपलब्धि हो । नेपालकै राष्ट्रिय खेलाडीहरुका साथै विभिन्न मुलुकका क्रिकेट स्टारहरुसँग खेल्नाले उनीहरुले उल्लेखनीय शिक्षा प्राप्त गर्न सक्छन् ।
हाल विभिन्न खेलका खेलाडीहरु विदेश पलायन भैरहेको अवस्थामा युवा खेलाडीहरुले आफ्नै गृह मैदानमा एनपिएल खेल्न पाउने अवसर उनीहरुको भविश्यसँग पनि गाँसिएको छ । एनपिएल खेल प्रतियोगिता मात्र नभई देशमै खेलकुद संस्कार बसाउने प्रतियोगिताका रुपमा लिइएको धारणा नेपाल क्रिकेट सङ्घका सचिव पारस खडकाले स्पष्ट पारेका छन् ।
एनपिएल क्रिकेट नेपाली खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय खेलाडीहरुसँग कौशल सिक्ने महत्वपूर्ण अवसर पनि हो । विभिन्न मुलुकका क्रिकेट स्टारहरुले नेपाली टिमबाट खेल्दैछन् । भारतका बहुचर्चित क्रिकेटर शिखर धवन, इङ्गल्याण्डका टम मुर्स, क्यानडाका साद विन जाफर, न्युजिल्याण्डका स्कट कुगेलेइन,वेष्ट इण्डिजका रेमन रेइफर जस्ता विश्व चर्चित खेलाडीहरुले नेपाली खेलाडीहरु साथ सहकार्य गर्दैछन् ।
एउटा टिमले छ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकको नियम रहेको छ । तर उनीहरुलाई टिमका तर्फबाट दिनु पर्ने पारिश्रमिक खुलाइएको छैन । अझ उल्लेखनीय पक्ष त विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालको प्रदेशको टिमको प्रशिक्षक तथा मेण्टरको रुपमा टिमलाई उपाधि दिलाउन सक्रिय भूमिका निभाउँदै छन् ।
एनपिएलका लागि कीर्तिपुरस्थित क्रिकेट मैदानमा आवश्यक मर्मत सम्भार गरिएको छ । त्यहाँ पहिलो पटक डिजिटल बोर्डको जडान गरिएको छ । यस्तै खेल मैदानको पिचको स्तरमा सुधार गर्नुका साथै मैदानको बाउन्ड्री बढाइएको छ । क्रिकेट हेर्न जाने दर्शकहरुका लागि प्याराफिटमा चारवटा क्षेत्र बनाइएका छन् । कीर्तिपुर रङ्गशालामा एनपिएल हेर्न हजारौं दर्शकहरु उपस्थित हुने निश्चित छ । नेपालमा क्रिकेट प्रेमीहरुको संख्या उल्लेखनिय रहेको छ ।
अमेरिकामा विश्वकप क्रिकेटको बेला समेत नेपाली दर्शकहरु धेरै संख्यामा उपस्थित थिए । कीर्तिपुरमा बिगतमा क्रिकेट हुँदा रुखमा झुण्डिएर समेत खेल हेर्ने गरेका क्रिकेटप्रेमी दर्शकहरुका लागि यसपाली खेल हेर्न यसपाली बस्ने सुविधासहितको प्याराफिट निर्माण गरिएको छ । तर त्यहाँ फ्लड लाइट जडान गर्ने कार्य भने सकिएको छैन । यदि फ्लड लाइट जडान भएको भए राति पनि खेल संचालनका लागि सहज हुने थियो ।
एनपिएल क्रिकेटको पहुँच विश्वव्यापी रुपमा हुँदैछ । टेलिभिजनको प्रत्यक्ष प्रसारणका साथै अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिताका कारण विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकर्षित हुने भएको हो । अन्तर्राष्ट्रिय खेलकुद टेलिभिजन च्यानल स्टार स्पोर्टसमार्फत विश्वका विभिन्न मुलुकका क्रिकेटप्रेमीहरुले एनपिएलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाउने भएका छन् ।
विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा प्रत्यक्ष प्रसारण गरिसकेका कमेण्टेटरहरुको सहभागिता रहेको यसप्रकारको अन्तराष्ट्रिय प्रसारणबाट विश्वमा नेपालको प्रचारप्रसार हुन गई आगामी दिनमा पर्यटकहरुको वृद्धि हुन जाने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त क्रिकेट खेलाडीहरुको नेपाल आगमनका साथै अन्य गतिविधिको निरन्तर समाचार प्रचारप्रसारले पनि पनि विश्वको ध्यान आकर्षित गरेको छ ।
एनपिएलमा म्याच फिक्सिङ रोक्न विशेष सतर्कता अपनाइएको छ । प्रतियोगितामा सहभागी आठ वटै टिममा सुरक्षा अधिकारी पनि समावेस गरिएको छ । नेपाल क्रिकेट सङ्घले प्रतियोगिताका गतिविधिहरु पारदर्शी रुपमा सञ्चालन गर्न विशेष तयारी गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत १०० भन्दा बढी खेल सङ्घ भएको तथा कयौं सङ्घ गतिविधिहीन अवस्थामा रहेको तथा खेल गतिविधि सञ्चालनका लागि सरकारी साधन श्रोतमै निर्भर भैरहेको बेलामा नेपाल क्रिकेट सङ्घले निजी क्षेत्रलाई व्यापक रुपमा जुटाएर एनपिएल क्रिकेट आयोजना गर्नु प्रशंसनीय कार्य मान्न सकिन्छ ।
अन्य खेल सङ्घले पनि निजी क्षेत्रलाई जुटाएर प्रतियोगिता गर्न प्रयास गर्नुपर्दछ । तर एनपिएल क्रिकेटजस्ता प्रतियोगिता पारदर्शी रुपमा सञ्चालन गर्नु अति आवश्यक मानिएको छ । कुनै मिलोमतोमा म्याचको नतिजा नआओस् । आगामी दिनमा एनपिएललाई निरन्तरता दिन सकिने वातावरण संरचना सिर्जना गरी घरेलु क्रिकेटलाई मजबुत बनाउँदै लैजान सक्नुपर्छ । यसका लागि क्रिकेट एकेडेमीको स्थापनातर्फ जोड दिइनुपर्छ ।
यस्त,ै एनपिएललाई राजधानीमुखी मात्र नबनाएर आगामी संस्करण चितवन, पोखरा, भैरहवा लगायतका क्रिकेट रङ्गशालामा पनि विस्तार गर्दै लैजान जरुरी मानिएको छ । यस्ता प्रतियोगिताबाट नेपाली खेलाडीहरु पनि खेलेर बाँच्न सक्ने अवस्था बनाउन सहयोग पुग्ने भएकाले नेपाल प्रिमियर लिग क्रिकेट एनपिएल नेपाली क्रिकेट जगतका लागि कोशेढुङ्गा बन्न सक्ने अपेक्षा गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
राजु सिलवाल । काठमाडौं